Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कबाडीलाई बिक्री गरिन्छ थेसिस

हाम्रो कोशी आवाज
कार्तिक २९ २०७८, सोमबार
कबाडीलाई बिक्री गरिन्छ थेसिस

धरानः त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा राख्ने स्थान अभाव भएपछि जम्मा भएका शोधपत्र बर्सेनि बेचिन्छन् ।
गोपनीयताका साथ धुल्याउने नाममा कबाडीलाई ती शोधपत्र (थेसिस) बेच्ने गरिएको छ । प्रतिशोधपत्र १२ रुपियाँका दरले बिक्री गर्ने गरिएको पनिकाले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले आगामी वर्षबाट प्रतिथेसिसको मूल्य १५ रुपियाँ बनाउने योजना बनाइएको सुनाउँछन् ।
स्नातकोत्तर तहका विद्यार्थीले तीन प्रति शोधपत्र बुझाउनुपर्ने नियम छ । एकप्रति परीक्षा नियन्त्रण कार्यालयमा, एक प्रति केन्द्रीय पुस्तकालयमा र अर्काे एक प्रति सम्बन्धित क्याम्पसमा बुझाउनुपर्ने हुन्छ । पनिकामा सबै विषयका हजारौँ सङ्ख्यामा शोधपत्र बर्सेनि जम्मा हुने गरेको छ । यसरी जम्मा भएका शोधपत्र प्रयोजनविहीन अवस्थामा थन्क्याउनुपर्ने भएपछि २०५६ सालदेखि कबाडीलाई बेच्ने गरिएको छ । खरिद गर्नेले गोपनीयताका साथ धुल्याउनुपर्ने भए पनि शोधपत्रका पानाबाट तयार भएका प्याकेट किराना पसलहरुमा सहजै भेटिने गरेको छ ।
परीक्षा नियन्त्रक जोशीले राष्ट्रिय योजना आयोग, भाषा आयोग लगायतका संस्थाले कतिपय शोधपत्र छानेर लगेको बताउँदै भने, “हामी कहाँ राख्ने स्थान अभाव छ । ती आवश्यक पर्नेलाई हामीले दिन तयार छौँ । तर कोही पनि लिन आउँदैनन् ।”
पनिकाले शोधपत्र बिक्री गरेको छ । यस पटक शोधपत्र लिएर जानेले ट्रकमा ओसार्दै गैँडाकोट लिएर जान लागेको बताएका थिए । हरेक शोधपत्र प्रायः कम्तीमा एक केजीको हुने गरेको छ । पनिकाले बिक्री गरेको स्नातकोत्तर तहका शोधपत्र वार्षिक परीक्षा प्रणालीअन्तर्गतका विद्यार्थीले बुझाएका हुन् ।
उनले सेमेस्टर प्रणालीअन्तर्गतका विद्यार्थीले बुझाएको शोधपत्र सम्बन्धित डिन कार्यालयमा जम्मा भइरहेको बताउँदै भने, “डिन कार्यालयहरुमा पनि चाङ् लागिसकेको छ । त्यहाँ पनि राख्ने ठाउँ छैन । सम्भवतः छिटै डिन कार्यालयहरुले ती थेसिस बिक्री गर्नेछन् ।”

प्रकाशित मिति: कार्तिक २९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend