धरानः यो वर्षको हिउँदमा पनि औसतभन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
विशेषगरी प्रदेश–१ का तराईका जिल्ला, प्रदेश–२, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिइन् ।
अक्टोबर, नोभेम्बर महिनामा वा हिउँदमा ठूलो पानी पर्नु बिरलै घटना मानिन्छ । तर केही वर्षयता यसको क्रम छिटोछिटो हुँदै जानुमा जलवायु परिवर्तन मुख्य कारण हुन सक्ने उनले बताइन् ।
१२ वर्षको अन्तरालमा यो समयमा यति ठूलो पानी परेको मौसमविद्ले बताएका छन् । बेमौसमी वर्षा र हिउँदमा बढी पानी पर्ने कारणले धेरै क्षति पुरयाउने गरेकाले क्षति न्यूनीकरण गर्न पूर्वतयारी र जनचेतनामा जोड दिनुपर्ने मौसमविद्को भनाइ छ । यसपालिको बर्खामा पनि औसतभन्दा धेरै वर्षा भएको थियो ।
उनका अनुसार केही वर्षयता सुक्खा मौसम अर्थात हिउँदमा पानी पर्ने क्रम बढ्दै गएकाले हिउँदमा पानी पर्ने क्रम बढ्नु सामान्यजस्तै बन्दै गएको छ ।
सुख्खा मौसममा आकस्मिक रुपमा भीषण पानी पर्नु जलवायू परिर्वतनको असर भएको कँडेलले बताइन् । शाखाको तथ्याङक अनुसार सुख्खा समयमा पानी पर्ने क्रम झन् बड्दै गएको छ । सन् २००९ को अक्टोवर ७ तारिखमा एकै दिन ४०४ मिलिमिटर पानी परेको तथ्याङ्क छ । त्यसपछि १२ वर्षको अन्तरालमा यो साता ठूलो पानी परेको कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २००९ अक्टोवर ७ तारिखका दिन बझाङको थलरामा एकै दिन ४०४ मिलिमिटर पानी परेको थियो भने सोही दिन कास्कीमा ३८० मिलिमिटर परेको थियो ।
शाखाको सन् १९५१ देखिको तथ्याङक अनुसार हिउँद अर्थात सुख्खा मौसममा हालसम्म ३० पटक धेरै पानी परेको पाइएको छ यी मध्ये, सन् १९५१ अक्टोवर ३० मा सिन्धुपाल्चोकमा २२९ मिलिमिटर, सन् १९६३ अक्टुवर ३ तारिखका दिन भोजपुरमा २५० मिलिमिटर, सन् १९७९ अक्टुवर ५ मा संखुवासभाको नुममा २५० मिलिमिटर, सन् १९९८ अक्टुवर २९ तारिखमा कास्कीमा ३१५ मिलिमिटर, सन् १९७३ अक्टुवर १३ मा लम्जुङमा २५९ मिलिमिटर, सन् २००५ अक्टुवर २० मा पाल्पामा २५१ मिलिमिटर, सन् २००१ अक्टुवर २७ मा कपिलबस्तुमा २२८ मिलिमिटर, सन् २००५ अक्टोवर २० मा दाङमा २४५ मिलिमिटर, २००७ मा सन् २००९ अक्टोवर ७ मा बझाङमा ४०४ मिलिमिटर, २०१२ अक्टुवर ४ मा संखुवासभाको चेपुवामा ३३६ मिलिमिटर पानी परेको थियो । यो तथ्याङ्कलाई हेर्दा सुख्खा र हिउँद समयमा पानी पर्ने क्रम झन् बड्दै गएको पाइएको छ । विभागले ७० वर्षको अन्तरालको तथ्याङक संकलन गरी विष्लेषण गर्दै आएको जनाएको छ ।