यसपटकको जनगणना १२ औं पटकको हो । पहिलेभन्दा राम्रो तथ्य–तथ्याङ्क आओस् भनेर विगतमा जस्तो शिक्षक, शिक्षिका, हुलाकी, गाउँ विकास समिति र वडाका सचिवको सट्टा निजामती कर्मचारी खटाउने माग गरिएको हो किनभने उनीहरुले घरघर गएर जनगणना गर्नुको सट्टा आफ्नै घरमा बसेर र, आपूmलाई उपयुक्त भएको समय (फुर्सद) मा जताभावी लेखेर पठाउने गरेका थिए । जसले गर्दा हिन्दू धर्म मान्ने मान्छेहरु नै नभएको ठाउँ वा क्षेत्रमा हिन्दू धर्म मान्नेहरुको ठूलो संख्या देखिएको, दलितजात समूह नै नभएको गाउँमा दलितको जनसंख्या देखाईएको, दलितभित्रको वादी जात समूह नै नभएको जिल्लामा वादीको संख्या देखाइएको आदि घटनाहरु भएका थिए, विगतका जनगणनाहरुमा । जस्तो उदाहरणका लागि यहाँ लेख्नैपर्दा यो पंक्तिकार तेह्रथुम जिल्लाको स्थायी वासिन्दा हो । तेह्रथुम जिल्लामा मोराहाङ भन्ने गाउँ छ । विसं २०६८ को जनगणनामा त्यहाँ केही वादीहरु रहेको देखाइएको छ । जबकी सिङ्गो तेह्रथुम जिल्लामै वादीहरुको स्थायी बसोवास छैन ।
हुन त विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समूह, लिङ्ग, वर्ग र क्षेत्रका अगुवाहरुलाई नै जनगणनासम्बन्धी तालिम दिएर यसपटकको जनगणनामा जनगणकरुपमा खटाउनुपर्छ भन्ने माग आदिवासी जनजाति, विभिन्न भाषाभाषी, धार्मिक समूह, लिङ्ग, वर्ग क्षेत्र आदिका अगुवाहरुको विगतदेखि नै माग रहेको थियो, छ । तर, त्यसो हुन सकेन । जनगणनामा विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समूह, लिङ्ग, वर्ग र क्षेत्रका अगुवाहरुलाई जनगणनासम्बन्धी तालिम दिएर जनगणनामा खटाउन सकेको भए सम्बन्धित जातजाति, भाषाभाषी, धार्मिक समूह, लिङ्ग, वर्ग र क्षेत्रको जनसंख्या लगायतको सही तथ्य–तथ्याङ्क आउने सम्भावना रहन्थ्यो ।
यसरी जातजाति, भाषाभाषी, धार्मिक समूह, लिङ्ग, वर्ग र क्षेत्रका अगुवाहरुलाई नै जनगणनासम्बन्धी तालिम दिएर जनगणनामा खटाउनुको सट्टा यसपटकको जनगणनामा खटिने अधिकांश जनगणक र सुपरभाइजरहरु सरकारी कर्मचारी (निजामती) हरुकै नातागोताहरु छानिएको भन्ने छ । जस्तो यहाँ एक उदाहरण दिऔं । इलाम जिल्लाको ‘रोङ गाउँपालिकाको एक वडा’ मा निजामती कर्मचारी (गृह मन्त्रालयमा कार्यरत) राई जातका वान्तावा थरका शाखा अधिकृतकै सहोदर भाइ जनगणक छानिएका छन् । भनिन्छ, निजामती कर्मचारीका भाइ तिनै मान्छे सुपरभाइजरमा पनि परेका छन् । यो कुरो सही हो भने, एकै व्यक्ति जनगणक हुन पाउने, सुपरभाइजर पनि हुन पाउने व्यवस्था छ ? यस विषयमा जो कोहीले प्रश्न उठाउनुपर्ने देखिन्छ । यसरी हेर्दा यही २५ कात्तिकदेखि ९ मङ्सिरसम्म १२ औं राष्ट्रिय जनगणना हुँदैछ, सो जनगणनाको तथ्य–तथ्याङ्क झनै गाँजेमाजे आउने सम्भावना देखिन्छ । भलै सो जनगणनामा सही तथ्य–तथ्याङ्क आओस् भन्नका लागि जसरी नेपालका सबै जातजाति, भाषाभाषी, धार्मिक समूह, लिङ्ग, वर्गका अगुवाहरु आ–आफ्नो जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग, क्षेत्रमा खटिरहेका छन् ।
जनगणनामा राई किन नलेख्ने ?
विगतमा जानेर वा नजानेर अथवा राई भन्दा, लेख्दा आफू पनि तालुकदार–जिम्मावाल राई जस्तै ‘ठूलो राई’ होइन्छ भनेर हामीले राई भन्दै, लेख्दै आएको साँचो हो । तर, राई के हो ? भन्ने बारेमा बुझ्दै जाँदा, सोधखोज गर्दै जाँदा, पढ्दै जाँदा, इतिहास हेर्दा पढ्दा साथै, हाम्रा पितापुर्खाहरुले मुखैले भन्दै आएको तथ्य कुरोहरु र, जिम्मावाल–तालुकदारी चलाएका मान्छेहरु अनि तिनका जेठो छोरोहरु जिउँदै रहेको अवस्था एवम् उनीहरुले भनेअनुसार, देखेअनुसार राई जात वा जाति होइन, थिएन । त्यसैले अब हामीले राई नलेखेर आपूm जे हौं, त्यही जस्तै आठपहरिया, कुलुङ, ‘चाम्लिङ, थुलुङ, वान्तावा, मेवाहाङ, बाहिङ, याम्फु आदि लेखौं, लेखाऔं, हाम्रो असली जातीय स्वपहिचानले चिनिऔं भनेको हो ।
फेरि अर्को पक्षले भनेझैं साँच्चै (राई जात लेख्यो भन्नेहरु) राई जात हो अनि वान्तावा, दुमी, कोयु, पुमा, वाम्बुले (हाम्रोतिर चौरासे राई भन्छन्), कुलुङ आदिचाहिँ थर हो भने वान्तावा–वान्तावबीच, दुमी–दुमीबीच, कोयु–कोयुबीच, पुमा–पुमाबीच, वाम्बुले–वाम्बुलेबीच, कुलुङ–कुलुङबीच कसरी विवाह भइरहेको छ ? राई जात र वान्तावा, पुमा, कोयु दुमी आदि थर मात्रै हो भने त्यसरी एकै थरमा (वान्तावा–वान्तावबीच, दुमी–दुमीबीच, कोयु–कोयुबीच, पुमा–पुमाबीच, वाम्बुले–वाम्बुलेबीच, कुलुङ–कुलुङबीच) विवाह गर्दा उनीहरुलाई नेपालको प्रचलित कानुनअनुसार हाडनाता करणीको मुद्दा पो लाग्नुपर्ने होइन र ? कि राई भन्नेहरु मुसलमान समूह जस्तै हुन् ? जो दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने जात समूहमा पर्छन् । यसबारेमा ‘राई जातै हो, जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन तीनपुस्तामा समेत राई छ’ भन्ने पक्षले अतर–हृदयदेखि नै आत्मा साक्षी राखेर र, ‘अन्टसन्ट नबोलेर ‘क्लियर–कट’ भाषामा बोल्नुपर्ने, प्रस्ट्याउनुपर्ने’ देखिन्छ ।
त्यसैले २५ कात्तिकदेखि ९ मङ्सिरसम्म हुने जनगणनामा जातिको महलमा ‘राई’ होइन, आठपहरिया, कुलुङ, चाम्लिङ, जेरो, जेरोङ, थुलुङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु आदि लेखौं, लेखाऔ । सकिन्छ भने, बाहुन, क्षेत्री, ठकुरी, सन्यासी आदिले जस्तैः आ–आप्mनो थर पनि (बीचमा) नामपछि लेखौं, लेखाऔं । जस्तै म कुलुङतिको लोवात्ती ‘पाछा’ (थर) को हुँ । त्यसैले मैले निनाम लोवात्ती कुलुङ लेख्दा राम्रो हुन्छ । किनभने यसो गर्दा मेरो ‘पाछा’ (थर) पनि आउँछ । अझ बाहुन, क्षेत्री, ठकुरी, सन्यासी आदिले त विगतदेखि नै जनगणनामा मात्रै नभएर नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाणपत्र, पेन्सनपट्टा, वृद्धभत्ता कार्ड, विद्यार्थी परिचयपत्र आदिमा बाहुन, क्षेत्री, ठकुरी, सन्यासी आदि नलेखेर पोखरेल, दाहाल, गुरागाईँ, बराल, बाँस्तोला, आचार्य, पौडेल, थापा, बस्नेत, खड्का, कटुवाल, कार्की, शाही, चन्द, मल्ल, गिरी, पुरी, भारती, वन आदि लेख्दै आएका छन् । त्यति मात्रै होइन, बाहुन क्षेत्रीहरुले त पोखरेलभित्रको ‘पानी पोखरेल’ र ‘दूध पोखरेल, कार्कीभित्रको मुडुला कार्की, सुतार कार्की, खड्काभित्रको लकाइ खड्का, बस्नेतभित्रको खप्तरी बस्नेत आदि समेत लेख्न र चिनाउन थालेका छन् ।
तर, हामी किरातीहरुचाहिँ विगतमा हाम्रा पितापूर्खाले शासकहरुलाई ‘माटोमुरी’ बुझाएर पाएको (एक–आपसमा हानाथाप गर्दै) राई पदवी, पगरीलाई नै जात मान्ने भन्ने, लेख्ने र, आफ्नो वास्तविक जात आठपहरिया, कुलुङ, चाम्लिङ, जेरो–जेरोङ, थुलुङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु आदिचाहिँ ‘थर’ हो भन्ने मूर्खता प्रदर्शन गर्दैछौं ।
जनगणनामा ‘राई’ नै लेखेमा के हुन्छ ?
जनगणनामा राई नै लेखेमा के हुन्छ त ? पहिलो कुरो राई जात वा जाति नभएकोले गर्दा राई नलेखाऔं, नलेखौं भनेको हो । अर्को भनेको आफ्नो जातीय स्वपहचिान र अस्तित्व आठपहरिया, कुलुङ, चाम्लिङ, जेरो–जेरोङ, थुलुङ, वान्तावा, बाहिङ, मेवाहाङ, याम्फु आदि हुँदाहुँदै राई लेखेमा जसरी प्रदेश नम्बर एकमा वान्तावा भाषाका वक्ता संख्या १ लाख ३२ हजार चानचुन हुँदाहुँदै पनि प्रदेश नम्बर एकमा त्यहाँको कामकाजी भाषामा सिफारिस हुन सकेन, भएन । हामी अरु जो किरातीहरु छौं, हाम्रो अवस्था पनि त्यस्तै हुन्छ । प्रदेश नम्बर एकमा वान्तावा भाषाले किन प्रदेशको कामकाजी भाषामा सिफारिस पाएन, भएन भन्दा वान्तावा भाषा १ लाख ३२ हजार चानचुन हुँदाहुँदै पनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा वान्तावा जातिको जनसंख्या भने ४ हजार ६०४ जना मात्रै आए । फलतः बाँकी एक लाख २६ हजार चानचुन वान्तावा भाषा कसले बोल्छ, कहाँ बोलिन्छ ? अत्तोपत्तो भएन । त्यसैले वान्तावा भाषाले सिफारिस पाएन ।
हामीले यो घटनाबाट पाठ नसिकेर अभैm पनि राईको जनसंख्या र भीड देखाएर राई जातिको नाममा राजनीति गर्ने अवसर लिने र ‘माना–चामल खाने’ बिचौलियाहरुकै भर परेर फेरि पनि राई लेखेमा बान्तावाहरुकै हालत व्यहोर्नुपर्ने छ । त्यसपछि फेरि हामीले अर्को १० वर्ष कुर्नुपर्ने छ ।
तर, पनि कसैलाई राईले नै चिनियो, नागरिकता, जग्गाधनी पूर्जा, पेन्सनपट्टा, स्कूल पढेको सर्टिफिकेट, वृद्धभत्ता कार्ड, विद्यार्थी कार्ड आदिमा पनि राई नै छ, त्यसैले यो जनगणनामा पनि राई नै लेख्छु भन्ने लाग्छ भने त्यसमा हाम्रो बारबन्देज र जबरजस्ती रहने छैन । तर, अर्को पक्षले पनि हामीलाई बारबन्देज नलगाउन् र जबरजस्ती राई नै लेख भन्ने काम नगरुन्, विनम्र अनुरोध छ । कुनै पनि व्यक्ति र समुदायको ‘म वा हामी को हौं ?’ भनी स्वनिर्णय गर्न पाउने आत्मनिर्णयको अधिकार र मानवअधकिार पनि यही नै हो । नेपालको पछिल्लो संविधानले समेत मौलिक हकको ग्यारेन्टी गरेको छ ।
कुलुङ जातिको अरु जातिको भन्दा छुट्टै मातृभाषा, ऐतिहासिक भूमि (‘महाकुलुङ भूमि, भू–क्षेत्र’), वंश–परम्परा जस्तै अरु जातजाति वा समुदायले हामीलाई “कुलुङ” भनेर चिन्नुअघि हाम्रा २३–२४ जना पुर्खाहरु होहोरेम, तूम्नो, नीनामरीदूम, खप आदि पुर्खाहरु छन् । त्यसभित्र पनि प्रमुख चार प्रमुख पूर्खाहरु छन् । जस्तैः छेम्सी, ताम्सी, खप्दूलू (पिल्मो–पेल्माङ), राताप्खू (सोत्तो सोताङ) अनि मात्रै हामी “कूलू” इथ्नोनिम र “कुलुङ” एक्सोनिमले चिनिन थालेका हौं । ऐतिहासिक भूमि, इतिहास, मौलिक भेषभुषा, गरगहना, भेदभावरहित समाज, हामी भन्ने भावना, परम्परागत कानुन, मूल्य–मान्यता, अरुको भन्दा जीवनशैली, वंश(वृक्ष, अरको भन्दा फरक संस्कार, संस्कृति, रहनसहन, चाडबाड, आप्mनै समुदायभित्र नाता–कुटुम्ब (जस्तो कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी थर र उपथरहरु रहेको छ । त्यसैले कुलुङ–कुलुङबीचमै विवाहवारी चल्छ ।) चल्ने, विवाह गर्ने प्रचलन आदि रहेको छ ।
अझ प्रष्टसँग भन्नुपर्दा जनगणना भनेको फगत तपाई हाम्रो टाउका गन्ने कार्य मात्रै होइन, तपाई हाम्रो विविध जानकारीहरु सरकारी तथ्याङ्कमा प्रविष्टि गराउने माध्यम पनि हो । जनगणनाको तथ्यांकमा आएको तपाईँ हामीले बोल्ने मातृभाषा, धर्म, वृद्घवृद्घा, वयस्क, युवा, केटाकेटीको संख्या, तपाईँहाम्रो आर्थिक अवस्था, शैक्षिक अवस्था, रोजगारीको अवस्था, स्वास्थ्य सेवाको अवस्थालगायत सामाजिक अवस्था आदिका बारेमा जे जस्तो तथ्यांक आउँछ, त्यहीअनुसार राज्यले तपाईँहाम्रो लागि नीति बनाउने र योजना तर्जुमा गर्ने गर्छ । त्यसैले तपाई हाम्रो वास्तविक अवस्था जानकारी गराउने एउटा उत्तम माध्यम पनि हो, ‘राष्ट्रिय जनगणना ।’ त्यसैले त विश्वका प्रायः सबै देशले हरेक १०–१० वर्षमा जनगणना गर्ने गरेका छन् ।
(निजी विचारमा आधारित)
ninmakirat123@gmail.com
