Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेयर साम्पाङको कार्यकक्षमा लागेको ताला खुल्यो, कार्यवाहकको पत्र पाएका फागो मेयरकै अफिसबाट काम गर्दै, उपमेयर अदालत पुगे

हाम्रो कोशी आवाज
कार्तिक १ २०८१, बिहिबार
मेयर साम्पाङको कार्यकक्षमा लागेको ताला खुल्यो, कार्यवाहकको पत्र पाएका फागो मेयरकै अफिसबाट काम गर्दै, उपमेयर अदालत पुगे

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ऐन–कानुनविपरीत उपमेयर अइन्द्रविक्रम बेघा हुँदा हुँदै कार्यवाहकको जिम्मेवारी सुम्पेका धरान–११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागो मेयर साम्पाङको कार्यकक्षबाटै काम गर्न थालेका छन् ।
यसअघि कार्यवाहक जिम्मेवारीको पत्र मेयर साम्पाङले दिएपछि उनी नगर प्रमुख सचिवालयको कोठाबाट काम गर्दै आएका थिए । मेयर साम्पाङले आफ्नो कार्यकक्षमा तालाबन्दी गरेर हिँडेपछि फागोले मङ्गलबारदेखि सचिवालयबाटै काम थालेका थिए । तर बिहीबारदेखि भने उनले मेयरकै कार्यकक्षबाट काम थालेको जानकारी दिएका छन् ।
हाम्रो कोशी आवाज डटकमलगायत विभिन्न सञ्चार माध्यममा समेत मेयरको कार्यकक्षमा ताला, कार्यवाहकको जिम्मा पाएका फागो सचिवालयबाटै काम चलाउँदै भनेर समाचार प्रकाशित भएको थियो । निवर्तमान मेयर तिलक राईले यस विषयमा पनि प्रश्न तेस्र्याएका थिए । उनले जनताको कार्यालयमा ताला लगाउनु गलत भएको बताउँदै त्यसमा केही कुरा लुकेको छ समेत बताएका थिए ।
मेयर साम्पाङ नगरपालिकाको तर्फबाट नभई व्यक्तिगत तवरले असोज २८ गते बेलायत घुम्न जाने क्रममा उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यभार सुम्पिएपछि विवाद बढ्दै गएको छ ।
मेयर साम्पाङ आज बिहीबार बेलायत उडिसकेका छन् तर पनि अहिलेसम्म यो विवाद मत्थर भइसकेको छैन । मेयर साम्पाङले २३ असोजमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उपमेयर अइन्द्रविक्रम बेघा भने कानुनी उपचारका लागि दौडिरहेका छन् । मेयरले कार्यवाहकको जिम्मेवारी दिएपछि ६ दलले आपत्ति जनाएका छन् ।
मेयर साम्पाङले व्यक्तिगत रिसिइबीका कारण कार्यवाहक नदिएको भन्दै उपप्रमुख अइन्द्रबिक्रम बेघा अदालत पुगिसकेको स्रोत भन्छ ‘अब केहीदिनमा उहाँ कार्यवाहक भएर आउनुहुन्छ ।’
स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) प्रमुखको काम कर्तब्य र अधिकारको १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने उल्लेख छ । उपाध्यक्ष वा उपप्रमुख उपप्रमुख उपस्थित नभएमा मात्रै कार्यपालिका सदस्यलाई कार्यवाहक दिन पाउने प्रावधान छ ।
कार्यवाहक जिम्मेवारी पाएका फागोले भने आफूलाई मेयरले जिम्मेवारी दिएपछि पूरा गर्ने हिसाबले लागिपरेको बताएका छन् । कांग्रेसबाट निर्वाचित भएका कारण कांग्रेसले भने प्रमुखको कदमको विरोध गरेको छैन ।
मेयर साम्पाङले पनि आफूलाई सहज हुने व्यक्तिलाई जिम्मेवारी दिएको बताएका छन् । मेयर साम्पाङ र कार्यवाहक पाएका वडाध्यक्ष पारिवारिक नाता पर्छ । फागो, मेयर साम्पाङको मामाससुरा पर्छन् । तर कार्यवाहक प्रमुख फागो भने नाताका आधारमा आफूलाई जिम्मेवारी नदिएको बताउँछन् ।

प्रकाशित मिति: कार्तिक १ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend