बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका
बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा उपभोक्तालाई सही मूल्यमा गुणस्तरीय वस्तु र सेवा उपलब्ध गराउन धरान उपमहानगरपालिकाले नियमित बजार अनुगमन, जनगुनासो सम्बोधन र छड्के निगरानीलाई तीब्रता दिँदै आएको छ । विशेषगरी चाडपर्वहरू नजिकिँदै जाँदा बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि र गुणस्तरहीन वस्तुको बिगबिगी जस्ता समस्याहरू झन् विकराल रुपमा देखिने गर्छन् । यसको प्रभावकारी व्यवस्थापन र नियन्त्रणका निम्ति सर्वपक्षीय भूमिका र सहकार्य अत्यन्त महत्वपूर्ण हुन्छ ।
कानुनी व्यवस्था र उपभोक्ताका अधिकार
–नेपालको संविधान (धारा ४४): प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरिएको छ । गुणस्तरहीन वस्तु वा सेवाबाट कुनै पनि उपभोक्तालाई भौतिक, आर्थिक वा मानसिक क्षति पुगेको खण्डमा कानुनबमोजिम क्षतिपूर्ति पाउने हक यसले स्थापित गरेको छ ।
–उपभोक्ता संरक्षण ऐन, २०७५ः यस ऐनले उत्पादक, पैठारीकर्ता, बिक्रेता (भौतिक तथा अनलाइन) र उपभोक्ता सबैको दायित्व स्पष्ट पार्दै अधिकार, कर्तव्य र नियम उल्लङ्घन गर्दा हुने जरिवाना र कानुनी सजायको कडा व्यवस्था गरेको छ। यही ऐन अनुसार उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निरीक्षण अधिकृत तोकी तत्काल जरिवाना गर्ने व्यवस्था समेत रहेको छ ।

बजारका विद्यमान विकृति र केही ज्वलन्त उदाहरण
अनुगमन र गुनासाहरूको विश्लेषण गर्दा बजारमा थुप्रै गम्भीर प्रकृतिका ठगी हुने गरेका छन् । केही उदाहरणहरू यस प्रकार छन्ः
–म्याद गुज्रिएका वस्तुको पुनः लेबलिङः
चाडपर्वको मौका छोपेर बजारमा म्याद गुज्रिएका मिठाई, चकलेट, खानेतेल, र पेय पदार्थहरूमा नयाँ मिति टाँसेर वा पुरानो मिति मेटेर बिक्री गर्ने गरेको पाइन्छ ।
–तौलमा ठगीः
डिजिटल तराजुको सेटिङ बिगारेर वा ढक–तराजुको प्रमाणीकरण नगरी कम तौलका सामान भिराउने प्रवृत्ति अझै पूर्ण रुपमा हटेको छैन ।
–अखाद्य मिसावटः
चामलमा ढुङ्गा, प्लास्टिकको चामल मिसिने, खुल्ला मसला र बेसारमा रङ वा भुस मिसाउने जस्ता जनस्वास्थ्यमाथि गम्भीर खेलबाड हुने गरेका उदाहरणहरू प्रसस्तै छन् ।
–होम डेलिभरीमा ठगीः
हामीले सामान अर्डर गरेर होम डेलिभरी गर्दा कहिलेकाहीँ उनीहरूले कम तौल हालेर सामग्रीहरु उपलब्ध गराउने गरेको भेटिने गरिन्छ ।

डिजिटल बजार र उपभोक्ताका नयाँ चुनौती
आजको युगमा किनमेल केवल भौतिक पसलमा मात्र सीमित छैन । फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल र विभिन्न ई–कमर्स वेबसाइटमार्फत् हुने ‘अनलाइन सपिङ’ ले उपभोक्तालाई सुविधा त दिएको छ, तर सँगसँगै ठगीका नयाँ जोखिमहरू पनि भित्र्याएको छ ।
–भ्रामक विज्ञापन र डेलिभरीमा भिन्नताः
सामाजिक सञ्जालमा अत्यन्तै आकर्षक, ब्रान्डेड र उच्च गुणस्तरको सामान (जस्तैः लत्ताकपडा, इलेक्ट्रोनिक्स) देखाउने तर डेलिभरी हुँदा कमसल, च्यातिएको वा अर्कै सामान पठाउने प्रवृत्ति अनलाइन बजारको ठूलो समस्या हो।
–डिजिटल भुक्तानी र सम्पर्कविहीनताः
क्युआर कोड वा मोबाइल बैंकिङमार्फत् अग्रिम भुक्तानी लिइसकेपछि सामान नपठाउने, वा कमसल सामान फिर्ता गर्न खोज्दा ग्राहकलाई सामाजिक सञ्जालमा ‘ब्लक’ गरेर सम्पर्कविहीन हुने गरेका थुप्रै उजुरीहरू बढ्दै गएका छन् ।
–अनाधिकृत अनलाइन पसलः
दर्ता नै नभएका र कुनै भौतिक ठेगाना नभएका ‘फेक पेज’ हरूले अनलाइन बजारमा उपभोक्तालाई झुक्याइरहेका छन् ।
भौतिक तथा डिजिटल बजारमा जाँदा ध्यान दिनुपर्ने मुख्य कुराहरू
१. अनिवार्य बिलबिजकः
भौतिक पसल होस् वा अनलाइन, कुनै पनि सामान खरिद गर्दा भ्याट वा प्यान नम्बरसहितको आधिकारिक बिल लिनु उपभोक्ताको कानुनी अधिकार र बिक्रेताको दायित्व हो। डिजिटल भुक्तानी गर्दा त्यसको स्क्रिनसट वा डिजिटल रसिद सुरक्षित राख्नुपर्छ ।
२. लेबलिङ र भ्रामक विज्ञापनको जाँचः
प्याकिङ गरिएका सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, तौल, समिश्रण र उत्पादकको सम्पर्क ठेगाना अनिवार्य हेर्नुपर्छ । अनलाइनका भ्रामक र अतिरञ्जित विज्ञापनको पछाडि दौडिनु अगाडि विक्रेताको आधिकारिकता जाँच्नुपर्छ ।
३. तौल र गुणस्तरमा सजगताः सामान किन्दा वा अनलाइनबाट डेलिभरी बुझ्दा सुरुमै सामानको तौल, प्याकिङ र गुणस्तर ठीक छ कि छैन भनेर यकिन गरेर मात्र भुक्तानी गर्नुपर्छ ।
चाडपर्वमा कृत्रिम अभाव र भण्डारण
चाडपर्वका बेला बजारमा अभाव हुन्छ भन्ने गलत सूचना वा त्रासको पछि लागेर अत्याधिक भण्डारण गर्नु हुँदैन। यसले बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि निम्त्याउँछ । अर्कोतर्फ, घरमा धेरै सामान भण्डारण गर्दा म्याद गुज्रिएर खाद्यवस्तु नष्ट हुने र विषाक्त भई स्वास्थ्यमा समेत गम्भीर समस्या सिर्जना हुने जोखिम रहन्छ ।

सरोकारवालाको गहन भूमिका
–उत्पादक तथा व्यवसायी (अनलाइन विक्रेता समेत):
कालोबजारी नगर्ने, वस्तुको गुणस्तर र तौल कायम गर्ने, डिजिटल प्लेटफर्ममा सही विवरण मात्र राख्ने र स्वस्थ प्रतिस्पर्धा गर्ने ।
–भण्डारणकर्ताः
सुरक्षित, मापदण्डअनुरूप र व्यवस्थित रूपमा वस्तुको भण्डारण गर्ने । ‘फस्ट इन फस्ट आउट’ को विधि अपनाउने ।
–अनुगमनकर्ताः
धरान उपमहानगरपालिका तथा सरोकारवाला निकायले भौतिक बजारको मात्र नभई डिजिटल बजार र भ्रामक विज्ञापनहरूको समेत सुक्ष्म निगरानी र नियमित अनुगमन गरी बजारको स्वच्छता कायम गर्न कठोर कानुनी कदम चाल्ने ।

–सञ्चारकर्मीः
नागरिकहरूमा भौतिक तथा डिजिटल साक्षरता बढाउन र सही सूचना प्रवाह गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने। उपभोक्ता अधिकारका कानुनी प्रावधानबारे निरन्तर सचेतना जगाउने।
–उपभोक्ताः
खरिद गर्ने वस्तुको तौल, गुणस्तर र स्वच्छताप्रति सुरुमै जानकार रहने । भौतिक पसल वा अनलाइन बजारमा गलत गतिविधि, अखाद्य वस्तुको बिक्री वा ठगी भएको पाइएमा प्रमाणसहित तत्काल धरान उपमहानगरपालिकाको अनुगमन शाखा, उपभोक्ता मञ्च वा नजिकको प्रहरी प्रशासनमा खबर गर्ने ।
निष्कर्ष
हामी जो सुकै, जुनसुकै पेशामा आबद्ध भए पनि, वा कुनै एक वस्तुको व्यापारी छौं भने पनि अन्त्यमा हामी सबै हजारौँ वस्तुका उपभोक्ता हौं । तसर्थ, एकाधिकार, कालोबजारी, मिसावट र डिजिटल ठगीजस्ता अवाञ्छित एवं गम्भीर अपराधबाट बच्न व्यवसायी इमान्दार, अनुगमनकारी निकाय कठोर र उपभोक्ता आफैँ सचेत हुनैपर्छ । ‘हेरेर, बुझेर, आधिकारिकता जाँचेर र अनिवार्य बिल लिएर मात्र सामान खरिद गर्ने“ परिपाटीको विकास गरौं । सचेत र प्रविधिमैत्री उपभोक्ता नै धरानको सुशासित र स्वच्छ बजारको सबैभन्दा बलियो आधार हो । सुलभता, स्वच्छता र गुणस्तरीयता हाम्रो अन्तिम ध्येय हो ।
लेखकः धरान उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख हुन् ।