नेपालीहरुको दोस्रो महान चाड तिहार ढोकैमा छ । उज्यालोको रुपमा चिनिने यो पर्वले नेपालीहरुको मनमा उमङ्ग छर्दछ । दिदीबहिनी–दाजुभाइलाई टीका लगाउन जान्छन् । दाजुभाइले आफ्ना दिदीबहिनीलाई उनीहरुको हैसियतअनुसार उपहार दिने गर्दछन् । दिदीबहिनी र दाजुभाइको लागि यो महत्वपूर्ण चाड हो । साथै, वर्षदिनभरि खेतबारी जोतेको गोरुलाई पूजा गरिन्छ । गाईलाई पनि लक्ष्मीको रुपमा पूजाआजा गरिन्छ । त्यसको साथसाथै काग र कुकुरलाई पनि निकै महत्व दिइन्छ ।
हामी कुकुरालाई अघिपिच्छे खाना खान दिँदैनौं । आखिरी तिहारमा चाहिँ हामी त्यही कुकुरलाई खोजीखोजी पूजा गर्ने गर्छौ । सडकमा कति सवारी साधनले कुकुरलाई किचेको देखिन्छ । कुकुरलाई मानिसहरुले कुट्ने, धपाउने साथै मार्नेजस्ता अमानवीय कार्यहरु गर्दछौं । एकदिनको लागि कुकुरलाई अन्न र पानी दिँदैमा धर्म हुन्छ होला ? एउटा माला र एउटा बिस्कुट दिएर कुकुरसँग फोटो खिच्न भ्याउने हाम्रो समाजका प्रतिष्ठित व्यक्तिहरुले यस विषयमा गहन बन्नु आवश्यक छ । अरुबेला जनावरसँग फोटो खिच्न लाज लाग्ने, जनावरलाई घृणा गर्नेहरु त्यसदिन कुकुरसँग फोटो खिचेर फेसबुकमा पोष्ट गर्नु कति हाँस्यास्पद हो ?
बाटोमा शान्तसँग हिँडिरहेको जनावरलाई पहिले हामी आफै चलाउँछौ, जिस्काउँछौ । गाईलाई हामी मानव जातिले गर्ने व्यवहार पनि त्यस्तै छ । गाईले दूध दिउञ्जेल हामी गाई पाल्छौं । त्यसबाट लिनुपर्ने फाइदा लिन्छौं । जब गाई बूढो हुन्छ, दूध दिन्छ छाड्छ अनि सडकमा लगेर मर्नको लागि छोडिदिन्छौं । तर, गाईपूजाको दिन गाईको खोजीखोजी पूजा गर्छौ । गाईसँग पनि नाटक देखाउँदै फोटो खिच्ने प्रथा त कायमै नै छ ।
पहाड र तराईमा अझैपनि गोरुले खेतबारी जोत्ने गरिन्छ । त्यही गोरुले जोतेर उत्पादन भएको खानेकुराहरुले छाक टार्छौ । तर त्यही गोरुलाई कुट्छौं, स्याहारचाकरमा खासै ध्यान दिँदैनौं । गाईगोरु, कुकुरजस्ता प्राणीहरुको कारण हामी मानवहरुको प्राण जोगिरहेको छ । हामीलाई कसैले पिट्दा कति दुख्छ । कसैले करायो भने कति मन पाल्छ । अन्य जीवजन्तुलाई पनि त्यस्तै नै हो । कुट्ने, हेला गर्ने त हामी नेपालीहरुको स्वभाव नै हो ।
अघिपछि खाना खाइनसकेर कति खाना फोहोरमा लगेर फ्याँलिन्छ । तर त्यही खाना भोका जीवजन्तुलाई दिन नेपालीहरुलाई लाज लाग्छ । कागलाई त हामी पानीसमेत दिँदैनौ । तर एकदिनको निमित्त नाटक गर्दै माला लगाइदिने र खाना खुवाउने काम हामीबाट हुन्छ । अधिकांश नेपालीहरुको बानी जुन दिन आवश्यक पर्छ त्यही दिन मात्र खोज्छौं । अरुबेला त्यसको केही मतलब लाग्दैन । यो नै दुःखद् हो ।
मानव प्राणीलाई सबैभन्दा बुद्धिजीवी प्राणीका रुपमा समेत चिनिन्छ । तर मानिसभन्दा लोभी र स्वार्थी सायदै कुनै अरु जीव छन् होला । यो त प्राणीलाई लिएर गरिएको एउटा टिप्पणी मात्र भयो । तिहार भनेकै विशेष दाजुभाइ र दिदीबहिनीको चाडपर्व हो । यसमा पनि कतिपय दिदीबहिनी र दाजुभाइलाई निकै समस्या पर्ने गरेको छ । कतिको दाजुभाइ छैनन् त कतिको दिदीबहिनी । जसको कारण कति दाजुभाइ आफ्नो निधार खाली राख्न बाध्य छन् ।
तिहारमा देउसीभैलो निकै विशेष रितिरिवाज हो । देउसीभैलो प्रायजसो सबैले खेल्छन् । बालबालिकादेखि वृद्धसम्म देउसीभैलो खेलेर रमाइलो गर्ने गरेका छन् । तर अहिले पछाडिको समयमा केही वर्षअघिदेखि विभिन्न कलाकारहरुले राजनीतिक दलको सङ््गठन क्लबहरुले दैउसीभैलोलाई आफ्नो एउटा कमाउने भाँडो बनाएका छन् । यसले गर्दा विकृति फैलिरहेको छ । दैउसीभैलो खेल्न आउने मानिसहरु गाडी रिजर्भ गरेर आउने जाँड रक्सी खाएर आउने । जसले गर्दा उनीहरुलाई पैसा धेरै दिनुपर्ने । देउसीभैलो पैसाको लागि खेल्ने हो र ?
पहिलेपहिलेको चाडपर्व लिएरर मान्यता नै बेग्लै थियो । सबैले रमाइलो र आपसी सद्भावलाई मान्यतामा राखेर चाडपर्व मनाउँथे । देउसीभैलो खेल्छन् तर मुखले भटयाएर होइन् म्युजिक सिस्टम घन्काएर । यसले गर्दा टोलछिमेकमा बस्नेलाई निकै डिस्टर्ब हुन्छ । चाडपर्वको नाममा बेथिति मात्रै फैलिएका छन् । तिहारको समयमा महङ्गीसमेत निकै बढेको सामान किन्न गएको सर्वसाधारणहरुको भनाइ छ । तर, अनुगमनतिर खासै चासो दिइएको पाइँदैन । फलफूल, मिठाइ, माला, भाइटीकाको लागि आवश्यक सामग्रीहरु छोइनसक्नु भएका छन् । महङ्गी बढेको बढ्यै छ तर तलब बढ्दैन ।
दाजुभाइले पनि टीका लगाइपछि राम्रो उपहार दिन सक्दैन । त्यसैले कतिले त टीका लगाउन छोडिसकेका छन् । टीका पनि पैसाको लागि मात्र लगाउने हो जस्तो भइरहेको छ । टीका लगाएर पैसा कमाउने हो भने यो चाडपर्व नभई व्यापार गर्ने एउटा थलो हो ।
नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयले चाडबाडको समय हुने आपराधिक घटनालाई ध्यानमा राखेर कुनैपनि योजना बनाएको छैन । जाँडरक्सी खाएर होहल्ला गर्ने, कौडा खेल्ने, मदिरा सेवन गरेर वारी साधन चलाउने जस्ता कार्यहरु बढ्ने गर्दछन् । अहिले त जाँड–रक्सी खाएर देउसीभैलोसमेत खेल्ने गरेको पाइन्छ । देउसीभैलो खेल्न आएकाहरुलाई कम पैसा दिएमा झैझगडा गर्छन् । चाडबाडको बेलामा अधिकांश सवारी साधनका घटनाहरु बढिरहेको देख्न र सुन्नमा आएको छन् । व्यापारीहरुले पनि चाडबाडको मौका छोपेर ग्राहक ठग्छन् ।
यातायात व्यवसायीहरुले पनि मनलाग्दी भाडा उठाएका छन् । सार्वजनिक यातायातले सिटभन्दा बढी यात्रु हाल्ने गर्दछन् । चाडबाडको बेला उनीहरुको व्यापार झनै फस्टाउँदो छ । मान्छे मरेपनि यातायात व्यवसायीहरुलाई कुनै फरक पर्दैन ।
दुर्घटना, जुवा, कौडा जस्ता बेथितिलाई नियन्त्रणमा लिन र कसरी न्यूनीकरण गर्नेतर्फ कसैको ध्यान गएको छैन । बजारहरु पुरै ढाकिएका छन् । मान्छेको भीड छिचोल्न हम्मेहम्मे छ । सामान खरिद गर्ने देखिलिएर बिक्री गर्नेले समेत स्वास्थ्य मापदण्डको पालना गरेको छैनन् । यसबाट कोरोना फैलने सक्ने जोखिम बढेको छ । तिहार मनाउने नाममा कोही पनि संक्रमित हुन नपरोस् । कसैको घरमा रुवाबासी नचलोस् । यसका लागि हामी आफै सतर्क हुन जरुरी छ ।
हालः भक्तपुर (अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन्)