धरानः राष्ट्रिय परीक्षा बोर्ड कक्षा–१२ को परीक्षाफल मङ्सिर १५ गतेभित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।
उत्तरपुस्तिका परीक्षण गर्नेलगायतका काम गर्दै लगभग ५० प्रतिशत बढी काम सकिसकेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले सबै काम एकै साथ भएकालाई यसलाई परीक्षण तथा सम्परीक्षणको कार्य भइरहेको उनले जानकारी दिए । उनले जतिसक्दो छिटो नतिजा सार्वजनिक गर्ने तयारीमा आफूहरु रहेको जानकारी दिए ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसिर १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए । सचिव अर्याललका अनुसार प्राविधिक समस्या नआएमा मंसिर दोस्रोहप्ता नै नतिजा सार्वजनिक हुन्छ तर केही प्राविधिक समस्या देखिएमा केही दिन तलमाथि हुन सक्छ ।
कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले होम सेन्टर कायम गरी देशभरका चार हजार ३१५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा ३ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।