Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१२१ वर्ष पुगेको धरान अझै अस्तित्वकै खोजीमा

हाम्रो कोशी आवाज
पुष २१ २०७८, बुधबार
१२१ वर्ष पुगेको धरान अझै अस्तित्वकै खोजीमा

धरानः आवश्यकता आविष्कार कि जननी हुन् । मानव स्वभाव हो कि आवश्यकता भएपछि मात्र मानिस सोको परिपूर्तिमा लाग्छ । आवश्यकताअनुसार कै परिपूर्ति भएमा त्यो कार्यले उचित प्रतिफल दिन्छ । साथै आवश्यकता परिपूर्ति गर्ने कार्यमा यदि आवश्यक स्रोत तथा साधनको सम्पन्नता भइदियो भने सफलताको मार्ग प्रशस्त र सहज हुन्छ । यही कुरा धरानको विकासमा लागू हुन्छ । आज धरान नगरलाई सम्पन्न बनाउन सबै लागिपरेका छन् । यो हाम्रो आवश्यकता पनि हो । सफलताको सम्भावना किन बढी छ कि आर्थिक सम्पन्नताको लागि आवश्यक स्रोत, साधन तथा आधारभूत सुविधाको परिपूर्ति गर्न धरान उपमहानगर सक्षम छ । आवश्यकता छ रहेको चुनौति पन्छयाउँदै विकासका गतिविधी चलाउन । यो कार्यको लागि धरान उपमहानगरपालिका नेतृत्व लिन पक्कै पनि तयार छ । विकास तथा समपन्नता एकै दिनमा हुने होइन । यसको लागि दीर्घकालीन सोच राख्ने र प्रयास गर्नुपर्छ जो ऐतिहासिक पृष्टभूमिमा आधारित हुन्छ । धरान उपमहानगर यसको अपवाद हुन सक्दैन ।
ऐतिहासिक पुष्ठभूमिः
(१) अहिले हामी धरान उपमहानगरको १२१ औं स्थापना दिवस मनाइरहेका छौं ।
(२) तर ऐतिहासिक पृष्टभूमि केलाउदाँ यो नगर ऐतिहासिक नगर हो । र यसको इतिहास जुनसुकै नामले यो शहर वा बस्ति रहे पनि धेरै पुरानो छ ।
(३) प्राचीन कुम्भको पृष्ठभूमि, विष्णुद्वारा अमृत घडा कोशी किनारामा गाडेको, सतिको दन्तअस्तु यसै क्षेत्रमा मंगल हुनु, पाण्डवको गुप्तवासको विवरण आदि ऐतिहासिक तथ्यले जुन सुकै नामले रहे पनि धरान नगरको पौराणिकता सिद्ध गरेको छ ।
(४) साथै प्राचिन बराहक्षेत्र, विष्णुपादुका, पिण्डेश्वर, दन्तकाली, रामधुनी आदि वेद वर्णित स्मारक (मन्दिर) हरुले यसको ऐतिहासिकता प्रमाणित गरेका छन् ।
(५) बुढासुब्बा, पँचकन्या मन्दिर, भताभुतुङ्गे राजाको दरबार तथा अन्य स्मारकले मध्यकालिन पृष्ठभूमिको झल्को दिन्छन् । साँगुरीगढिको अवशेष, ऐतिहासिक विजयपुर वस्तीले आजको धरान नगरको ऐतिहासिकता सिद्ध गर्दछ ।
(६) राजनीतिक पृष्ठभूमि केलाउने हो भने यो नगर अन्य नामले भए पनि बाइसे चौबिसे राज्य, पृथ्वी नारायण शाहसँगको ऐतिहासिक सम्झौता, राजा माउरङ्ग, हाङ्गको शासन ब्यवस्था आदि धरानका मध्यकालिन राजनीतिक पृष्ठभूमि हुन् ।
(७) शाहकालीन शासन, राणाशासन, पञ्चायती ब्यवस्था, लोकतन्त्र र अहिलेको गणतन्त्रात्मक नेपालका धरानमा जीवित साक्षी तथ्य यथेष्ठ नै छन् ।
प्राकृतिक उपहारः
प्रकृतिको वरदानको रुपमा यस उपमहानगरको १५ कि.मि. छेउमै कोशी नदी, तीनतिरबाट घेरिएको घना जंगलको पहाड, चारकोशे झाडीको विस्तृत फाँट, असंख्य खोलानाला, सुरभ्य झरना, औसत मौसम यस क्षेत्रका प्राकृतिक उपहार हुन् ।
शैक्षिक पृष्ठभूमि:
संस्कृत विद्याको पढाइ गुरुकुल पद्दतिको पठनपाठनको केन्द्र रहेको धरानको विजयपुर डाँडा हालको धरानको तर आधुनिक शिक्षा प्रणालीको शुरुवात यस नगरमा वि.स. २००३ साल देखि भएको हो । पछि २०१० सालमा संस्कृत महाविद्यालयको स्थापनाले उच्च शिक्षाको केन्द्रको रुपमा यो नगर स्थापित भएको छ । आधुनिक उच्च शिक्षाको शुरुवात २०१४ सालमा महेन्द्र कलेजको स्थापनादेखि भएको हो । नयाँ शिक्षाको प्रादुर्भावपछि स्थापित भएका विज्ञान तथा प्रविधि अध्ययन संस्थान, इन्जिनियरिङ्ग अध्ययन प्रतिष्ठान र बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानले धरानलाई शैक्षिक हबको रुपमा परिचित गराएको छ । हाल सामुदायिक विद्यालय, सरकारी उच्च शिक्षाका महा विद्यालय अतिरिक्त निजी क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका उच्च विद्यालयमा पठनपाठन गर्ने सुविधासमेत धरान नगरमा उपलब्ध छ । यही कारण हो कि धरानको साक्षारता प्रतिशत देशका अन्य भागको तुलनामा उच्च छ । काठमाण्डौंको साक्षारता दर ८६.२५% रहेको मा यस उपमहानगरको साक्षारता दर ८३.१४% रहेको छ । फुटबलमा नेपालको ब्राजिल कहलिएको यो नगर खेलकुदमा नेपाल मै नाम कहलिएको छ ।
औद्योगिक तथा व्यवसायिक पृष्ठभूमि :
(१) धरानको आधुनिक व्यवसायको इतिहास करिब १५० वर्ष पुरानो छ । सो समयमा यो वस्ती पूर्वी पहाडी क्षेत्रका बासिन्दाहरुको आवश्यक घरायसी सामान खरिद गर्ने तथा पहाडी क्षेत्रका तरकारी, फलफूल तथा अन्य उत्पादन, जडिबुटी बिक्री गर्ने स्थलको रुपमा थियो ।
(२) सोही समयदेखि बृटिस इण्डियाको लाहोर नगरमा सेनामा भर्ती हुन जाने पहाडी क्षेत्रका युवाहरुको बाटोकोे विश्रामस्थलको र छुट्टीमा घर फर्किदा परिवारको लागि समान खरिद गर्ने व्यवसायिकस्थलको रुपमा धरान रहेको छ ।
(३) एक समयमा विराटनगर बजार विकास हुनुअघि धरान बजारमा आयातित समान भारतको दरभंगाबाट नेपालको हनुमान नगर हुँदै कोशी नदी तरेर भण्टाबारी, रामधुनी हुँदै भित्रिन्थ्यो ।
(४) भारतको जोगवनीमा रेल्वे लाइनको स्थापना पछि धरानको आयातित व्यापार विराटनगरमार्फत् सीमित भयो ।
(५) पूर्व–पश्चिम राजमार्गको निर्माणपछि धरानका व्यवसायिक साझेदारको रुपमा देश भरिका व्यापारिक केन्द्रहरु जोडिए । साथै पहाडी क्षेत्रका कृषि उपज, बन पैदावरहरुको लागि सन १९९० देखि बंगलादेशसँगको आयात निर्यात जोडिनाले काकडभिट्टा पनि भन्सार नाका साझेदारको रुपमा जोडिएको छ ।
(६) हाल आएर कहलिँदो परिस्थितिअनुरुप धरान नगर आफूलाई ठूलो व्यापारिक केन्द्रको रुपमा स्थापित गर्न नसकेपनि देशका सबै व्यापारिक केन्द्रसँग सुविधा सम्पन्नसहित जोडिएको छ ।
(७) तर नगर क्षेत्रभित्र उद्योग धन्धाहरुको विकास हुन नसकेको र धरान धनकुट्टा राजमार्ग, मेची राजमार्गर सिद्धिचरण राजमार्गको निर्माण समेत पछि धरानको व्यापारिक कारोबार पहिलाको पूर्वी नेपालको १४ जिल्लाको ठाउँमा चार जिल्लामा सिमित भएको छ ।
(८) जहाँसम्म औद्योगिक विकासको प्रश्न छ धरानका प्राचीन उद्योगहरुमा काठ चिर्ने तथा फर्निचर उद्योग, ढाकाका कपडा छपाइ गर्ने तथा पित्तल तथा काँसाका भाडा बनाउने उद्योग हुन् ।
