Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यस वर्षको एसईई वैशाखमा गर्ने तयारी

हाम्रो कोशी आवाज
माघ ९ २०७८, आइतबार
यस वर्षको एसईई वैशाखमा गर्ने तयारी

धरानः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैशाखमा गर्ने गरी तयारी अघि बढाएको हो ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आगामी वैशाखको पहिलो साता परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिए । त्यसका लागि केही दिनमै परीक्षा तालिका सार्वजनिक गरिने उनको भनाई छ । ‘विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ,’ अध्यक्ष शर्माले भने, ‘वैशाखमा परीक्षा सञ्चालन गरे पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गर्नेछौँ ।’
यस वर्ष एसईई बोर्डले सञ्चालन गर्ने कि प्रदेश मातहत सञ्चालन हुने भन्ने अन्योल छ तर, बोर्डले भने परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा नबस्न आग्रह गरेको हो । सरकारले प्रत्येक वर्ष चैतमा एसईई परीक्षा सञ्चालन गर्दै आएको भएपनि विगत दुई वर्षदेखि कोरोना कहरको कारण एसईई परीक्षा नियमित सञ्चालन हुन सकेको छैन ।
चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्न लागेकाले पनि सो महिनामा एसईई सञ्चालन गर्न समस्या देखिएको हो । ‘शिक्षकको परीक्षाले सामान्य असर गर्न सक्छ तर त्योभन्दा पनि विद्यार्थीको पढाइ पूरा नभएको गुनासा आएकाले वैशाखमा परीक्षा सञ्चालन गर्न लागिएको हो,’ अध्यक्ष डा. शर्माले भने, ‘सुगम स्थानका विद्यार्थीले अनलाइनबाट पनि पठनपाठन गरे तर दुर्गमका र अनलाइनको पहुँच नभएकाको कोर्स नसकिएको रिपोर्टिङ भएको छ । भदौबाट मात्र पढाइ राम्ररी सञ्चालन भएकाले उनीहरूले कोर्स सक्न पर्याप्त समय पाएका छैनन् ।’
व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले पनि एसईई परीक्षाको विषयमा शिक्षक, विद्यार्थी र अभिभावक भने अन्योलमा छन् ।

प्रकाशित मिति: माघ ९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend