Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी राजमार्ग: पूर्व आउजाउ गर्नेलाई सास्ती, जाममा यात्रुले अझै हैरान खेप्दै

हाम्रो कोशी आवाज
कार्तिक ७ २०८१, बुधबार
बीपी राजमार्ग: पूर्व आउजाउ गर्नेलाई सास्ती, जाममा यात्रुले अझै हैरान खेप्दै

धरानः मंगलबार बिहान १० बजे सिन्धुली पुग्न बिहान ५ बजे काठमाडौंबाट यात्रा सुरु गरेकी सुशीला तामाङ साढे ८ बजेसम्म नमोबुद्ध नगरपालिका– ६ चरंगेमा अड्किइन् । चरंगे पुग्दा चौकीडाँडाको जाम चरंगेफेदी आइपुगेको थियो । चौकीडाँडाबाट करिब एक किलोमिटर सडक जाम थियो । तामाङले अझै त्यस्तै बिग्रेको सडक करिब २५ किलोमिटरभन्दा बढी यात्रा गर्न बाँकी नै थियो । ‘बिहान १० बजे सिन्धुली पुग्न भनेर बिहान ५ बजे काठमाडौंबाट यात्रा गरेँ, तर यहीँ १० बज्ने भइसक्यो,’ उनले भनिन्, ‘यही तालले त रातिको १० बजे पनि पुगिएलाजस्तो छैन ।’
गत १० देखि १२ असोजसम्म परेको अविरल वर्षापछि बाढीले बिपी राजमार्गको ठाउँठाउँमा बगाएको छ । चौकीडाँडादेखि माम्तीसम्म करिब २५ किलोमिटर राजमार्गमध्ये १० किलोमिटरभन्दा बढी बाढीले बगाएको छ । बाढीले सडक बगाएको स्थानमा रोशी गाउँपालिका र सडक विभागले सडक डाइभर्सन गरेर सुचारु गरेका छन् । सडक डाइभर्सन साँघुरो भएकाले बिहान र बेलुकीको समयमा सवारीको अत्यधिक चाप हुने गरेको छ ।
कष्ट झेल्दै ओखलढुंगाका दीपेश कार्की मंगलबार दिउँसो ३ बजे रोशी–७ कटुञ्जेमा भेटिए । बिहान ६ बजे ओखलढुंगाबाट काठमाडौं हिँडेका उनी सधैँ चार–पाँच घण्टामा काठमाडौं पुग्ने गरेकोमा यसपटक १२ घण्टामा पनि काठमाडौं नपुगिने हो कि भन्ने चिन्तामा थिए । ‘हामी सधैँ बढीमा पाँच घण्टामा काठमाडौं पुग्थ्यौँ, तर सडक जामले गर्दा १२ घण्टामा पनि नपुग्ने देखियो,’ उनले भने, ‘माम्तीदेखि नै जाम रहेछ । अब माथितिर कस्तो छ थाहा छैन ।’
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीले बिगारेको बिपी राजमार्ग डाइभर्सन गरेर खोले पनि एकतर्फी भएकाले अत्यधिक जाम भएको बताए । सडक दुईतर्फी सुचारु गर्न पहल गरिरहेको र सडक विभागले त्यसका लागि निरन्तर काम गरिरहेको उनको भनाइ छ । बगरमै भए पनि सडक फराकिलो गरेर दुईतर्फी सडक खुलाउन निरन्तर पहलकदमी गरिरहेको उनको भनाइ छ ।
‘राजमार्ग बाढीले बगाएपछि सडक विभागसँग सहकार्य गरेर एकतर्फी सडक सुचारु गरेका थियौँ,’ लामाले भने, ‘दसैँअगावै सडक सुचारु गर्नुपर्ने भएकाले एकतर्फी सुचारु ग¥यौँ, अब बगरमै भए पनि दुईतर्फी सडक सुचारु गर्न सडक विभागलाई भनेका छौँ ।’ गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्‍यो । पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरू अधिकांश पूर्ण रुपमा नै सञ्चालनमा आइसकेका छन् । तर बिपी राजमार्ग भने अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।
पूर्ववर्ती क्षेत्रबाट संघीय राजधानी आउने वैकल्पिक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौं आउने हो । तर लामो पर्ने भएकाले पाँच घण्टा भन्दा बढी जाममा बसेर भएपनि बिपी राजमार्गबाटै काठमाडौं आउने गरेका छन् । बिपी राजमार्गको यात्राका क्रममा पर्यटकहरू पनि सास्ती व्यहोरिरहेका छन् ।
सुनकोशीले धेरै ठाउँमा सडक नै बगाएको छ । त्यसको विकल्प दिन सरकारलाई अझै धेरै समय लाग्ने निश्चितप्रायः छ । बिपी राजमार्गमा भेटिएका एक जना सवारी चालकसँग कुरा गर्दा उनले ४-५ घण्टा कुरेर बस्नुपर्ने र अर्को बाटो जाँदा एक दिन पूरै समय जाने भएकाले जाममा बसेरै छोटो बाटो जाने गरेको बताए । तत्काल बाटो बन्छ जस्तो उनलाई लागेको छैन । चितवन हुँदै जाँदा बाटो घुमाउरो भएकाले बिपी राजमार्ग हुँदै नै जान छिटो हुने बताए । उनले भने, ‘४-५ घण्टा कुरेर बस्नुपर्छ । बाटो बन्ला जस्तो छैन, बाटो नै यस्तो छ । सुरुमै यस्तो जाम परिसक्यो, बीच बीचमा अझ कति बाँकी छ । उताबाट जाँदा घुमेर जानुपर्छ, टाढा छ ।’
सोही क्रममा भेटभएकी रुसकी पर्यटकले आफूसँग समय नरहेको तर अघि बढ्न समस्या भएको गुनासो गरिन् । उनले काठमाडौंका लागि आफू हिँडेपनि बाटोमा धेरै समयदेखि जाममा बस्नुपरेको बताइन् । उनले भनिन्, ‘यहाँ किन केही गरिएको छैन, थाहा छैन, मसँग समय छैन । म काठमाडौंका लागि हिँडेको हो । मेरो घर रसिया हो ।’
काभ्रेको भकुण्डेबेंसी क्षेत्रमा भेटिनुभएका मोटरसाइकल चालकसँग कुरा गर्दा उनले आफू झापाबाट काठमाडौं हिँडेको दुई दिनमा भकुण्डेबेंसी आइपुगेको बताए । उनले बाटो चितवनतिर पनि बिग्रिएकाले छोटै बाटोबाट जाने निर्णय गरेर आएपछि सहज नरहेको प्रतिक्रिया दिए । उनले विगतमा बाटो राम्रो हुँदा एक दिनमा पुग्ने ठाउँ अहिले दुई दिनमा पनि पुग्न कठिन भइरहेको गुनासो गरे । नदीले अहिले आफ्नो क्षेत्र ओगटेकाले नदीले नभेट्ने क्षेत्रलाई मध्यनजर गरी सडक सञ्जाल बनाउन सरकारलाई सुझावसमेत दिए ।
उनले भने, ‘म झापाबाट हिँडेको । बाटो उता पनि धेरै नराम्रो छ । त्यसैले आउन नसकेर साथीको घरमा बास बसेर अहिले बिहान हिँडेको । विगतमा यो बाटो धेरै राम्रो थियो । अहिले दुई दिन लाग्छ । खोलाले आफ्नो क्षेत्र ओगटेको छ । उसलाई उसको क्षेत्र छोडेर बाँकी क्षेत्रमा मात्रै बाटो बनाउनु पर्छ ।’
बाढी, पहिरोका कारण बिपी राजमार्गसहित देशभर सडक, पूर्वाधारका क्षेत्रमा ६ अर्ब बढीको क्षति भएको अनुमान छ । तर काम पूरा गर्नका लागि १५ अर्ब बढी रकम लाग्ने सरकारले अनुमान गरेको छ ।

प्रकाशित मिति: कार्तिक ७ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend