Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी राजमार्ग पूर्ण रूपमा यातायात सञ्चालन अनुमति

हाम्रो कोशी आवाज
कार्तिक ८ २०८१, बिहिबार
बीपी राजमार्ग पूर्ण रूपमा यातायात सञ्चालन अनुमति

धरानः सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा बुधबार पूर्ण रूपमा सञ्चालन गर्न अनुमति दिएको छ । कार्यालयले जोखिमका कारण गत ३० असोजदेखि रातको समयमा (१० घण्टा) यातायात सञ्चालनमा रोक लगाएको थियो ।
असोजको दोस्रो साता परेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बीपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबेँसी–बर्खेखोला सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको थियो । कार्यालयले सुक्खा पहिरो खस्न सक्ने तथा काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित १ नम्बरपुल–चौकीडाँडा–बर्खेखोला खण्डको करिब आठ किलोमिटर सडक ट्रयाक मर्मत–सुधार गरी यात्रा सुरक्षित बनाउनुपर्ने जनाउँदै उक्त सडकखण्ड रातको समयमा बन्द गरेको हो ।
बाढीपहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेँसी–चौकीडाँडा–बर्खेखोला खण्डका विभिन्न स्थानमा पूर्ण रूपमा बगाएको ८ किलोमिटरभन्दा बढी लम्बाइको सडकमा वैकल्पिक ट्रयाक निर्माण गरेर सो रुटमा परमिट भएका यात्रुवाहक बस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आउजाउ गर्छन् ।
राजमार्गको कुल १ सय ६० किमिमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमि र चौथो खण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमि गरी ८४ किमि सडकका विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ८ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend