धरानः धरानमा ‘एसइई आइडल’ को तयारी थालिएको छ ।
प्रदेश १ कै प्रतिष्ठित प्रतियोगिता मानिएको ‘एसइई आइडल’ धरानमा वर्षेनी हुँदै आएको छ । विशेषतः प्रतियोगिता गरिसकेपछि कतिपयले पुरस्कार समेत नदिने गरेको गुनासो समेत आउने गरेको छ तर यो प्रतियोगिताका बिजेताले भने समयमै नगद पुरस्कार समयमै पाउनेदेखि निःशुल्क पढ्ने अवसर समेत पाइरहेकोले पनि यो प्रतिष्ठित प्रतियोगिताको हो भन्दा फरक पर्दैन ।
‘शिक्षाका लागि सङ्गीत’ भन्ने मूल नाराका साथ २०७५ सालदेखि प्रदेश १ क प्रतिष्ठित प्रतियोगिता आयोजना फक्ताङलुङ मिडिया हाउसले गरिरहेको छ । चौथो संस्करणसम्म आइपुग्दा प्रतिष्ठित बनिसकेको प्रतियोगिताको पाँचौं संस्करणको थालनी भएको हो । बालबालिकामा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन प्रतियोगिता अगाडि छ ।
यसअघि बालबालिकामा लुकेर रहेको गायन, नृत्य प्रतियोगिता आयोजना हुँदै आएको र यसपटक वाक कला अर्थात् बोल्ने कलाको पनि प्रतियोगिता आयोजना हुने फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । ‘यस वर्षदेखि कार्यक्रम थपेर वाक कला (स्पीच) पनि गर्न लागेका हौं’, उनले भने, ‘यी तीनवटा प्रतियोगितात्मक कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रदर्शनका लागि थोरै भएपनि अवसर प्रदान गर्ने विश्वास हामीले लिएका छौं ।’
वाइवाइ एसइई आइडल सिजन ५, नृत्य प्रतियोगिता (डान्सिङ स्टार सिजन ५) र वाक कला सिजन १ को लागि एसईई दिन आँटेका छात्रछात्राहरुले भाग लिन पाउनेछन् । यसका लागि प्रदेश १ का १४ जिल्लामा अडिसन राखिने आयोजकले जनाएको छ । अडिसन एसईई परीक्षा लगत्तै शुरु हुनेछ । अडिसनमा सहभागी प्रतिभावान विद्यार्थीले फारम भर्नुपर्ने हुन्छ । फारम निःशुल्क वितरण गरिने र ट्रेनिङको कुनै शुल्क नलिइने आयोजकले जनाएको छ ।
तीनवटै प्रतियोगिताका बिजेताले नगद ५० हजार, प्लस टु अध्ययन गर्न नगद ३ लाख बराबरको पूर्ण छात्रवृत्ति, विविध गिफ्ट ह्याम्पर अनि मुस्ताङ भ्रमण निःशुल्क हुने कार्यक्रम संयोजक राम लिम्बूले जानकारी दिए ।
यस्तै, फस्ट रनरअपले ३० हजार नगद, प्लस टु पढ्न ८० प्रतिशत छात्रवृत्ति, अन्य गिफ्ट ह्याम्पर, सेकेण्ड रनरअपले २० हजार नगद, प्लस टु पढ्न ८० प्रतिशत छात्रवृत्ति, विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, टप १० फाइनलिष्टहरूलाई प्लस टु अध्ययनमा ५० प्रतिशत छात्रवृत्ति दिइने आयोजकले जनाएको छ । यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने कार्यक्रम संयोजक लिम्बू बताउँछन् ।
अनलाइन फारम एफटिएल अनलाइन टिभीमा राखिने जनाइएको छ भने डिजिटल अडिसनमार्फत पनि सहभागीले भाग लिने पाउने व्यावस्था गरिएको आयोजकले जनाएको छ ।




