धरानः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को सातौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पाण्डव हमाल र सुवास न्यौपाने चयन भएका छन् ।
हमाल र न्यौपानेले तीन वर्षे कार्यकालमा आधा आधा कार्यकाल चलाउने गरी उनीहरु अध्यक्षमा चयन भएका हुन् । बाँकेको नेपालगञ्जमा आइतबारबाट जारी सातौं राष्ट्रिय महाविधेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो । नेशनल प्याब्सनलाई एक बनाउन र एकताको सन्देश दिन सर्वसम्मत नेतृत्व चयन भएकोे हो । वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्प रहेको उनीहरुले बताएका छन् ।
यस्तै, उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायत अन्य पदमा पनि सर्वसम्मत भएको छ । यसैबीच दमकका जयबहादुर श्रेष्ठ प्रदेश १ बाट उपाध्यक्ष चयन भएका छन् भने धरानस्थित युरेका आवासीय माविका प्रिन्सिपल राजेन्द्र गुरुङ केन्द्रीय महासचिवमा चयन भएका छन् ।

