धरानः सरकारले चालू शैक्षिक सत्र चैत मसान्तमा सकेर २०७९ को नयाँ सत्र आगामी वैशाखमा थाल्ने तयारी गरेको छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले वैशाखमै नयाँ शैक्षिक सत्र थाल्ने सरकारको तयारी रहेको बताए ।
‘वैशाखबाट नै नयाँ शैक्षिक सत्र थाल्ने भन्ने निर्णय अहिलेसम्म फेरबदल भएको छैन, अझै पढाउने समय २ महिना छ, कोर्स नै नसकिने समस्या आए सरकारले केही सोच्ला नि,’ उनले भने ।
विद्यालय बन्द भएपनि अनलाइनबाट अध्यापन भइरहेकाले चैतसम्ममा पाठ्यक्रम सकिने उनको आशा छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहायक प्रवक्ता धनबहादुर श्रेष्ठले फागुन र चैत महिनाको शिक्षण र सिकाइ हेरेर निर्णय लिइने बताए ।
तर, चैतसम्म पूरै पाठ्यक्रम पढाएर नसकिने भएकाले वैशाख नभएर जेठमा नयाँ सत्र थाल्न शिक्षकहरूले सरकारलाई सुझाव दिएका छन् । कोरोनाका कारण गएको छठ पर्वपछि मात्र भौतिक उपस्थितिमा देशभरिका स्कुलमा अध्यापन भएको थियो । त्यसैले पनि पठनपाठनमा समस्या भएको छ ।
सरकारले ०७८ को चालू शैक्षिक सत्र असार १ देखि चैत मसान्तसम्म कायम गरेको थियो । तर, कोरोनाका कारण पठनपाठन प्रभावित भएको छ ।
बन्द विद्यालय फागुन १ गते फेरि खोलिँदैछ । तर, फागुनबाट कक्षा सञ्चालन गरेपनि कोर्स सक्न कठिन हुने शिक्षाविद्हरुले बताउँदै आएका छन् ।
विद्यालय बन्द भएका वेला सामुदायिकभन्दा निजी विद्यालयले अनलाइनबाट भए पनि पढाइरहेकै छन् । तर, त्यति गर्दा पनि निजीका शिक्षकलाई वैशाखसम्म कोर्स सक्न हम्मे हम्मे छ ।
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा भन्छन्, ‘राम्रो गरि पाठ्यक्रममा भएका विषयवस्तु पढाउनै परयो, परीक्षा गराउनै पर्छ, यसो गर्दा वैशाखसम्म सबै विद्यालयले कोर्स सक्न सक्दैनन्, विषयवस्तु समायोजन भएमात्र वैशाखबाट थाल्ने सम्भावना हुन्छ ।’
जेठको पहिलो वा दोस्रो साता नयाँ शैक्षिक सत्र थाल्नु राम्रो हुने सुझाव उनी सरकारलाई दिन्छन् । उनका अनुसार हालसम्म निजीमा ६०–७० प्रतिशत कोर्स सकिएको छ ।
‘अनलाइनबाट पढाए पनि त्यति प्रभावकारी छैन, एउटा कक्षामा पढ्दै गर्दा समय नभएर सबै विषयवस्तु विद्यार्थीलाई नबुझाइ अर्को कक्षामा प्रवेश गराउनुको के अर्थ,’ उनी भन्छन्, ‘त्यसैले केही समय ढिला होस् तर, राम्रोसँग कोर्स सकियोस् भन्ने मेरो सोचाइ हो ।’