(९) नयाँ प्रविधिको विकासले यी पौराणिक उद्योगहरु कुटीर उद्योगमा सीमित भएका छन् जसको जिडिपीमा अत्यन्त कम योगदान छ ।
(१०) वि.स. २०३१ सालमा भारत सरकारको सहयोगमा स्थापित धरान औद्योगिक क्षेत्रले देशको औद्योगिक नक्सामा आफ्नो स्थान बनाउन सफल भएको छ ।
(११) धरानमा औद्योगिक क्षेत्र बाहिर केही घरेलु कटीर तथा साना उद्योग रहेपनि राष्ट्रियस्तरमा उनीहरुको उत्पादनको योगदान नगण्य छ । एक समयमा धरानमा ९३ वटा सम्म राइस मिल्स सञ्चालनमा रहेका भए पनि चुँगीकरको कारणले तराईमा विस्थापित भए । चुँगिकर हटेपनि फर्केका उद्योगहरुलाई धरानमा फर्काउन सकिएन । यसले जिम्मेवार निकायले उचित समयमा सही निर्णय गर्न आवश्यक रहेको तथ्य सिद्ध गर्दछ ।
कृषि विकास :
(१) धरान नगर शुरुवातदेखि नै पूर्वी पहाडको कृषि उत्पादनको मुख्य खरिद बिक्री केन्द्र रहेपनि धरान नगरको आफ्नै कृषि उत्पादनको नाममा स्थानिय सामान्य आवश्यकताको परिपूर्तिबाहेक कुनै ठूलो महत्व राखेन । तर तिन पटकका नगरका सीमा विस्तारपछि कृषिले महत्व पाई यसको संस्थागत विकासको आवश्यकता महसुस गरिएको छ ।
(२) धरानमा कृषि बजारको स्थापनापछि धरान क्षेत्रका र त्यसभन्दा माथिका पहाडी क्षेत्रका कृषकहरुले आफ्नो उत्पादनको उचित मूल्य पाएकाले उत्पादन वृद्धि गर्न प्रोत्साहन पाएका छन् । साथै यो कृषि बजार निर्यात केन्द्रको रुपमा पनि स्थापित भइसकेको छ ।
(३) यो बजारले गर्दा पशु व्यवसायले पनि प्रोत्साहन पाएको छ ।
(४) धरान कृषि बजारको मध्य पहाडी लोकमार्गको निर्माणसँग धेरै ठूलो अपेक्षा छ । यो लोकमार्गको निर्माणपछि धरानको कृषि बजारले फड्को मार्ने सम्भावना छ । र यो कृषि बजार अन्तराष्ट्रिय कृषि व्यापार समेतको पारवाहन केन्द्र बन्ने सम्भावना छ ।
अहिलेसम्म पनि अस्तित्वको खोजीमाः
माथि उल्लेखित धरानको इतिहास अत्यन्तै गौरवशालि, ऐतिहासिक र पौराणिक भएपनि धरान अहिले आर्थिक समुन्नतिको नाममा चाहे त्यो औद्योगिक, व्यापारिक, पर्यटकीय, शैक्षिक, स्वास्थसम्बन्धी, कृषि क्षेत्र नै होस्, राष्ट्रियस्तरमा अझैपनि आफ्नो अस्तित्वको खोजीमा नै छ । हाम्रो परिस्थिति यस्तो छ कि यस क्षेत्रलाई समेटिएका कतिपय राष्ट्रिय गौरवका आयोजनाले हामीलाई सोंच्न बाध्य गराउँछ कि कहीँ यी आयोजनाले हाम्रो आर्थिक अस्तित्व त कमजोर पर्ने छैन ।
हुन त विगतमा राजमार्गहरुको निर्माणले एक समयमा १४ वटा जिल्लाको एकमात्र व्यापारिक प्रवेशद्धार रहेको धरान हाल आफूसमेत चार जिल्लाको व्यापारिक केन्द्रमा सीमित भएको छ । तर अझैपनि हामी निराश हुनु पर्ने अवस्था छैन । तलका हाम्रा धरानका आर्थिक सूचकहरुको सरकारात्मकताले देखाउँछ कि यदि सही समयमा सरकारी क्षेत्र र निजी क्षेत्रले विकासका कार्यक्रम सञ्चालन गर्न सक्यो भने धरानको विकासको लय पुनः फर्किन सक्ने प्रबल सम्भावना छ । चाहे जुनसुकै स्वरुपमा होस् ।
धरान नगरको आर्थिक विवरण:
(१) जनसंख्याः १९२००० (पुरुष ४७%, महिला ५३%) महिला बढी सक्रिय रहेको ।
(२) जनघनत्वः ७१५ जना
(३) जम्मा क्षेत्रफलः १९२.६०० वर्ग किमि
