धरानः सहकारी ठगी प्रकरणमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई सीआईबीको प्रहरी टोलीले शुक्रबार साँझ वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गर्नुअघि उनले पार्टी कार्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनी सरकारमाथि खनिएका थिए । उनले सरकार मरेको बताएका बताउँदै सामाजिक सञ्जालमार्फत सरकार मरेको र आफूलाई जुठो परेको उल्लेख गरेका छन् ।
पक्राउ पर्ने निश्चित भएपछि उनले पार्टीको चुनाव चिहनसमेत रहेको घण्टी बजाएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी भ्यानमा राखेको हो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा मुछिएका लामिछानेविरुद्ध कास्की प्रहरीको उजुरी परेको छ । अदालतबाट पक्राउको अनुमति पाएलगत्तै कास्की प्रहरीले उनलाई पक्राउका लागि सीआईबीलगायत प्रहरी निकायलाई पत्राचार गरी पक्राउमा सहयोग गर्न अनुरोध गरेको थियो । आजै जिल्ला अदालतले यो सहकारी ठगी प्रकरणमा लामिछानेका व्यावसायिक साझेदार जीबी राईका दुई जना दाइसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले शुक्रबार प्रहरीलाई अनुमति दिएको थियो । अदालतबाट अनुमति पाएलगत्तै कास्की प्रहरीले उनलाई पक्राउ गरेर पठाइदिन काठमाडौंका प्रहरी कार्यालयमा पत्र पठाएको थियो । लामिछानेलाई शुक्रबार बेलुका नै गाडीमा पोखरा लैजाने तयारी छ ।
रविविरुद्ध गत वर्ष माघमै कृष्णप्रसाद जैशी लगायत सूर्यदर्शन सकहकारीका पीडितले पूरक जाहेरी दिएका थिए। सूर्यदर्शन सहकारीको ठगीमा यसअघि रविका व्यावसायिक साझेदार जीबी भन्ने गीतेन्द्रबाबु राईसहित विरुद्ध मुद्दा दायर भइसकेको छ ।
जीबी हाल फरार छन् । उनी मलेसियामा रहेको थाहा पाए पनि प्रहरीले ल्याउन सकेको छैन । उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिससमेत जारी भइसकेको छ। अर्का गोर्खा मिडियाकै सञ्चालक छविलाल जोशी भने २७ दिनदेखि हिरासतमा छन् । उनलाई असोज ६ गते प्रहरीले काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो ।
उनीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बनधी कसुरमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
सभापति लामिछानेले कानुनलाई सघाउने प्रतिबद्धता जनाएका छन् । उनले आफू कानुनलाई सघाउन तयार रहेको प्रतिबद्धता जनाएका हुन् । उनले लेखेका छन्, ‘ठीक छ, म तपाईहरुको दिनगन्ती सुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’
जिल्ला अदालतले रवि लामिछाने, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई (जीबीको जेठो दाइ), राम बहादुर खनाल, देवेन्द्रबाबु राई (जीबीको माइलो दाइ), विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको थियो ।
रविमाथि सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम आरोप छ । लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा सूर्यदर्शन बचत तथा ऋण सहकारी, सहारा बहुउद्देश्यीय सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, साोपाइला बचत तथा ऋण सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा ल्याएको आरोप छ ।
दुई वर्ष जेल ?
पूर्वगृहमन्त्री लामिछानेलाई ग्यालेक्सी फोरके टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएपछि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने देखिएको छ । कम्पनी ऐनको दफा १६० मा भएको व्यवस्था अनुसार लामिछानेलाई यस्तो सजाय हुन सक्छ ।
लामिछानेको नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर अध्यक्ष राईमा हस्तान्तरण हुँदा रविको खातामा एक करोड ८० लाख रूपैयाँ जम्मा गरिएको भौचर देखाएर सेयर हस्तान्तरण भएको थियो । रकम खातामा जम्मा नै नगर्ने उद्देश्यका साथ झुटा विवरण उपलब्ध गराएर राईको नाममा सेयर हस्तान्तरण गरिएको हो ।
कम्पनी ऐनको दफा १६० (क) मा कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापरवाहीसाथ कुनै झुटा कुरा उल्लेख गरी कम्पनी वा कुनै व्यक्तिलाई हानी नोक्सानी पु¥याएको भए त्यस्तो सञ्चालक वा पदाधिकारीलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
लामिछानेले केही समय अघि सामाजिक सञ्जालमा आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको भौचर देखाएपछि मात्र कम्पनी रजिष्ट्रारको कार्यालयबाट राईको नाममा सेयर नामसारी हुने भएकाले त्यस्तो गरिएको भन्दै झुटो विवरण उपलब्ध गराएर सेयर हस्तान्तरण गरिएको स्वीकार गरेका छन् ।
‘मेरो सेयर खरिद गरेबापतको रकम जीबी राईले मेरो खातामा जम्मा गरेको भौचर देखिए पनि रकम खातामा आएन । सायद त्यो आवश्यक प्रक्रिया मात्रै थियो जुन यस्तै ढंगले पूरा गरिने आम अभ्यास छ । त्यसैका आधारमा शायद भौचर मात्र राखि कम्पनी रजिष्ट्रारको कार्यालयमा जीबी राईको नाममा सेयर नामसारी भई दाखिला पनि भएको हुनु पर्छ’लामिछानेले लेखेका छन् ।
सेयर हस्तान्तरणका लागि राईले आफ्नो खातामा जम्मा गर्न पैसा नै नभएको चेक बुझाएको विषयमा रविले सहमति दिएर कम्पनी रजिष्ट्रारको कार्यालयलाई ढाटेका छन् । कम्पनी ऐनको दफा १६० को (ज) मा ऐन बमोजिमको विवरण नदिने वा झुट्टा विवरण दिने सेयरधनीलाई ५० हजार रुपैयाँसम्म जरिबाना र दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।