सहरी वस्ती बढ्दो छ । जनसंख्या बढ्दा र आवासीय क्षेत्रहरुको निर्माणले खाली जग्गा सबै मासिसकेका छन् । आकाशबाट परेको पानी जमिनभित्र जान पाउँदैन । अव्यवस्थित सहरीकरणले जमिनबाट मूल फुटेर पानी बाहिर निस्कन पाउँदैन । गाईवस्तुहरुको निमित्त पानी खान बनाएका आल, पोखरी अहिले सबै हराइसकेका छन् । ढुंगेधारा, कुवा पनि मासेर घर बनाइसकेका छन् । खोलानाला त सिद्धिसकेका छन् भने भएका खोलानालामा बगेका पानी पनि सबै ढल मिसाइएका छन् । ढल मिसिएका खोलानालाका पानी प्रयोग गर्ने कुरै भएन । नेपाल सरकारको कमीकमजोरीले हाम्रो ऐतिहासिक सम्पत्तिहरु सिद्धियो । पैसा हुनेले धमाधम जग्गा किन्दै त्यसलाई भवनमा परिणत गरे ।
अधिकांश घर दुईतीन आना जग्गामा निर्माण भएका छन् । सबै घर एकअर्कासँग टाँसिएका छन् । खाली जग्गा छोडिएको छैन भने बाटो मिचेर घर बनाइएको छ । बाटो मिचेर घर बनाउँदा मोटरसाइकलसमेत छिर्नसम्म हम्मेहम्मे पर्दछ । हरेकले खाना पकाउनको लागि ग्याँसको प्रयोग गर्छन् । कुनै घर त कोठैपिच्छे भाडामा लगाइएको हुन्छ र सबैले खाना पकाउन प्रयोग गर्ने नै ग्याँस हो । केही कारणबस ग्याँस लिक भयो ग्याँस पड्किन सक्छ । एउटा कोठामा ग्याँस पड्किदा त्यसको असर अरु कोठाको ग्याँसमा पनि देखा पर्छ । सबै ग्याँस एकाएक पड्किन थाल्छ ।
विद्युतीय चीजहरुलाई ख्यालख्याल गरी चलाउँदा पनि करेन्ट सर्ट भएर आगो लाग्न सक्छ । पहिलेपहिलेका मान्छेले खाना पकाउनको लागि दाउराको प्रयोग गर्थे । आगो लागे पनि छिमेकीलाई क्षति पुग्ने सम्भावना निकै न्यून हुन्थ्यो । किनकि त्यतिखेर यत्रो बाक्लो बस्ती थिएन । आगो निभाउनको लागि पानी पनि प्रशस्तै पाइन्थ्यो । ताल, ढुंगेधारा, पोखरीहरु थुप्रै थिए । घना बस्ती नभएका हुनाले खोलानालाका पानीमा ढल पनि मिसिएको थिएन । अहिले त बस्ती पनि निकै बाक्लो भयो । कुनै कारणबश आगो लाग्यो भने आफ्नो मात्रै नभई छिमेकीको समेत ठूलो धनजनको क्षति हुन्छ ।

विद्युत सर्ट भएर धेरै मानिसहरुको मृत्यु भएको घटनाहरु दिनहुँजसो सुन्नमा आइरहन्छन् । तर, आगो निभाउनको लागि पानी बोक्ने दमकल पुराना भइसकेका छन् । सरकारले दमकल धेरै वर्षअघि खरिद गरेर ल्याइएको हो । नेपालमा दमकलको संख्या निकै नै कम छ । भएको दमकलमा पनि थोरै मात्र पानी अट्छ । तर, सरकारले कर्मचारी चढ्नलाई सरकारी गाडी किन्न बजेट छुट्याउँछ । २० लाखदेखि तीन करोड पर्ने गाडी किन्दा सरकार काप्दैन । नेता र कर्मचारीलाई देशविदेश घुम्न अर्थ मन्त्रालयले बजेट दिन्छ । वडाध्यक्ष र मेयरले समेत सरकारी गाडीको प्रयोग गर्छन् । सरकारले नै त्यस गाडीमा लाग्ने खर्च व्यहोर्छ । सरकारी गाडी बिनाकाम किनेका सवारीमा पर्दछन् । अर्थ मन्त्रालयले सरकारी गाडी किन्नलाई बजेट छुट्याउछ तर, दमकल किन्नको लागि बजेट छुट्याउँदैन ।
महानगरपालिका, उपमहानगरपालिका, गाउँपालिका र वडाको पनि दमकल किन्नेतर्फ खासै ध्यान गएको देखिँदैन । आवश्यकअनुसार दमकल नहुँदा आगो लागेको घण्टौंसम्म पनि नियन्त्रणमा लिन गाह्रो पर्छ । चाहिएको बेलामा दमकल पुग्दैन । यता, धनजनको क्षति भइसकेको हुन्छ । थोरै पानी बोकेका दमकललाई पनि आगो नियन्त्रणमा ल्याउन निकै हम्मेहम्मे पर्दछ । सरकारको लापरबाहीले शहर नै अस्तव्यस्त भइसकेको छ । पैसाको लागि घरधनीले पनि कोठैपिच्छे भाडामा लगाएका छन् । कतिखेर ग्यास पड्किन्छ भन्न सकिन्नँ । हिउदँको बेलामा केही गरि जंगलमा आगो लाग्यो भने सरकारले त्यो आगो नियन्त्रणमा लिन सक्दैन । जंगलमा आगो लाग्दा जनावरहरुको प्राण जान्छ भने काठ, जडीबुटी सबै नष्ट हुन्छन् । जंगलमा लागेका आगो निभाउनको लागि हेलिकप्टर किन्ने कि दमकल थप्ने यसमा सरकारलाई मतलब छैन ।
जंगलमा लागेको आगो बेलैमा नियन्त्रण गर्न नसक्दा चराचुरुङ्गी र जनावरहरुको वासस्थान मासिन्छन् । नेपालमा हरेक वर्ष यस्तो घटना घटिरहेको हुन्छ । वर्षैपिच्छे हाम्रा जंगलहरु खरानी भइरहेको छन् । राष्ट्रपति, प्रधानमन्त्री चढ्नको लागि करौडौ पर्ने गाडी किन्ने पैसा भइरहेको हुन्छन् । सरकारी कर्मचारीको वर्षैपिच्छे तलबभत्ता बढाइन्छ । मेयर, वडाध्यक्षले पनि तलब लिइरहेको छन् । तर, जनताको घरमा आगो लाग्दा निभाउने दमकल किन्ने पैसा हुँदैन । सरकारलाई जनताको मतलब नै छैन । सरकारको कमजोरीले हामी जनता मर्नपर्ने ? चाँडो दमकल पुग्ने हो भने मानिसको ज्यान त बच्छ । जनसंख्या तीब्ररुपले बढ्दा बस्ती झार उम्रेझै उम्रेको छ । जनसंख्या र बस्तीको आवश्यकता हेरि दमकल छैनन् । दमकलको पानी सिद्धिएपछि घण्टाको बाटो पार गरेर पानी ल्याउनपर्छ । सरकारसँग प्रशस्तै दमकल हुने हो भने आगो निभाउन सहज हुन्छ । एउटा घरमा आगो लाग्यो भने बस्ती नै सखाप हुन्छ । पहिलेपहिले आगो लाग्दा मानिसहरुले ताल, पोखरी, खोलानालाबाट पानी ल्याएर निभाउथे । अहिले त लिटरको हिसाबमा पानी किनेर ल्याउन पिउनपर्छ । अनि आगो निभाउन कहाँबाट पानी ल्याउने ?
सरकारले बेलैमा यसतर्फ ध्यान दिएन भने यसको ठूलो परिणम भोग्नपर्छ । सरकार गाडीको पछि लाग्ने होइन । दमकल किन्नको पछि लाग्नपर्छ । देशविदेश घुम्न न सरकारको आवश्यकता हो । न यसबाट जनतालाई फाइदा नै हुन्छ । जनताको आवश्यकलाई सरकारले पहिले नै परिपुर्ति गर्नुपर्छ । सरकारसंग भएका दमकलको ठिक समयमा मर्मत नहुँदा थन्किसकेका छन् । सरकारले दमकल मर्मत गर्नलाई बजेट छुट्याएपनि चालकले बिल भौचर बनाएर खाइदिन्छन् । दमकलचाहि मर्मत भएको हुँदैन बजेटभने सिद्धिसकेको हुन्छ ।
सरकारी कर्मचारीहरु नयाँनयाँ सामान किन्ने, बिगार्ने अनि मर्मत गर्ने नाममा बजेट मिलाएर खाइदिने । यिनीहरुको चलनचल्ती नै यही हो । जसको देखासिकी मर्मत चालकले पनि गरेका छन् । प्रत्येक वडामा एउटा दमकल र एम्बुलेन्स राख्नैपर्छ । यसले गर्दा जनता मर्न कम हुन्छ । जनताले पनि हाम्रो घरमा विद्युत र ग्याँस छ भनेर ख्याल राख्नपर्छ । यी दुई चीज विस्फोट भयो भने राज्यको खाँचो पर्छ । आफैले आगो नियन्त्रण गर्न असम्भव जस्तै छ । आगो लाग्ने ठाउँमा सबैभन्दा पहिला पुग्ने भनेकै प्रहरी र सेना हुन् । तर, आगो निभाउन त दमकलनै चाहियो । हातले आगो निभ्दैन । त्यसैले नेपाल सरकारले दमकल खरिद गर्नतर्फ ध्यान जाओस् प्रहरी र सेनासँग पनि दमकल को व्यवस्था हुनपर्छ । पानी बोक्ने ट्याङ्करहरुलाई पनि आगो निभाउने काममा प्रयोग गर्नपर्छ । यो भयो भने आगो नियन्त्रणमा सहज हुन्छ । जनता जोगाउनको लागि सरकारको बजेट दमकलमा पनि खर्च गर्नुपर्छ ।
हालः भक्तपुर (अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन् ।)