(४) विद्युत खपतः ९ एमडब्लु (वृद्धि दर अनुमानित २०% प्रति वर्ष)
(१) १० वटा जल विद्युत आयोजना आसपासको क्षेत्रमा निर्माणाधीन
(२) राष्ट्रिय ग्रीडको वितरण लाइन यहीबाट गएको र पछि अन्तराष्ट्रिय प्रसारण लाइन केन्द्र बन्ने ।
(५) आर्थिक रुपमा सक्रिय जनशक्तिः ६४.७६%
(६) पानी खपत: १.५ करोड लिटर
(७) साक्षारता प्रतिशत: ८४%
(८) प्रति ब्यक्ति आम्दानी: अन्दाजी १२५० डलर माथि (देश र प्रदेश नं. १ को औसत आम्दानी भन्दा बढी ।
(९) बेरोजगार प्रतिशत: ३५%
(१०) रोजगारको मुख्य श्रोत: विदेशमा काम (उच्च विप्रेषण आप्रवाह)
(११) वित्तीय संस्थान: ३० वटा (लगानीभन्दा पनि निक्षेपको मुख्य उद्देश्य)
(१२) सडक सम्पर्क:
(१) देशका सवै व्यापारिक केन्द्रसम्म ।
(२) नजिकको सीमाबाट भारतका सबै शहरसम्म सोझो रेल सम्पर्क ।
(३) ५०० कि.मि. क्षेत्रमा समुन्द्र बन्दरगाह ।
(४) छिमेकी राष्ट्र बंगलादेश र भुटानसँग अधिकतम २०० किमी दुरीको सडक सम्पर्क ।
(५) जोगवनी (किमाथाङ्का राजमार्ग निर्माणपछि चीनसँग सोझो सम्पर्क ।
(१३) गरिबी रेखामुनिः ११%
यसरी यस्तो सुहाउँदो सम्भावना बोकेको धरानमा आर्थिक विकासको प्रबल सम्भावना छ । अर्कोतर्फ स्थानीय निकाय धरान उपमहानगरपालिका पनि हिजोको जस्तो छैन । नयाँ संविधानअनुसार हाम्रा स्थानीय निकायहरु अहिले धेरै अधिकार सम्पन्न भएर आएका छन् । कानुन र योजना बनाएर आफै लागू गर्न सक्ने क्षमता राख्दछन् । त्यसमा पनि उत्पादनमूलक र उपभोग्य वस्तुमा लाग्ने संघीय र प्रादेशिक राजश्वमा समेत निश्चित प्रतिशतले हिस्सा पाउँछन् ।
साथै संघीय सरकार र प्रदेश सरकारका अधिकांश आयोजनाहरु पनि स्थानिय तहमार्फत् नै लागू हुने गरेका छन् । हालका सबै राजनीतिक दलहरुले विकासका गतिविधीमा ऐक्यबद्धता प्रकट गरी सकेकाले अब धरान उपमहानगरपालिकाले आफ्ना गतिविधीहरु दुरगामी प्रभाव पार्न सक्ने योजनामा पनि लगाउनुपर्दछ । आधारभूत र भौतिक संरचनाबाहेक विकासका आधारभूत संरचना समेतमा निजी क्षेत्रको ठूलो लगानी रहेकोले स्थानीय निकाय र निजी क्षेत्रको सहकार्य समेत आवश्यक छ ।
२०७८–०९–२० मा उद्घाटन भई शुरु भएको वेष्ट इनर्जी प्रोजेक्ट उपमहानगरपालिका र निजी क्षेत्रबीचको सहकार्यको उत्कृष्ट नमूना हो । यो आयोजनाले नगरको सफाइ अभियान, वातावरण प्रदुषण तथा पर्यावरण संरक्षणका साथै विदेशी मुद्राको बचतमा दुरगामी प्रभाव पार्ने छ । स्थानीय निकायले दुरगामी सोंच राखेर सही नीति लिन्छ र निजी क्षेत्रका लागि सहज वातावरण बनाउँछ भने कुनै कारण छैन कि राष्ट्रिय मानचित्रमा आर्थिक समुन्नतिको नाममा हामी नगरबासी उच्च स्थानमा आफ्नो नाम लेखाउन सक्छौं । यस सम्बन्धमा हामी धरान उपमहानगरपालिकासँग निम्न अनुसार सैद्धान्तिक गतिविधीको अपेक्षा राख्दछौं ।
(१) उपमहानगर क्षेत्रभित्र उपलब्ध गराउने सेवा सुविधा सम्बन्धको समय समयमा जानकारी उपलब्ध गराउनु ।
(२) क्षेत्रभित्रका विकासका सम्भावना तथा समस्याहरुको जानकारी समय समयमा उपलब्ध गराउने ।
(३) क्षेत्रभित्र रहेका प्राकृतिक श्रोत तथा साधन, सीपको समष्टिगत विवरण राख्ने र प्रस्तुत गर्ने ।
(४) क्षेत्रको भावी योजना तथा कार्यक्रम र नीति निर्माणको कामलाई आधार प्रदान गर्ने ।
(५) क्षेत्रको वास्तविकता र वस्तुतगत सूचना संकलन र ब्यवस्थापन गर्ने ।
(६) ऐतहासिक धार्मिक, संस्कृतिक स्थानहरुको व्यवसायिकरण सम्बन्धि कार्यक्रम ल्याउने र यिनीहरुको संरक्षण गर्ने ।
(७) खानेपानी तथा विद्युतको नियमित तथा गुणस्तरीय वितरणको समुचित ब्यवस्थापन गर्न कदम चाल्ने ।
(८) व्यवसायिक शिक्षा प्रणालीमा जोड दिने ।
(९) सार्वजनिक संशाधनहरुको उचित सुविधा तथा ब्यवस्थापन गर्नु ।
(१०) उच्च जनसहभागिताका कार्यक्रम प्रोत्साहित गर्नु ।
(११) व्यवसायिक कृषिलाई प्रोत्साहित गर्नु ।
(१२) संकुचित ठाउँमा बढ्दो शहरिकरण ब्यवस्थित गर्नु ।
(१३) युवाशक्तिको विदेश पलायन रोक्न रचनात्मक कार्य गर्नु ।
(१४) दोहोरो करलाई दुरुत्साहित गरी उत्पादनमूलक योजनाहरुमा कर छुटको ब्यवस्था गर्ने ।
यी माथिका गर्नुपर्ने कार्यमा सैद्धान्तिक विचलन आउनु हुँदैन र नगरपालिकाले चलाउने योजनामा माथिका सिद्धान्तहरुको प्रतिबिम्व आउन सक्यो भने कुनै कारण छैन कि आर्थिक समुन्नतिको आधारशीला खडा नहोस् । साथै निजी क्षेत्र पनि लगानिका लागि प्रोत्साहित हुनेछ ।
यसका अतिरिक्त कतिपय आयोजनाहरु यस्ता छन् जो आजपनि धरानको आर्थिक विकासमा महत्वपूर्ण स्थान राख्छन् र यिनीहरुको महत्वपछि पनि रहिरहने छ । यी आयोजनाहरुको विकास र निरन्तरताका लागि यससँग सम्बन्धि दीर्घकालिन सोच र कार्यक्रमको आवश्यकता पर्छ ।
धरानको आर्थिक कारोबारका सम्बन्धमा :
एक अनुमानका आधारमा धरान उपामहानगरपालिकाको आर्थिक कारोबारको आकार वार्षिक ९० अर्बको हाराहारीमा छ जो राष्ट्रको समग्र अनुपातमा करिब २.२५% हुन आउँछ । तर धरानमा तीनवटा प्रतिष्ठान यस्ता छन् जसले उपमहानगरको समस्त कारोवारको २०% हिस्सा ओगटछन् । नगरको आर्थिक स्थिरता र सन्तुलित विकासमा यी तिन चालु परियोजनाको महत्वपूर्ण स्थान छ । ती हुन् ।
(१) बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानः
विश्वविद्यालयको रुपमा रहेको यो स्वास्थ प्रतिष्ठानको धरानको स्वास्थ क्षेत्र र शैक्षिक क्षेत्रमा मात्रै महत्वपूर्ण स्थान छैन, आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण स्थान छ । वार्षिक ७०० करोडको आर्थिक बजेट भएको यो प्रतिष्ठानले आर्थिक वर्ष २०७६–०७७ मा १६.८० करोड रुपैयाँ करको रुपमा मात्रै संघीय सरकारलाई बुझाएको छ ।
यसैको आर्थिक कारोबारको कारणले धरानको निजी क्षेत्रले पनि करिब ३० करोड रुपैयाँ मूल्य अभिवृद्धि कर, अन्तशुल्क आयकरको रुपमा बुझाउँछ । जसमा धरान उपमानगरपालिकाले पनि हिस्सा पाउँछ । सथै यसमार्फत् केही हदमा पर्यटन व्यवसायले समेत टेवा पाएको छ । तसर्थ यसको ब्यवस्थापन तथा उत्थानमा धरान उपमहानगरपालिकाले चासो राख्नु र प्रयास गर्नु आवश्यक छ । नगरको आर्थिक विकास समेत यसको विकाससँग जोडिएको छ । यदि यसलाई जटिल रोगहरुको उपचारसँग जोड्न सकियो भने निजि क्षेत्रले पोष्ट रिकोभरी सेन्टर समेतमा लगानी गर्न सक्छ । उच्च भुक्तानीको रोजगारीमा यसको योगदान त छँदैछ ।
