धरानः प्रत्येक वर्ष सुनसरीको बराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला अर्थात् कार्तिके मेला (बारहक्षेत्र मेला) का अवसरमा धरान उपमहानगरपालिकाले भोलि शुक्रबार एकदिन सार्वजनिक विदा दिएको छ ।
नगर प्रमुखस्तरीय निर्णयबाट सो विदा दिइएको हो । भोलि अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द रहने जनाइएको छ । मेला गत मंगलबारदेखि नै शुरु भएको हो । यो मेला पूर्णिमा अर्थात् भोलिसम्म रहनेछ ।
यस वर्ष मेला भर्न भारत लगायतका देशहरूबाट चारदेखि पाँच लाख तिर्थालु आउने अनुमान गरिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
धार्मिक मेलाको रुपमा मानिदैं आएको हरिबोधिनी एकादशी मेलाको रौनक अहिले पनि छ । सनातनी नेपालीहरुले तुलसीको विवाह पर्वको रुपमा मनाउने एकदशीको अवसरमा नदीहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ । हिन्दू धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने हरिबोधिनी एकादशी मेला प्रसिद्ध छ ।
कात्तिके मेलाको नाममा आयोजना हुने हरिबोधिनी एकादशी मेलाको महत्व बढेको बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताउँछन् ।
शास्त्रीय प्रमाणहरुको आधारमा वराहक्षेत्रमा वर्षेनी कात्तिके मैलाको नाममा ठूलो एकादशीका दिन देखि पूर्णिमासम्म मेला लाग्ने र माघे मेलामा कोवा कौशिकिको संगमस्थलमा गएर स्नान गर्ने परम्पता रहेको छ भने हरिबोधिनी एकादशी मेलालाई भगवान विष्णुको महिमासँग जोडिएको पाइन्छ ।
