Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यालय, विद्यार्थी र अतिरिक्त क्रियाकलाप

हाम्रो कोशी आवाज
मंसिर १४ २०७८, मंगलबार
विद्यालय, विद्यार्थी र अतिरिक्त क्रियाकलाप

गुणस्तरीय शिक्षाका लागि विद्यालयको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षाको गुणस्तर अभिवृद्धि गर्न पाठ्यक्रम र शिक्षकको भूमिका मात्र प्रयाप्त हुँदैन । व्यवस्थापन पक्ष, अभिभावक वर्ग र समाजको पनि उत्तिकै महत्वपूर्ण दायित्व रहन्छ । सम्पूर्ण पक्षको पर्याप्त सहभागिताका साथै उपयुक्त प्रशिक्षण तथा शैक्षिक गुणस्तरका लागि समान दृष्टिकोण पनि आवश्यक पर्दछ । त्यसैगरी गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने योजनाहरू दीर्घकालीन लक्ष्य र पद्धतिमा आधारित हुनु पनि त्यत्तिकै आवश्यक छ । समाजका सम्पूर्ण बालबालिकाहरुमा अन्तर्निहित प्रतिभा र क्षमताको विकासका लागि उपयुक्त वातावरण र अवसरको सिर्जना गर्नु अहिलेको मूल चुनौती हो ।
शैक्षिक प्रणालीमा शिक्षकहरूको सर्वाधिक महत्वपूर्ण भूमिका हुन्छ । शैक्षिक गुणस्तरका लागि अवलम्बन गरिएका कार्यक्रमहरुको सफलता र विफलताको ठूलो अंश शिक्षकहरुको गुणस्तरमा आधारित रहन्छ । शिक्षकहरूमा विषयवस्तुप्रति दक्षता, सन्दर्भ सामग्रीहरुको नियमित खोजी, तालिम र अनुभव, नियमितता र समयप्रति सचेतना, विभागीय कार्यक्रमहरुमा सहभागिता, विद्यार्थीहरुसँग सुमधुर सम्बन्ध, अध्ययन र पेशाप्रतिको समर्पण, उच्च नैतिकता प्रतिको उत्प्रेरणा, आन्तरिक कार्यक्रमहरुमा तत्परता, सहयोगी भावना जस्ता उच्च गुणहरु हुनु पनि नितान्त आवश्यक छ ।
शैक्षिक गुणस्तरको विकासमा अभिभावक वर्गको पनि अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ । अभिभावकहरुको सहयोग, सुझाव र सहभागिताविना कुनै विद्यालय सफल र प्रभावकारी ढङ्गले अघि बढ्न सक्दैन । विद्यालयप्रति अभिभावकहरुको दृष्टिकोण कस्तो छ ? भन्ने तथ्यमा नै कुनै पनि विद्यालयको सफलता निर्भर रहन्छ । पारस्परिक विश्वास, सहकारिता, आपसी समझदारी , सकारात्मक सोच, बारम्बार अन्तरक्रिया, विद्यालय विकासका लागि सौहार्दपूर्ण सहभागिता, पारस्परिक सम्मान आदिमा विद्यालय र अभिभावकबीच विशेष पहल हुन आवश्यक छ ।
अभिभावकले आफ्ना बालवालिकाहरूलाई समय सुहाउँदो शिक्षादीक्षा प्रदान गर्नुपर्दछ। उसमा कस्तो प्रकारको शिक्षा पाउने चाहना छ, भन्ने कुरामा अभिभावकको ध्यान जान जरूरी छ । बालक के चाहन्छ ? ऊ केमा बढी ध्यान दिन्छ ? के पाउँदा ऊ खुसी हुन्छ ? जस्ता प्रश्नहरूको ख्याल राखेर सचेत अभिभावकले आपफ्ना बालबालिकारुलाई सही मार्गनिर्देशन गर्न सक्दछन् । उसलाई पिट्ने, गाली गर्ने गर्नुभन्दा सम्झाउने बुझाउने र प्रयाप्त मायालु वातावरण प्रदान गर्ने कार्यमा हरेक अभिभावकले ख्याल राख्नुपर्छ । जब बालकले आपफ्नो सामर्थ्य भन्दा बाहिरको माग अथवा अस्वभाविक माग गर्न थाल्दछ तब उसलाई यो कारणले यो क्रियाकलाप गलत हुन्छ भनेर सही दिशानिर्देश गर्नु सचेत अभिभावकको दायित्व हो ।
विद्यार्थीहरूमा लगनशिलता, अनुशासन, इमान्दारिता, रचनात्मक अन्तरक्रियामा सहभागिता, खोज तथा अनुसन्धानात्मक कार्यमा रुचि जाग्नु आदि अपरिहार्य गुण हुन् । कुनै विद्यार्थीहरूमा यी गुणहरु सजिलै देखिन्छन् भने कतिपय विद्यार्थीलाई विद्यालय, शिक्षक र अभिभावकको उचित पहलको आवश्यकता पर्दछ । यस्ता गुणहरूको विकासको तयार गरिदिनु नै बालबालिकाहरुको अन्तर्निहित क्षमताको प्रस्फुटन गराइदिनु हो ।
वर्तमान युगमा पठनपाठनका लागि अत्याधुनिक र सुविधासम्पन्न प्रविधिहरुको अधिकतम् उपयोग गरिनुपर्दछ । स्वच्छ, शान्त र प्रदूषणरहित स्थान, भौतिक सम्पन्नता, अत्याधुनिक प्रविधिहरूको प्रचुरता एवं आधुनिक र वैज्ञानिक पूर्वाधारहरू नै आजका विद्यालयहरुको प्रभावकारिता अनि सफलताका लागि चाहिने अपरिहार्य अङ्ग हुन् । विद्यार्थीहरूको सर्वाङ्गीण विकास, बौद्धिक तथा शारीरिक विकासका लागि अध्ययनका अतिरिक्त खेलकुद, मनोरञ्जन लगायतका अन्य विभिन्न पक्षहरूमा पनि प्रशस्त ध्यान दिनु आवश्यक हुन्छ । पठनपाठनको सुविधाबाट मात्र विद्यार्थीहरुको बहुपक्षीय व्यक्तित्वको विकास हुन सक्दैन । त्यसैले अतिरिक्त क्रियाकलापसँग सम्बन्धित स्रोत र साधनहरुको पर्याप्तता तथा यस्ता क्रियाकलापहरुको निरन्तर र सुव्यवस्थित आयोजनातर्फ पनि विद्यालयले ध्यान दिनु जरुरी हुन्छ । विभिन्न प्रतिस्प्रर्धाहरूमा सहभागी भएमा विद्यार्थीहरूको मनोबल बढ्ने, लुकेर रहेका प्रतिभाको पहिचान हुने र परिवेशअनुरुप आफूलाई घुलमिल बनाउने क्षमताको अभिवृद्धि हुन्छ । त्यसैले समयसापेक्ष विद्यालयले शैक्षिक वातावरण बनाउनु नितान्त आवश्यक छ ।

प्रकाशित मिति: मंसिर १४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend