धरानः विगत केहीदिनदेखि उखरमाउलो गर्मी छ । सोमबार पनि अत्याधिक गर्मी भयो । तराईका सबैजसो जिल्लामा रहेका सबैजसो मापन केन्द्रहरूले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा धेरै देखाएका छन् ।
केही दिनदेखि मनसुन न्यून चापीय रेखा दक्षिणतिर सर्दा पानी नपरेकाले तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताएका छन् ।
सामान्यतया असोज लागेपछि गर्मी निकै कम हुनुपर्नेमा यो वर्ष केही दिनदेखि गर्मी बढेको तराईबासी बताउँछन् । असोज लागेपछि बढेको अत्याधिक गर्मीले सरकारी कार्यालयमा सेवाग्राही घट्नुका साथै हाटबजार, व्यापारिक प्रतिष्ठानमा पनि चहलपहल घटेको छ ।
भोलि दिउँसोसम्म गर्मी उस्तै रहने र दिउँसोपछि घट्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन् । भोलिदेखि पूर्वी भेगमा मनसुन सक्रिय हुने भएकाले तापक्रम घट्ने अनुमान रहेको मौसमविद लामिछानेले बताएका छन् । भोलिदेखि वर्षा हुने लक्षण देखिएकोले गर्मी घट्ने उनको भनाइ छ ।
जलवायु विज्ञ डा. ङमिन्द्र दाहाल पछिल्ला केही वर्षदेखि नै मनसुनमा केही पछिसम्म तराई मधेशमा गर्मी बढी महसुस हुँदै आएको बताउँछन् । तराईमा ताप सोस्ने ठूला पानी पोखरी, सिमसार क्षेत्र र हरियाली हराउन थालेसँगै गर्मी बढेको उहाँले बताउनुभयो । यस्तै कालोपत्र गरिएका सडक, सिमेन्ट–कङ्क्रिटका घरलगायतका कारण तराई मधेशसहित शहरी क्षेत्रमा गर्मी बढी महसुस भएको उनले बताए ।
यसैबीच मनसुन लम्बिएर दसैंसम्मै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाकी वरिष्ठ मौसमविद् प्रतीभा मानन्धरले मनसुन बाहिरिने सरदर मितिभन्दा पाँच दिन पर धकेलिने सम्भावना देखिएको बताइन् ।
नेपालमा सामान्यतया अक्टोबर दुई तारिख (असोज १६) मा मनसुन बाहिरिने गर्छ। यसपटक लम्बिएर असोज २१ गतेसम्मै पुग्ने पूर्वानुमान गरिएको हो ।
यस वर्ष सरदर (जुन १३) भन्दा तीन दिन छिटो (जेठ २८) मा मनसुन नेपाल प्रवेश गरेको थियो। नेपालभर फैलन भने असार १० सम्मै लागेको थियो ।
वरिष्ठ मौसमविद् मानन्धरले आइतबार र सोमबार पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा देखिएको बताइन् ।
मंगलबारदेखि भने धेरै भू–भागमा बदलीको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम प्रकृतिको वर्षा हुने सम्भावना रहेको उनले बताइन् ।
त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि यसपटक हिले दसैं हुने सम्भावना रहेको बताएका छन् ।
गर्मी बढ्दै गएपछि मोरङ र झापाका स्थानीय तहहरूले धमाधम विद्यालय बिदा दिन थालेका छन् । एक सातायता यहाँ अत्याधिक गर्मी बढेको छ । विराटनगर क्षेत्रमा केही दिनयता दैनिक अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुगिरहेको छ ।
सोमबार पनि अधिकतम तापक्रम ४० डिग्री पुगेको छ । अधिक गर्मीले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै मोरङका केही स्थानीय तहले मंगलबार र बुधबार विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
रंगेली नगरपालिका र ग्रामथान गाउँपालिकाले अत्यधिक गर्मीको कारण देखाएर आफ्नो पालिका भित्रका विद्यालय बन्द रहने सूचना जारी गरेका छन् ।
मोरङकै जहदा गाउँपालिकाले पनि मंगलबार एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार भण्डारीले अत्याधिक गर्मीले गर्दा विद्यालयको पठनपाठन प्रभावित भएकोले बिदा दिइएको बताए ।