(२) धरानको कृषि बजार :
यो बजारले धरानका आसपासका कृषकहरुको मात्र होइन पूर्वि पहाडका कृषकहरुको समेत जीवनस्तर उठाउन मद्दत गरेको छ । यो पूर्वी पहाडी क्षेत्रका बजार कृषि उत्पादनको निर्यात केन्द्रको रुपमा समेत रहेको छ । राजश्वमा धेरै ठूलो योगदान नरहे पनि यसले आयात प्रतिस्थापनमा र स्वरोजगार अभियानमा महत्वपूर्ण योगदान गरेको छ । करिब सात सय करोडकै कारोबार गर्ने यस बजारलाई आधुनिक कृषि प्रशिक्षण केन्द्र, उन्नत बिउ विजन, मल खाद विक्री केन्द्रको रुपमा विकसित गर्नु आवश्यक छ । धरान उपमहानगरपालिका स्वयम् यसको ब्यवस्थापनमा संलग्न रहेको अवस्थामा आफ्ना भावी दीर्घकालिन कार्यक्रममा यसको उत्थान सम्बन्धी कार्यक्रम राख्नु आवश्यक छ । यसको विस्तार र विकासको लागि उपमहानगरपालिकाले कृषि सडकको योजनालाई प्राथमकिता दिन सक्छ ।
(३) धरान औद्योगिक क्षेत्र :
धरान उपमहानगरलाई औद्योगिक नक्सामा परिचित गराउने यस औद्योगिक क्षेत्रमा सञ्चालित ३५ वटा उद्योगहरुमध्ये हाल ३२ वटा सञ्चालनमा छन् । ३०० करोडको उत्पादन गर्ने यस उद्योगले धरानका करिब ८०० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ । यसमा अवस्थित उद्योगहरुले बुझाउने मुअकर तथा अन्तशुल्कमा उपमहानगरपालिकाले समेत हिस्सा पाउँछ । जग्गा खरिद गरेर उद्योग खोल्न नसक्ने उद्योगीहरुलाई लिजमा जग्गा उपलब्ध गराएर यसले नगरको औद्योगिकरणमा ठूलो योगदान पुरयाएको छ । हाल जग्गाको कमिले यो औद्योगिक क्षेत्रको विस्तार हुन सकेको छैन । यसको लागि धरान उपमहानगरपालिकाको औद्योगिकग्राम सम्बन्धी योजना अत्यन्तै सहायक सिद्ध हुन सक्छ ।
धरानको प्रस्तावित औद्योगिकग्रामको योजनाको गति अत्यन्तै सुस्त छ । यो प्रस्तावित योजना छिटो कार्यान्वयनमा आउन सक्यो भने धरानको विकासले गतिमात्र लिने होइन प्रस्तावित दमक औद्योगिक पार्क र सुनसरी मोरङ विशेष आर्थिक क्षेत्रको लागि समेत सहायक हुने छ र धरान उपमानगरपालिकाको समेत आम्दानीको थप स्रोत जुट्ने छ । प्रस्तावित औद्योगिकग्रामको लागि जग्गा उपलब्ध गराएर उपमहानगरपालिकाले अति सह्रानीय कार्य गरेको छ । यसले निजी लगानी र सीप विस्तारमा दुरगामी प्रभाव पार्ने छ ।
प्रोजेक्ट बैंकको स्थापना :
दिगो आर्थिक विकासको लागि धरान उपमहानगरपालिकाले आफ्नै कार्यालयमा प्रोजेक्ट बैंक को स्थापना गर्नु पर्छ । यस्तो द्यबलप मा धरानका लागि उपयुक्त आयोजनाहरुको अध्यन प्रतिवेदन तयार गरेर राख्न सकियो भने सम्भावित लगानीकर्तासमक्ष प्रस्तुत गरेर लगानीलाई आकर्षित गर्न सकिन्छ । तल केही योजनाहरुको विवरण दिइएको छ जसको प्रारम्भिक योजना प्रतिवेदन धरान उपमहानगरपालिकाले बनाउनु आवश्यक छ ।
(१) केबुलकार आयोजना
(२) मनोरञ्जन पार्क
(३) जडिबुटी प्रशोधन केन्द्र
(४) क्यानिङ एण्ड वेभरेज इण्डष्ट्रिज
(५) चिया र कफि उत्पादन र प्याकिङ
(६) डिहाइड्रेटेड भेजिटेवल यूनिट
(७) हस्तकला तथा कलात्मक सामग्रि
(८) लजिस्टिक पार्क
यदि धरान उपमहानगरपालिकाले प्रोजेक्ट बैंक स्थापना गर्न सक्यो भने कुनैपनि बेला धरान बाहिरका लगानीकर्ताकै सम्मेलन धरानमा गर्न सकिन्छ ।
चक्रपथको आयोजना :
धरानमा हाल उपलब्ध जग्गा अत्यन्तै साँगुरिएको छ र एकै ठाउँमा जनघनत्व पनि बढी छ । यदि नगरपालिकाले संघिय सरकार होस् वा प्रदेश सरकारको सहयोगमा चक्रपथको र सेउती र सर्दु खोलामा बाँध बाध्ने योजनालाई मूर्तरुप दिन सक्यो भने त्यो क्षेत्रमा आधारभूत सुविधा उपलब्ध गराउन सक्यो भने भविष्यमा उत्पादन आयोजनाहरुका लागि थप भौतिक सुविधा उपलब्ध हुन सक्नेछ । यसको समयबद्ध तालिका अनुसारको दीर्घकालिन योजनाको खाका तयार गर्नु पर्दछ ।
केन्द्रमा दबाब दिनुपर्ने :
केही प्रस्तावित आयोजनाहरु छन् जो केन्द्र सरकारको क्षेत्रमा छन् र धरानसँग सम्बन्धित पनि छन् । यस्ता आयोजनाहरु पूरा भएमा धरान नगरको दिगो आर्थिक विकास सम्भव छ ।
(१) जोगवनी किमाथाङ्का राजमार्ग ।
(२) मदन भण्डारी लोकमार्ग ।
(३) मध्यपहाडी लोकमार्ग ।
(४) बराहक्षेत्र बृहद विकास गुरुयोजना ।
(५) बर्दिबास काकडभिट्टा रेल्वे लाइन ।
(६) क्षेत्रीय विमानस्थल ।
निर्यात प्रवद्र्धन कार्यक्रम :
धरान बजारबाट रुद्राक्ष, अम्लेसो, जडिबुटी, फलफुल तथा तरकारी, अलैंची, चिरायतो, हर्दी, हस्तकलाका समान, सुनचाँदीका गहनाको धरानबाट निर्यातको प्रवल सम्भावना छ तर योजनाको अभावमा संस्थागत हुन सकेका छैन । धरान उपमहानगरपालिकाले यो कार्यको नेतृत्व लिन सक्छ । जसले भविष्यमा यो उपमहानगरपालिकालाई पूर्वाञ्चलको निर्यात केन्द्रको रुपमा विकसित गर्न सकिन्छ ।
आवासीय शहरको रुपमा विकास गर्नुपर्ने :
धरान शैक्षिक स्तरमा उच्च शिक्षाको, स्वास्थ उपचार केन्द्र रहेको र छिमेकी दुई शहरका प्रस्तावित औद्योगिक पार्कले गर्दा आवासीय शहर विकास हुन सक्ने प्रचूर सम्भावना छ । यस सम्बन्धमा अहिले देखि नै गृह कार्य शुरु गर्नुपर्ने आवश्यकता छ ।
दीर्घकालीन योजनाको खाका तयार गर्नुपर्ने :
धरान उपहानगरपालिकाले भावि अयोजनाहरुको सफल कार्यान्वयन गर्न र कार्यको सिलसिला आउने समस्याहरु सहज गर्न र योजनाको सही प्रतिफल प्राप्त गर्न राष्ट्रिय योजना आयोगका पूर्व पदाधिकारीहरुको सहयोगमा एउटा दीर्घकालीन योजनाको खाका तयार गर्नुपर्छ जसले प्राथमिकता र स्रोतको उपलब्धताको आधारमा दीर्घकालीन योजनाबद्ध तरिकाले लागू गर्न सकिन्छ । जुन हिसाबले विकासले गति लिन्छ, जनसंख्या र जनघनत्व वृद्धि हुँदै जान्छ । स्रोत तथा साधनहरु बढ्दै जान्छन्, आज पुग भएका ढल, खानेपानी सुविधा, विद्युत उपलब्धता, सडक सुविधा, बजार ब्यवस्थापन तथा अन्य आधारभूत तथा भौतिक संरचनाको थप आवश्वकता र अभाव महसुस हुँदै जान्छ । तसर्थ विकासका कार्यक्रमलाई निर्वाध गरिदिन यस्ता संसाधनसम्बन्धी दीर्घकालीन योजनाको खाका तयार गरी समयवद्ध तालिकाअनुसार काम गर्नु आवश्यक छ ।
विगतका प्रयासहरुको असर (सकारात्मक) :
धरान नगरपालिकामा हाल सम्पन्न भइरहेका वेष्ट इनर्जी आयोजना, खानेपानी आयोजना, स्मार्ट वसपार्क आयोजना अत्यन्तै सकारात्मक आयोजनाहरु हुन जसले भविष्यमा धरान नगरको भविष्यको आर्थिक विकासको मानचित्र कोर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
