Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसईईमा दिन उमेर हद नलाग्ने

हाम्रो कोशी आवाज
फाल्गुन २५ २०७८, बुधबार
एसईईमा दिन उमेर हद नलाग्ने

धरानः माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सम्मिलित हुन अब उमेर हद नलाग्ने भएको छ ।
विगतमा कक्षा १० को वार्षिक परीक्षा अर्थात एसईईमा सम्मिलित हुन कम्तीमा १४ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कानुनमा विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा लिइने स्पष्ट उल्लेख भएको बताउँदै भने, ‘विगतमा कक्षा १० मा एसएलसी परीक्षा सञ्चालन गर्ने गरिएकोमा अब कक्षा १२ को परीक्षा एसएलसी हुने भनी स्पष्ट व्यवस्था छ । सोहीअनुरुप शिक्षा नियमावली (नवौं संशोधन) मा माध्यमिक उत्तीर्ण परीक्षा कक्षा १२ मा सञ्चालन हुने व्यवस्था गरिएको छ । त्यसैले विगतमा कक्षा १० मा लागू भएको उमेर हद अब एसईईमा रहँदैन ।’
गत वर्षसम्म पनि उमेर १४ वर्ष पूरा नभएसम्म एसईईमा सम्मिलित हुन धेरै विद्यार्थीलाई बाधा सिर्जना भएको थियो । यस वर्ष परीक्षा फाराम बुझ्न भनिएको छ । उनका अनुसार माध्यमिक उत्तीर्ण परीक्षा कक्षा १२ मा सरेकाले विगतको उमेर हदको प्रावधान स्वतः कक्षा १२ मा सर्छ । ‘कक्षा १२ को हदबन्दी कति राख्ने भन्ने शिक्षा ऐन निर्माण हुँदा तय हुनेछ तर औपचारिक व्यवस्था नहुञ्जेललाई नियमावलीकै प्रावधान कार्यान्वयनमा रहन्छ ।’
यसैबीच यस वर्षको परीक्षाका लागि पुनः केन्द्रबाट प्रश्नपत्र तयार गरिएको छ । शिक्षा मन्त्रालयले गत वर्ष एक पटकका लागि भनेर केन्द्रबाट नै प्रश्नपत्र तयार गरेको थियो । त्यो भनाइ औपचारिकतामा मात्र सीमित रहन पुगेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आफूहरुले प्रदेशलाई नै प्रश्नपत्र तयारीको जिम्मेवारी दिन चाहेको तर प्रदेश अनिच्छुक देखिएपछि आफूहरुले प्रश्नपत्र तयार गर्नुपरेको तर्क गरे ।

प्रकाशित मिति: फाल्गुन २५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend