धरानः धरान–३ मा धारिलो हतियार प्रहार गरी १४ वर्षीया किशोरीको हत्या भएको छ ।
धरान–३ माछाभौडीमा यस्तो घटना घटेको हो । धारिलो हतियार प्रहारबाट घाइते बनेकी सिर्जना राईकी छोरी १४ वर्षीया युनिषा खड्गी (शाही) को धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुरयाइएको र चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
आमा सिर्जनाको उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भाग्दाभाग्दै पक्राउ परेका छन् । स्थानीयका अनुसार भाग्दै गर्दा ३३ वर्षीय बबिन बराललाई समातेर प्रहरीको जिम्मा लगाइएको धरान–३ का वडा सदस्य मिङमा भोटेले जानकारी दिए ।
श्रीपथस्थित ‘युनिसा मोबाइल सेन्टर’ नामक पसलमा काम गरिरहेको समयमा बबिन प्रवेश गरी एक्कासी अन्धाधुन्ध धारिलो हतियार प्रहार गर्न थालेको प्रहरीले जनाएको छ । सिर्जनालाई धारिलो हतियार प्रहार गर्न थालेपछि उनकी छोरी छुट्याउन पुगेकी थिइन् । त्यतिबेलै उनले दुवैजनालाई धारिलो हतियार प्रहार गरी भागेका थिए, भाग्दै गर्दा उनी स्थानीयको सहयोगमा पक्राउ परेका हुन् । बराल सिर्जनाको ज्वाइँ पर्ने हुन् ।
व्यक्तिगत रिसइवीको कारण घटना घटेको हुनसक्ने प्रहरीको अनुमान छ । यसअघि नै सिर्जनाको बहिनी र बबिनबीच पारिवारिक फाटो हुँदै आएको र सिर्जनाकै घरमा बहिनी आएर बस्दै आएको खुलेको छ । ‘यसअघि नै ती युवा सिर्जनाको घरमै अभद्र व्यवहार गर्न थालेपछि एकरात इलाका प्रहरी कार्यालयमा राखेर छलफल पनि गराइएको थियो’, वडा सदस्य भोटे भन्छन् ।
घटनाको प्रकृति गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी काठमाडौंमा बस्दै आएको र उनी काठमाडौंदेखि नै आएर धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले भने थप अनुसन्धानलाई तीब्रता दिइएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।