धरानः धरानमा नेवारी समुदायहरूले सामूहिकरुपमा गाईजात्रा (सापारू) निकालेका छन् । मङ्गलबार धरानमा गाईजात्रा निकालिएको हो ।
धरान-७ स्थित सिद्धिनेवाः परिषद्को भवनबाट शुरु भएको रयाली भानुचोक, छाताचोक, पुरानो बजार हुँदै पुनः परिषद्मै आएर टुङगिएको थियो । कतिपयले मृतकहरूको सम्झनामा गाईको भेषधारण गरी पनि गाईजात्रा निकालेका थिए । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गरेका छन् ।
धरानमा २०५२ सालदेखि यस्तो जात्रा निकाल्न थालिएको हो । यस वर्षमा मृतकहरूको सम्झनामा ३५ वटा भन्दा बढी गाईहरू निकालिएको गाईजात्रा संयोजक महेशकुमार प्रधानले जानकारी दिए ।
विशेषतः भाद्रकृष्ण प्रतिपदाका दिनदेखि भाद्रकृष्ण अष्टमीसम्म यो पर्व मनाइने गरिन्छ । मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाईजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरूको तस्वीरका साथै पुतलाहरू बनाएर आ–आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ । यसरी नगर परिक्रमा गर्नाले दिवङ्गत आत्माले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईकै रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू मुक्त हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल भएको रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिनको लागि गाई जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ । यिनै राजा प्रताप मल्लले जो जसका घरमा मानिस मरेका छन्, ती घरबाट गाई ल्याउनू भनेर उर्दी दिएकाले आशौच परेका घरबाट गाई शृङ्गार गरेर हनुमानढोका दरबारमा उपस्थित गराउने चलनअनुसार यो पर्व मनाउँदै आइएको छ ।
धरान नेवार जातिको उल्लेखनीय जनसंख्या रहेको क्षेत्र हो । यहाँ मल्लकालीन नेवारी सस्ंकृति, भक्तपुरे गाईजात्रा संस्कृति र मौलिकतालाई यहाँका नेवार समुदायले अनुसरण गर्दै आएका छन् ।
धरानलगायतका आसपासका क्षेत्रहरुमा नेवार समुदायका परिवारले गाई र मानिसलाई शृङ्गार गरी नगर परिक्रमा गराउँछन् । जात्रामा सहभागी केहीले जात्राको पोसाकका मुकुण्डो लगाई विभिन्न वाद्यवादन सामग्री बजाउँदै नाच प्रदर्शन गरी नगर परिक्रमा गर्दछन् । परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दही–चिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने प्रचलन रहेको छ ।
विशेष गरी काठमाडौं, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा पूर्वका भोजपुर, चैनपुरसहित धरानमा समेत मनाइँदै आएको छ ।
‘क्वाँती पूर्णिमा’को उपमा दिइने यस जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि तिथिले आज नै परेको बताइन्छ । जनैपूर्णिमा र गाईजात्राको दुई दिन भने क्वाँती खाने चलन रहँदै आएको छ ।




























