Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फागुनबाट स्कुल लगाउने तयारी

हाम्रो कोशी आवाज
माघ २० २०७८, बिहिबार
फागुनबाट स्कुल लगाउने तयारी

धरानः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्।
प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका राज्यमन्त्री श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा खोप लगाउनेबित्तिकै विद्यालय खोल्ने गरी तयारी थालिने जानकारी दिँदै भने– ‘सबै तहको परीक्षा सञ्चालन गर्न पनि केही दिन भौतिक रूपमा विद्यालय खोल्नुपर्ने हुन्छ। त्यसैले केही दिन कक्षा सञ्चालन गर्नकै लागि पनि विद्यालय खोल्ने तयारी भइरहेको छ।’
उनले विद्यालय खोल्ने विषयमा आगामी साता सीसीएमसीसीको बैठक बसेर निर्णय गरिने बताए। उनका अनुसार कोभिड–१९ संक्रमितको संख्या उच्च दरमा पुगेमा परीक्षाको प्रणाली नै परिवर्तन गर्न सकिने तर त्यस बाहेकको अवस्थामा फागुनबाट विद्यालय खोल्ने तयारी भइरहेको छ। शिक्षा तथा मावनस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले माघको तेस्रो सातासम्ममा अधिकांश विद्यार्थीले दोस्रो मात्रा खोप लगाइसक्ने जानकारी दिए। उनले दुवै मात्रा खोप लगाइसकेपछि स्वास्थ्य मापदण्ड पूरा गरी माथिल्लो कक्षा सञ्चालन गर्ने तयारीमा रहेको बताए।
केन्द्रको तथ्यांकअनुसार यो महिनाभित्र करिब ४० लाख विद्यार्थीले दोस्रो मात्रा खोप लगाइसक्नेछन्। खोप लगाइसकेपछि फागुन र चैतको दोस्रो सातासम्ममा कक्षा सञ्चालन गरी वैशाखमा अन्तिममा परीक्षा लिने गरी तयारी भइरहेको छ। परीक्षा नजिकिँदै जाँदा सबै विद्यालयलाई भौतिक रूपमै कक्षा सञ्चालन गर्न दिन मन्त्रालय दबाबमा छ।
एक महिनादेखि विद्यालय बन्द भएको कारण स्थानीय तहले सञ्चालन गर्ने कक्षा ८ को परीक्षासमेत अन्योल भएको छ । मन्त्रालयले चैतको दोस्रो सातासम्म कक्षा सञ्चालन गरेर अन्तिम साताबाट वार्षिक परीक्षा लिनुपर्ने जनाउँदै सोहीअनुसार तयार गर्न केन्द्रलाई निर्देशन दिएको छ । सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा त्यसअघि नै परीक्षा सम्पन्न नगरे शैक्षिकसत्र फेरि अन्योलमा पर्ने देखिएको छ ।

प्रकाशित मिति: माघ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend