Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किरात राई अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

हाम्रो कोशी आवाज
कार्तिक ११ २०७८, बिहिबार
किरात राई अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

धरानः किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण करिब दुई वर्ष रोकिएको सम्मेलन यही २०७८ कात्तिक २७, २८ र २९ गते काठमाडौँमा हुने मिति तय भएको हो ।
बुधबार कोटेश्वरस्थित किरात राई यायोक्खाको कार्यालय हलमा आयोजित पत्रकार सम्मेलनमा समितिले दिएको जानकारी अनुसार सम्मेलनमा नेपालसहित १९ मुलुकका प्रतिनिधि, विषयविज्ञ, अभियन्ताहरूको सहभागी रहने छ।
समन्वय समितिका अध्यक्ष दिवस राईले संसारभरि छरिएर रहेका किरात राई जातिको एकता, पहिचान र अस्तित्व निर्माणका निम्ति अन्तर्राष्ट्रिय सम्मेलन निरन्तरता दिइएको बताए।
‘संसारभरि छरिएर रहेका किरात राई जातिको इतिहास, मुन्दुम संस्कृति, परम्परा खोजी र संरक्षणका निम्ति छलफल, बहस र निष्कर्ष दिन सम्मेलनको आयोजना गरिएको हो,’ तथा किरात राई यायोक्खाको केन्द्रीय अध्यक्षसमेत रहनु भएका राई पत्रकार सम्मेलनमा भने, ‘नेपालमा १२औं राष्ट्रिय जनगणना भइरहेको सन्दर्भलाई समेत किरात राई जातिको एकताका निम्ति सम्मेलन सान्दर्भिक हुने ठानेका छौं ।’
अध्यक्ष राईले सम्मेलनमा राई जातिभित्रका २६ भाषाहरूको अवस्था, किरात सिरिजंगा लिपिको प्रयोग, किरात धर्म र माङखिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किरात प्रदेश अभियान विषय केन्द्रित भएर बहस गरिने जानकारी दिए ।
किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर योगेश राईले बेलायतमा गर्ने भनेर तयारी गरिएको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन कोभिड महामारीले गर्दा अन्तिम घडीमा रोकिएको जानकारी दिए। समन्वय समितिका सचिवालय सदस्य तथा यायोक्खाका विदेश विभाग प्रमुख जीवन हाताचो राईले सम्मेलनमा विभिन्न मुलुकबाट प्रतिनिधि चयन गर्ने क्रम जारी रहेको बताए।
‘विश्वमा रहेका किरात राईहरूको साझा सरोकारको विषय बुझेका प्रतिनिधिहरू सहभागी हुनेछन्,’ उनले भने, ‘किरात राईहरूलाई अनन्तकालसम्म एकताको सूत्रमा बा“ध्नका निम्ति समन्वय समिति गठन भएको हुँदा सम्मेलनले मुन्दुम, भाषा, संस्कृति, साहित्य, कलाप्रति साझा धारणा निर्माण गर्न सम्मेलनमा टेवा पु¥याउनेछ । र सम्मेलनले घोषणापत्र जारी गरेर विश्वभरिका किरात राईहरूको एकताको सन्देश प्रवाह गर्नेछ ।’
समन्वय समितिका महासचिव जनक राईले सम्मेलनमा भारत, बेलायत, हङकङ, मकाउ, अमेरिका, कतार, युएई, इजरायल, मलेसिया, साउदी, बहराइन लगायत देशका प्रतिनिधि सहभागी रहने जानकारी दिए। त्यसैगरी सम्मेलनमा यायोक्खाको २३ जिल्ला कार्यसमितिका प्रतिनिधि, २६ वटा भाषिक संस्थाका प्रतिनिधि, विषयविज्ञ, अभियन्ता गरी ३ सय ५० जनाभन्दा बढी सहभागिता रहनेछ ।
२०६७ साल चैत २७ र २८ गते (सन् २०११ अप्रिल ११ र १२) काठमाडौँमा सम्पन्न पहिलो किरात राई अन्तर्राष्ट्रिय सम्मेलनले किरात राई जातिको एकता कायम गर्न दिशानिर्दिष्ट गरेको थियो । त्यसैगरी २०७१ फागुन ९ र १० गते (सन् २०१५ फेब्रुअरी २१ र २२) भारतको दार्जिलिङ जिल्लाको सिलिगुडीमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले किरात राई जातिको साझा सांस्कृतिक प्रतीक चिन्डो (वाबु)लाई साझाकरण गरेको छ ।
तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले किरात राई जातिको साझा सुप्तुलुङ चुला र साझा किरात सिरिजंगा लिपि प्रयोगलाई स्थापित गर्ने जनाइएको छ ।

प्रकाशित मिति: कार्तिक ११ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend