धरानः सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।
वैशाखभित्र परीक्षा, नतिजा प्रकाशन तथा भर्नालगायतका प्रक्रिया सकेर जेठ १ गतेबाट पठनपाठन शुरु गरिने भएको हो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार नयाँ शैक्षिक सत्रका लागि आवश्यक तयारी थालिसकिएको छ । ‘भर्नालगायतका प्रक्रिया आगामी वैशाखमा सक्ने र पठनपाठन जेठ १ बाट थालेर २०७९ साल चैत मसान्तभित्र सक्ने निर्णय भएको छ,’ उनले भने, ‘पाठ्यपुस्तक व्यवस्थापनसहितका आवश्यक तयारी थालिसकिएको छ ।’
जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले चैत मसान्तसम्म पठनपाठन सक्नुपर्नेछ । उनका अनुसार परिस्थिति सहज बनेकाले यस पटकको नयाँ भर्ना अभियान भौतिक उपस्थितिमै हुने छ । ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ, पहिलाजस्तो नारा जुलुस चाहिँ नगर्न भनेका छौँ,’ उनले भने ।
कोरोना संक्रमणअघि वैशाख १ गते नारा जुलुस नै गरेर सरकारले नयाँ भर्ना अभियान सञ्चालन गर्ने गरेको थियो ।