Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाले सिकिस्त शिक्षा क्षेत्र

हाम्रो कोशी आवाज
माघ ७ २०७८, शुक्रबार
कोरोनाले सिकिस्त शिक्षा क्षेत्र

धरानः पछिल्लो समय देशभर कोभिड–१९ संक्रमणको ग्राफ बढ्दै गएपछि फेरि शैक्षिक सत्र बिथोलिने देखिएको छ ।
सरकारले संक्रमणलाई चेनब्रेक गर्न भन्दै माघ १५ गतेसम्म देशभरका विद्यालयमा विदा दिने निर्णय गरिसकेको छ भने १५ देखि २० गतेसम्म मात्रै खोप दिनका लागि स्कुल खोल्ने निर्णय भएको छ ।

गत कात्तिक–मंसिर महिनामा कोभिड–१९ संक्रमण दर घटेपछि भौतिक उपस्थितिमा पठनपाठन भएको थियो । २०७८ सालको चालु शैक्षिक सत्र घटाएर असार १ गते सुरु भई चैत मसान्तसम्म कायम गरियो ।

यो समयमा सबै कोर्ष सकिने भएपछि ०७९ को शैक्षिक सत्र वैशाखबाटै सुरु गर्ने शिक्षा तथा मानवस्रोत विकास केन्द्रले निर्णय गरेको थियो तर, पुनः कोरोना संक्रमण फैलिएपछि लयमा फर्किँदै गएको पठनपाठन फेरि प्रभावित भएको छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले फेरि संक्रमण बढेकाले शैक्षिक क्षेत्रमा असर पुग्ने देखिएको बताए । उनका अनुसार अहिले तत्काल शैक्षिक सत्रबारे केही परिर्वतन गरिएको छैन । हिउँदे र बर्षे विदालाई व्यवस्थापन गरेर पनि वैशाखबाट नयाँ शैक्षिक सत्र थाल्ने योजना छ । शैक्षिक सत्रमा असर नपुरयाउन पहिला खोपको व्यवस्था गर्नुपर्ने निजी विद्यालय संगठनको जोड छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का सहअध्यक्ष डिके ढुंगाना सरकारले सबै विद्यार्थीलाई कोभिड–१९ बिरुद्धको खोप लगाएमा जोखिम कम हुने बताउँछन् ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि पहिलो पटक नेपालमा ०७६ चैत ११ गतेदेखि लकडाउन भएको थियो । त्यही सालबाट पहिला जस्तै शैक्षिक क्षेत्र चलायमान हुन सकेन । ०७७ सालमा वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुरयाइयो ।

२०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै व्यवस्थापन गरियो । यस अवधिमा सरकारले शिक्षण सिकाइ चलायमान राख्न वैकल्पिक माध्यमबाट पठनपाठन थाल्यो । रेडियो, टेलिभिजनका साथै इन्टरनेटबाट अनलाइन कक्षा चलाइयो । तर,पढाइ प्रभावकारी नभएको अभिभावक र विद्यार्थीहरु बताउँछन् ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक पौडेल कोरोना संक्रमणले भयावह स्थिति लिएमा पहिलेजस्तै वैकल्पिक विधिमै जानुपर्ने बताउँछन् । उनले भने,‘सकेसम्म भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने हो,महामारीले पहिलेजस्तै भयावह रुप लिएमा बन्द गरेर वैकल्पिक विधिमै जानुपर्छ, पहिला जस्तै अनलाइनबाटै शिक्षण सिकाइ गर्छौ ।’

संक्रमण बढ्दै गए माघ १५ पछि पनि विद्यालय बन्द हुने निश्चितजस्तै देखिन्छ । वैशाखमा नयाँ शैक्षिक सत्र थाल्ने वा नथाल्नेमा सरकार अझै अन्योलमै छ ।
कोभिड संक्रमण दर घटेपछि गत कात्तिक–मंसिरबाट देशभरका विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गरेका थिए । त्यसअघि वैकल्पिक विधिबाट पढाइ भए पनि प्रभावकारी नभएको अभिभावक र विद्यार्थी नै बताउँदै आए छन् ।
भौतिक उपस्थितिमा भएको अध्यापन ३ महिना बित्न नपाउँदै स्कुल कलेज फेरि बन्द भएका छन् । त्यसैले वैशाखसम्म सबै कोर्स सकिनेमा शंका उब्जिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीका अनुसार निजी विद्यालयमा करिब ६० प्रतिशत पाठ्यक्रम पढाइ सकिएको छ भने ४० प्रतिशत पढाउन बाँकी छ ।

‘एसइई वैशाखमै’
राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आगामी वैशाखमा सञ्चालन हुने जनाएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले चैतसम्म पढाइ हुने र भौतिक उपस्थितिमै वैशाखमा परीक्षा हुने बताए ।
शर्माले एसइई परीक्षा खारेज हुने भनी आएका हल्लाको पछि नलाग्न पनि आग्रह गरे। ‘एसइई परीक्षा पनि कहीं खारेज हुन्छ कुनै हालतमा हुँदैन,’ उनले भने, ‘मिडियाले त्यसै भनिरहेका छन् । यसको पछि कोही नलाग्नू, परीक्षा वैशाखमा हुन्छ, विद्यार्थीले परीक्षाको तयारी राख्नू ।’
उनका अनुसार चैतमा परीक्षा गर्ने बोर्डको तयारी थियो। तर, कोरोना कारण कोर्ष नसकिने भएपछि वैशाखमा सारिएको हो । ‘कोरोनाले पढाइमा असर परयो,’ अध्यक्ष शर्माले भने, ‘नभए त चैतमा गर्नुपर्ने थियो, अब चैतसम्म चाही पढाइ नै हुन्छ ।’

प्रकाशित मिति: माघ ७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend