नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् ।
बुधवार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताउँदै प्रजातन्त्रको बिरुद्धमा नलाग्न चेतावनी दिए ।
उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिए । प्रधानमन्त्री देउवाले भने, ‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन, मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिनँ सरकार भने तर मलाई जेलमा थुनियो, त्यसकारण एकाएक जनता तातिए, प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यही पनि शासन चलाउँछ, यसको खिलाफमा मान्छे लाग्न सक्छन्, त्यसकारण अगाडि बढे भइहाल्यो नि ! मैले भनिसकें प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन, उनीहरूले चुनावमा आएर लडे भइहाल्यो नि ! चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ, यो अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्याहरू आउन सक्छन्, हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ ।’