(१) विकास प्रति जनचेतनाको विकास ।
(२) सफाइ, पर्यावरण, प्राकृतिक सौन्दर्यबारे रुचि र संरक्षणमा दृढ सोचको विकास ।
(३) बेरोजगार युवकहरु स्वरोजगार तर्फ आकर्षित हुनु ।
(४) उद्यमशिलतामा अभिवृद्धि ।
(५) थोरै मात्रमा भए पनि लगानी अभिवृद्धि ।
योजना कार्यान्वयनमा उपमहानगरपालिकाका कमी कमजोरी :
धरान उपमहानगरपालिकाले दीर्घकालीन आर्थिक विकासका काममा निश्चय पनि राम्रो लगानी गरेको छ । पूर्वाधार विकास खर्चको प्रशंसा गर्नै पर्छ । तर कतिपय आयोजनामा कमी कमजोरी छ जसले आशातित प्रतिफल प्राप्त गर्न सकिएको छैन ।
(१) हालसम्मका प्रयासलाई समग्र आर्थिक विकाससँग जोड्न नसक्नु किनकि दीर्घकालीन परियोजनाहरु स्वास्थ, धार्मिक, संस्कृतिक धरोहर तथा शिक्षासँग जोड्ने प्रयास कमजोर छ ।
(२) प्रोत्साहित लगानी रेस्टुरेन्ट होटलमा बढी सीमित रहेको छ ।
(३) काम भन्दा पनि प्रचार प्रसारमा गतिविधी केन्द्रित छ ।
(४) कार्यक्रमहरु समाप्त भएपछि उपमहानगरले गरेको लगानीको पोष्ट अडिट गर्ने बानी छैन ।
(५) भ्रमणमा गएपछि बाहिरका अध्यन प्रतिवेदन तयार गर्न नसक्नु र छ भने सार्वजनिक नहुनु ।
(६) विजनेश प्रमोसनसम्बन्धी गतिविधी धरानभित्र नै प्रायजसो सीमित रहनु ।
(७) बाहिरका लागिकर्ता आकर्षित गर्ने प्रयास कम हुनु ।
(८) भगिनी सम्बन्धलाई व्यवसायिकरण गर्न नसक्नु ।
(९) छोटो र लामो दुरीको पर्यटकीय कोरिडोर स्थापना गर्न नसक्नु ।
(१०) धार्मिक पर्यटनलाई दृश्यावलोकन पर्यटन तर्फ आकर्षित गर्न नसक्नु ।
(११) विदेशी सवारी साधनलाई हेर्ने दृष्टिकोण संकुचित हुनु ।
निश्कर्ष :
धराने जनताको देशको शेयर बजारमा लगानी हेर्दा, ठूलो हाइड्रो प्रोजेक्ट, निजी विमान सेवा, वित्तीय संस्थाको लगानी हेर्दा र बैंक तथा अन्य वित्तीय संस्थामा रहेको निक्षेप हेर्दा वित्तीय साधन–स्रोत सम्पन्न शहर हो यो । कमी सिर्फ प्रोत्साहन तथा योजनाको अभाव मात्र छ । अहिले विश्व प्लानिङ स्ट्रेटेजी जस्ता वित्तीय श्रोत जुटाएर घोषित आयोजना कार्यान्व्यन गरिन्थ्योको ठाउँमा स्ट्रेटेजी प्लानिङमा प्रवेश गरेको छ । जसमा वित्तीय श्रोतको ब्यवस्थाको अलवा योजना कार्यान्वयनमा प्राथमिकता जिम्मेवारीको बाँडफाँड र पटक–पटक कार्य सम्पादन मूल्याङ्कनलाई आधार बनाएर कार्यक्रम तय गरिन्छ । वित्तीय स्रोतको मामिलामा पुँजी बजारले मेट्रो बोण्डको अवधारणा छिट्टै ल्याउने निश्चित छ । यो आएपछि उपमहानगरपालिकाले सही तथा नाफामूलक योजना छनौट गरेर आवश्यक परेमा यस्ता ऋणपत्रसमेत जारी गरेर वित्तीय स्रोत जुटाउन सक्छ । आशा छ, प्रजातन्त्रको प्रार्दुभावपछि धरान उपमहानगरपालिकाले गरेको यो चौथो संवादको श्रृङ्खलापछि दीर्घकालीन विकासका सम्बन्धमा ठोस कार्य गर्ने छ ।
(अग्रवालले धरान उपमहानगरको १२१ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्र)

प्रकाशित मिति: पुष २१ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend