धरानः इटहरीको मुख्य चौरस्ता गोलो चोकमा पुग्ने वत्तिकै सबैको ध्यान त्यहाँ बनेको नयाँ आकृतिमा जान्छ । ट्राफिक लाइटमा रोकिएका हर कोही व्यक्तिको आँखा त्यही आकृतिमै पुग्छ । आकृति हेरेपछि सबैको मनमा प्रश्न उब्जिन्छ ।
यी चार जना मानिस को हुन् ? यीनीहरुले के बोकेका हुन ? उत्तर सोच्दा सोच्दै रेड सिग्नल ग्रिन हुन्छ मानिस गन्तव्यमा हुइकिन्छन् । प्रश्न बाँकी नै रह्यो । सामाजिक सञ्जाल फेसबुकका सेल्फी । टिकटकमा यही आकृतीको भिडियो भाइरल भइरहेको छ । यहाँ पनि प्रश्न बाँकी नै छ ।
तपाईहरुमध्ये धेरैलाई यस्तै कौतुहल भइरहेको होला । सबैतिर चर्चा भइरहेको चौरस्ता गोलो चौकको आकृति के हो ? ती मानिस को हुन् ? उनीहरुले बोकेको के हो ? अनि, यसले बुझाउन खोजेको म्यासेज के हो ?
मुख्य गोलो चौकमा चार सुरमा उभिएका हिमाल, पहाड र तराईमा बसोबास गर्ने मानिस हुन् । हिमालमा बस्ने शेर्पा अथवा समग्र मंगोल जाति । पहाडमा बस्ने आर्यन समुदाय । तराईमा बस्ने आदिवासी र मधेशी समुदाय । अनि इटहरीका प्रथम जाति थारु समुदायको प्रतिनिधिमूलकरुपमा चार जना मानिसलाई बिम्वात्मकरुपमा देखाइएको हो ।
यी मानिसहरुले बोकेको आकृति ‘तुरुङ’ हो । जसलाई थारु भाषामा इट हरी भनिन्छ । उहिल्यै यहाँका दरोगा नरसिंह चौधरीले अपराधीलाई सजाय दिन यस्तो ‘तुरुङ’ बनाएका थिए । तल पट्टि इटाले बनाइएको, बीचमा प्वाँल राखी माथि काठले बनाइएको ‘तुरुङ’ अर्थात हरी, सजाय दिने उपकरण । जसलाई थारुहरुले आफ्नो भाषामा इट र हरि भन्थे । पछि यहि इट हरी बोलीचालीमा इटहरी भएको हो ।
हिमाल पहाड र तराईमा बसेका मानिसहरुले इट हरी बोकेका हुन् । अर्थात इटहरी बोकेका हुन् । समग्रमा यो आकृतिले इटहरीको पहिचान देखाउन र बुझाउन खोजेको हो ।
‘यो आकृतिले इटहरीको नामकरण, पहिचान, भूगोल, बसोबास र पुरातात्विक कुरा दर्शाउन खोजेको छ । यसको मुख्य ‘थिम’ पनि यही हो । ’ कलाकृतिको कन्सेप्ट तथा डिजाइन तयार गरेका कलाकार अभिषेक तिम्सिनाले बताए । कलाकार अभिषेककै नेतृत्वको ८ जना कलाकारको टिमले यो कलाकृति निर्माण गरिएको हो । फाइबर ग्लासले बनेका यी कलाकृति कम्ती पनि ७० वर्ष टिक्ने अभिषेक बताउँछन् ।
माथिको आकृतिलाई सौन्दर्यकरण गर्न तल गोलो वरिपरी हाँसका गमला बनाइएका छन् । त्यसमा सुन्दर फूलहरुको गार्डेन निर्माण गरिने छ । हाँस तराईमा हुने पंक्षी हो । त्यसैले हाँसको गमला बनायौँ, यसबाट पनि केही सन्देश दिन खोजिएको छ, कलाकार अभिषेकले बताए ।
वरीपरी ८ वटा नोजल जडान गरिएका छन् । जहाँबाट पानीको फोहोराले थप सुन्दरता थप्नेछ, अभिषेकले योजना सुनाए । चार सुरका खम्बामा लाइट जडान गरिएको छ । जहाँबाट रातको समयमा विभिन्न रंगका लाइटले उभिएका कलाकृतीलाई थप रंगिन, आकर्षक अनि कलात्मक देखाउने अभिषेकले बताए ।
हिमाल पहाड र तराईका समावेशी नेपालीले बोकेको इट हरी । सेता हाँसका गमलामा फूलेको फूल । पानीको फोहोरलाई रप्तरंगी लाइटको प्रकाशले इटहरीको मुख्य चौक हेर्दै आकर्षक र कलात्मक देखिनेछ अभिषेकले पूर्ण चित्रको व्याख्या सुनाए ।
अहिले मानिसहरुको ध्यान मुख्यरुपमा तुरुङमा गएको छ । माथिबाट हेर्दा यो जिजसलाई झुण्डियाइएको क्रुस जस्तो देखियो भन्न थालेका छन् । माथि अग्लो ठाउँबाट हेर्दा लामो, अलि भत्ता र क्रुस जस्तो देखिँदा यसको वास्तविक अर्थ गौण भएर अर्कै अर्थ बुझ्न थालेको कतिपयको आरोप छ ।


आरोपहरु सुनिरहेका कलाकार अभिषेक त्यस्तो नभएको बताउँछन् । यहाँ केही भ्रम पर्न र पार्न खोजिएको छ । उनले यसको अर्थ बुझाए । यहाँ मुख्य ३ कुरा बुझ्नुपर्छ । क्रुस, प्लस र क्रस । क्रुसको आकार प्लस भन्दा माथिबाट काटिएको हुन्छ । सेन्टर भन्दा माथि । प्लस जो रेडक्रसले प्रयोग गर्छ, यसको सेन्टरबाट काटिएको हुन्छ । र अर्को रह्यो क्रस अर्थात एक अर्कामा काटिएका हुन्छन् । अभिषेकले स्पष्ट पार्दै भने यो आकृति प्लसमा छ । क्रुस हुनै सक्दैन । क्रुस हुन सेन्टर भन्दा माथि काटिनुपर्छ, यो प्लसमा छ ।
केही लामो जस्तो देखिँदा मानिसलाई त्यस्तो भ्रम पर्न गएको हो । अर्को तर्फ यहाँ तुरुङको प्वाँल धरै देखिएर पनि त्यस्तो पर्न गएको हुन सक्छ उनले भने यसलाई प्राविधिक रुपमा मिलाउने काम गर्दैछौं र कलर पनि चेन्ज गर्दै छौं ।
खासमा यहाँ स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने चर्चा थियो । वीरेन्द्रकै सालिक राख्ने मेयर हेमकर्ण पौडेल स्वयंले बताएका थिए । तर अहिले विरेन्द्रको सालिक हैन इट हरी बन्यो ।
कसरी यस्तो भयो ? अभिषेक मुस्कुराए । खास कुरा भनौ है हाँस्दै अभिषेकले भित्री कुरा खोले । सुरुमा यहाँ वीरेन्द्रकै सालिक राख्न हामीलाई भनिएको थियो । हामी तयारी पनि थियौं ।
राजाको सालिक राख्ने भनेपछि राजावादी हौसिए । सालिक ढाल्नेहरु तर्सिए । सालिक राख्ने पनि यहीँ छन् । सालिक ढाल्नेहरु पनि यहीँ छन् ।
वीरेन्द्रको सालिक राख्ने कुराले ढाल्नेहरुलाई चोट पुग्यो । अहिले सालिक ढाल्नेहरु शक्ति र सत्तामा छन् ।
यो विषय राजनीतिक विषय बन्यो । राजनीतिकरण गरियो । राख्नु पर्छ र राख्नु हुँदैन भन्दै आन्दोलन हुन थाल्यो । सामाजिक सञ्जालदेखि सडकसम्मै समर्थन र विरोध पोखिए ।
द्वन्द्व बढ्न सक्ने देखेपछि नवनिर्वाचित मेयर हेमकर्णले विकल्पको खोजी गरे । विकल्प खोज्दा इटहरीकै पहिचान राखौं भन्ने सहमति भयो । सोही अनुसार अहिलेको कलाकृति बनेको हो । अभिषेकले वास्तविकता सुनाए ।
वीरेन्द्र चौक भन्दै आएका इटहरीबासीले अब मुख्य गोलो चौकलाई इटहरी चौक भन्नेछन् । वीरेन्द्र चौक भन्न थालिएको पनि धेरै भएको छैन । वीरेन्द्रको पूर्ण कदको सालिक राखेपछि नै यो चौकको नामकरण भएको हो वीरेन्द्र चौक ।
इटहरीका कलाप्रेमी राजावादीे नेता रामकुमार सुब्बाको अगुवाईमा वीरेन्द्रको सालिक स्थापना भएको थियो । वीरेन्द्रको सालिक तत्कालीन रानी ऐश्वर्याले उद्घान गरेकी थिइन् । तर वि.स. २०६२–०६३ सालको दोस्रो जनआन्दोलनमा सालिक ढालियो ।
हुन त वीरेन्द्रको सालिक साल अघि यहाँ कुनै चौक थिएन । घरहरु थिएनन् । अहिले चौक भएको स्थान देखी उत्तरतर्फ महेश्वर सुब्बाको काठको ठूलो घर थियो । बस्ती बढ्दै गएपछि यहाँ चौक बनेको हो । नामविहीन भएको समयमा वीरेन्द्रको सालिक राखेसँगै चौकको नामकरण पनि भएको थियो ।
०६२–०६३ को जनआन्दोलनले वीरेन्द्रको सालिक ढालेपछि यो चौक फोहोर र कुरुप बनेको थियो । हेमकर्ण मेयरमा निर्वाचित भएर आएसँगै इटहरी चौकको सौन्र्दयकरण गर्ने योजना शुरु भएको थियो । सोही योजनाअनुसार वीरन्द्र चौक अब इट हरी अर्थात इटहरी चौक बनेको हो ।