धरानः राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) भौतिक रूपमा गर्ने जनाएको छ ।
यसपटक चैतदेखि वैशाखसम्ममा परीक्षा सक्ने बोर्डको तयारी छ ।
परीक्षा नियन्त्रक रुद्र अधिकारीले यसपटकदेखि एसईई केन्द्रले नै लिने तयारीमा जुटेको जानकारी दिए । उनका अनुसार परीक्षा चैत वा वैशाखमा गर्ने भन्नेबारेमा निक्यौल भने हुन बाँकी छ ।
कोरोना महामारीका कारण शैक्षिकसत्र ०७६ र ०७७ मा विद्यालयले गरेको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो । ‘भौतिकरुपमा नै यसपटक परीक्षा गर्ने तयारी गरेका छौं’, उनले भने, ‘परीक्षाको मिति भने बोर्डले तय गरेको छैन, मिति तय गर्छौं ।’
उनले अहिले आवेदन इन्ट्री गर्ने काम भइरहेको जानकारी दिए ।