लक्ष्मण थापा
धरानः सुनसरीका उद्योगी–व्यावसायीहरुले व्यापारीहरु पलायन हुने अवस्था सिर्जना भएको बताएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघ धरानले बुधबार संघको सभाहलमा आयोजना गरेको दशैं–तिहार तथा छैठ पर्वको शुभकामना तथा चाडपर्व लक्षित सुरक्षा चुनौतिका विषयमा आयोजिक कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा नेपालीहरुको चाड दशैं भित्रिसक्दा पनि व्यापारीहरुको व्यापार व्यवसाय डामाडोल भएको बताए । अधिकांश व्यवसायीहरुले ब्यवसायिक प्रहरी प्रशासनले अनाहकमा व्यवसायीलाई दुःख दिएको, बैंकको व्याजदरले व्यवसायी उठ्नै नसक्ने अवस्था भएको बताए । उनीहरुले निर्धक्कसँग व्यापार गर्ने वातावरण बनाइदिन माग समेत गरे ।
सुनसरी जिल्लाका सुरक्षा प्रमुख, प्रहरी प्रमुख, ट्राफिक प्रहरी, स्थानीय सरकारका प्रतिनिधि र कर कार्यालयका प्रमुख लगायतको उपस्थिति रहेको कार्यक्रममा उनीहरुले व्यवसायिक सुरक्षा मागे । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले कोरोनाले थलिएको व्यवसाय पछिल्लो डेंगु संक्रमण हुँदै इजरायलमा आक्रमणलगायतका कुराले व्यवसाय धरापमा परेको बताए । उनले वैंकको चर्को व्याजदर, व्यवसायीलाई अनुगममनका नाममा दुःख दिने लगायतका कुराहरु गर्ने गरेकोले पनि व्यवसायीहरु विस्थापित हुनुपरेको गुनासो पोखे ।
कार्यक्रममाा यातायात व्यावसायी तथा उधोग वाणिज्य संघ सुनसरी धरानका पूर्व अध्यक्ष सरोज श्रेष्ठ, पूर्व अध्यक्ष गिरीधारी सापकोटा, व्यवसायी जयप्रकाश शर्माले समेत आ–आफ्नो गुनासो पोखेका थिए । पूर्व अध्यक्ष श्रेष्ठले धार्मिक अफवाहले पनि पनि व्यापार व्यवसाय हुन नसकेको बताए ।
राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले आयात बढी हुने मुलुक नेपालमा निर्यात कम हुने भएकोले आर्थिक मन्दीले खासै नछुने बताए । उनले भने, ‘नेपाल आयात गर्ने देश हो, निर्यात हुँदैन, आर्थिक मन्दी हुनुको प्रमुख कारण अनप्रडक्टिक क्षेत्रमा लगानी गरेर हो, सबैले घर जग्गामा लगानी गर्दा रकम फसेर चलायन नभएकै कारण अहिले बजारमा आर्थिक मन्दी बढेको हो ।’
शुभकामना तथा छलफल कार्यक्रममा व्यवसायीहरुका कुरा सुनिसकेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपीन रेग्मीले नागरिकको सुरक्षाको लागि प्रहरी सधै तदारुकताका साथ अगाडि आउने बताए । उनले व्यवसायको गुनासोलाई मध्यनजर गरी काम गर्ने बताए । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले व्यवसायले उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गरेको कुरा धेरै आउने भएकोले यस्ता व्यवसायीलाई कानुन अनुसार कारबाही गर्नुपर्ने बताइन् ।
कार्यक्रममा राजनीतिक दलका तर्फबाट जसपा धरानका अध्यक्ष ताजुब लिम्बू, सुनसरीका प्रदेश सांसद रमेश बस्नेतलगायतले समेत बोलेका थिए ।
तस्वीरहरूः लक्ष्मण थापा










