सबै स्वतन्त्रको मत जोड्दा पनि स्वतन्त्र चौथोमै
धरानः उपनिर्वाचनमा ठूला दलकै वर्चश्व देखिएको छ । काठमाडौंस्थित कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान डंगोलले निर्वाचित भएका छन् ।
राजनीतिक दलहरू र स्वतन्त्रले समेत प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित निकाल्दै यसअघिको पोल्टो जोगाएको हो ।
आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । उनी ५ हजार ३ सय ३४ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरे ।
यहाँ नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो हुन पुगे । सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो भएका हुन् । उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतको समर्थन रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ भने चौथो स्थानमा रहे । उनले २ हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए । त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए ।
माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए । यसअघि कांग्रेसले जितेको ठाउँमा आफू विजयी हुने लक्ष्यका साथ कीर्तिपुरमा खडा भएको नेकपा एमालेले तेस्रो स्थानमा चित्त बुझाएको छ ।
यसैगरी स्वतन्त्र उम्मेदवारी दिएसँगै चर्चामा आएका सफाइ अभियन्ता महर्जनले २ हजार ३६ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले १ हजार ३१४ मत, दिनेश कुमार अधिकारीले १ हजार ४८ मत, राप्रपाका ध्रुव महर्जनले ९९५ मत पाए ।
तत्कालीन मेयर नकर्मीको गत साउन १० गते राति निधन भएको थियो । लामो समयदेखि मृर्गौलाको बिरामी रहेका उनको वीरअस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
कांग्रेसले चुनाव जित्नुअघि नै मेयर साम्पाङले इलाम २ मा उपनिर्वाचन एमालेले जित्यो ! बाटो बनाउँछ कि भनेको अस्ति २–३ जना बगायो खोलामा गाडी कुदाउनु परेकोले ! अझै उस्तै काँचै लडिराछ धुले बाटो ! अब किर्तिपूरको पालो आयो ! मिति परिवर्तन हुँदैमा परिवर्तन आउँदैन है ! काम गर्नेलाई जिताउनु भन्दा लाग्दैन ! भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।
उनले कीर्तिपुरतिर ल्याप्टप चलाएर ३–४ लाख कमाउनेहरुले जिते भन्ने सुनियो ! अल द वेष्ट ! काम गर्ने इमानदार मान्छेलाई पहिलो बनाउन सक्नु भएन ! चेतना छर्न बाँकी नै रैछ अझै ! वी विल कम अगेन । भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
