Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरी चौकमा बनाइयो ‘तुरुङ’

हाम्रो कोशी आवाज
कार्तिक १६ २०७९, बुधबार
इटहरी चौकमा बनाइयो ‘तुरुङ’

धरानः इटहरीको मुख्य चौरस्ता गोलो चोकमा पुग्ने वत्तिकै सबैको ध्यान त्यहाँ बनेको नयाँ आकृतिमा जान्छ । ट्राफिक लाइटमा रोकिएका हर कोही व्यक्तिको आँखा त्यही आकृतिमै पुग्छ । आकृति हेरेपछि सबैको मनमा प्रश्न उब्जिन्छ ।
यी चार जना मानिस को हुन् ? यीनीहरुले के बोकेका हुन ? उत्तर सोच्दा सोच्दै रेड सिग्नल ग्रिन हुन्छ मानिस गन्तव्यमा हुइकिन्छन् । प्रश्न बाँकी नै रह्यो । सामाजिक सञ्जाल फेसबुकका सेल्फी । टिकटकमा यही आकृतीको भिडियो भाइरल भइरहेको छ । यहाँ पनि प्रश्न बाँकी नै छ ।
तपाईहरुमध्ये धेरैलाई यस्तै कौतुहल भइरहेको होला । सबैतिर चर्चा भइरहेको चौरस्ता गोलो चौकको आकृति के हो ? ती मानिस को हुन् ? उनीहरुले बोकेको के हो ? अनि, यसले बुझाउन खोजेको म्यासेज के हो ?
मुख्य गोलो चौकमा चार सुरमा उभिएका हिमाल, पहाड र तराईमा बसोबास गर्ने मानिस हुन् । हिमालमा बस्ने शेर्पा अथवा समग्र मंगोल जाति । पहाडमा बस्ने आर्यन समुदाय । तराईमा बस्ने आदिवासी र मधेशी समुदाय । अनि इटहरीका प्रथम जाति थारु समुदायको प्रतिनिधिमूलकरुपमा चार जना मानिसलाई बिम्वात्मकरुपमा देखाइएको हो ।
यी मानिसहरुले बोकेको आकृति ‘तुरुङ’ हो । जसलाई थारु भाषामा इट हरी भनिन्छ । उहिल्यै यहाँका दरोगा नरसिंह चौधरीले अपराधीलाई सजाय दिन यस्तो ‘तुरुङ’ बनाएका थिए । तल पट्टि इटाले बनाइएको, बीचमा प्वाँल राखी माथि काठले बनाइएको ‘तुरुङ’ अर्थात हरी, सजाय दिने उपकरण । जसलाई थारुहरुले आफ्नो भाषामा इट र हरि भन्थे । पछि यहि इट हरी बोलीचालीमा इटहरी भएको हो ।
हिमाल पहाड र तराईमा बसेका मानिसहरुले इट हरी बोकेका हुन् । अर्थात इटहरी बोकेका हुन् । समग्रमा यो आकृतिले इटहरीको पहिचान देखाउन र बुझाउन खोजेको हो ।
‘यो आकृतिले इटहरीको नामकरण, पहिचान, भूगोल, बसोबास र पुरातात्विक कुरा दर्शाउन खोजेको छ । यसको मुख्य ‘थिम’ पनि यही हो । ’ कलाकृतिको कन्सेप्ट तथा डिजाइन तयार गरेका कलाकार अभिषेक तिम्सिनाले बताए । कलाकार अभिषेककै नेतृत्वको ८ जना कलाकारको टिमले यो कलाकृति निर्माण गरिएको हो । फाइबर ग्लासले बनेका यी कलाकृति कम्ती पनि ७० वर्ष टिक्ने अभिषेक बताउँछन् ।
माथिको आकृतिलाई सौन्दर्यकरण गर्न तल गोलो वरिपरी हाँसका गमला बनाइएका छन् । त्यसमा सुन्दर फूलहरुको गार्डेन निर्माण गरिने छ । हाँस तराईमा हुने पंक्षी हो । त्यसैले हाँसको गमला बनायौँ, यसबाट पनि केही सन्देश दिन खोजिएको छ, कलाकार अभिषेकले बताए ।
वरीपरी ८ वटा नोजल जडान गरिएका छन् । जहाँबाट पानीको फोहोराले थप सुन्दरता थप्नेछ, अभिषेकले योजना सुनाए । चार सुरका खम्बामा लाइट जडान गरिएको छ । जहाँबाट रातको समयमा विभिन्न रंगका लाइटले उभिएका कलाकृतीलाई थप रंगिन, आकर्षक अनि कलात्मक देखाउने अभिषेकले बताए ।
हिमाल पहाड र तराईका समावेशी नेपालीले बोकेको इट हरी । सेता हाँसका गमलामा फूलेको फूल । पानीको फोहोरलाई रप्तरंगी लाइटको प्रकाशले इटहरीको मुख्य चौक हेर्दै आकर्षक र कलात्मक देखिनेछ अभिषेकले पूर्ण चित्रको व्याख्या सुनाए ।
अहिले मानिसहरुको ध्यान मुख्यरुपमा तुरुङमा गएको छ । माथिबाट हेर्दा यो जिजसलाई झुण्डियाइएको क्रुस जस्तो देखियो भन्न थालेका छन् । माथि अग्लो ठाउँबाट हेर्दा लामो, अलि भत्ता र क्रुस जस्तो देखिँदा यसको वास्तविक अर्थ गौण भएर अर्कै अर्थ बुझ्न थालेको कतिपयको आरोप छ ।

आरोपहरु सुनिरहेका कलाकार अभिषेक त्यस्तो नभएको बताउँछन् । यहाँ केही भ्रम पर्न र पार्न खोजिएको छ । उनले यसको अर्थ बुझाए । यहाँ मुख्य ३ कुरा बुझ्नुपर्छ । क्रुस, प्लस र क्रस । क्रुसको आकार प्लस भन्दा माथिबाट काटिएको हुन्छ । सेन्टर भन्दा माथि । प्लस जो रेडक्रसले प्रयोग गर्छ, यसको सेन्टरबाट काटिएको हुन्छ । र अर्को रह्यो क्रस अर्थात एक अर्कामा काटिएका हुन्छन् । अभिषेकले स्पष्ट पार्दै भने यो आकृति प्लसमा छ । क्रुस हुनै सक्दैन । क्रुस हुन सेन्टर भन्दा माथि काटिनुपर्छ, यो प्लसमा छ ।
केही लामो जस्तो देखिँदा मानिसलाई त्यस्तो भ्रम पर्न गएको हो । अर्को तर्फ यहाँ तुरुङको प्वाँल धरै देखिएर पनि त्यस्तो पर्न गएको हुन सक्छ उनले भने यसलाई प्राविधिक रुपमा मिलाउने काम गर्दैछौं र कलर पनि चेन्ज गर्दै छौं ।
खासमा यहाँ स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने चर्चा थियो । वीरेन्द्रकै सालिक राख्ने मेयर हेमकर्ण पौडेल स्वयंले बताएका थिए । तर अहिले विरेन्द्रको सालिक हैन इट हरी बन्यो ।
कसरी यस्तो भयो ? अभिषेक मुस्कुराए । खास कुरा भनौ है हाँस्दै अभिषेकले भित्री कुरा खोले । सुरुमा यहाँ वीरेन्द्रकै सालिक राख्न हामीलाई भनिएको थियो । हामी तयारी पनि थियौं ।
राजाको सालिक राख्ने भनेपछि राजावादी हौसिए । सालिक ढाल्नेहरु तर्सिए । सालिक राख्ने पनि यहीँ छन् । सालिक ढाल्नेहरु पनि यहीँ छन् ।
वीरेन्द्रको सालिक राख्ने कुराले ढाल्नेहरुलाई चोट पुग्यो । अहिले सालिक ढाल्नेहरु शक्ति र सत्तामा छन् ।
यो विषय राजनीतिक विषय बन्यो । राजनीतिकरण गरियो । राख्नु पर्छ र राख्नु हुँदैन भन्दै आन्दोलन हुन थाल्यो । सामाजिक सञ्जालदेखि सडकसम्मै समर्थन र विरोध पोखिए ।
द्वन्द्व बढ्न सक्ने देखेपछि नवनिर्वाचित मेयर हेमकर्णले विकल्पको खोजी गरे । विकल्प खोज्दा इटहरीकै पहिचान राखौं भन्ने सहमति भयो । सोही अनुसार अहिलेको कलाकृति बनेको हो । अभिषेकले वास्तविकता सुनाए ।
वीरेन्द्र चौक भन्दै आएका इटहरीबासीले अब मुख्य गोलो चौकलाई इटहरी चौक भन्नेछन् । वीरेन्द्र चौक भन्न थालिएको पनि धेरै भएको छैन । वीरेन्द्रको पूर्ण कदको सालिक राखेपछि नै यो चौकको नामकरण भएको हो वीरेन्द्र चौक ।
इटहरीका कलाप्रेमी राजावादीे नेता रामकुमार सुब्बाको अगुवाईमा वीरेन्द्रको सालिक स्थापना भएको थियो । वीरेन्द्रको सालिक तत्कालीन रानी ऐश्वर्याले उद्घान गरेकी थिइन् । तर वि.स. २०६२–०६३ सालको दोस्रो जनआन्दोलनमा सालिक ढालियो ।
हुन त वीरेन्द्रको सालिक साल अघि यहाँ कुनै चौक थिएन । घरहरु थिएनन् । अहिले चौक भएको स्थान देखी उत्तरतर्फ महेश्वर सुब्बाको काठको ठूलो घर थियो । बस्ती बढ्दै गएपछि यहाँ चौक बनेको हो । नामविहीन भएको समयमा वीरेन्द्रको सालिक राखेसँगै चौकको नामकरण पनि भएको थियो ।
०६२–०६३ को जनआन्दोलनले वीरेन्द्रको सालिक ढालेपछि यो चौक फोहोर र कुरुप बनेको थियो । हेमकर्ण मेयरमा निर्वाचित भएर आएसँगै इटहरी चौकको सौन्र्दयकरण गर्ने योजना शुरु भएको थियो । सोही योजनाअनुसार वीरन्द्र चौक अब इट हरी अर्थात इटहरी चौक बनेको हो ।

प्रकाशित मिति: कार्तिक १६ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend