Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सुनसरीका योगी (जोगी ) जातिहरू जुटे, भवन बनाउन धरान उपमहानगरसँग जग्गा माग्ने

हाम्रो कोशी आवाज
फाल्गुन ८ २०८१, बिहिबार
धरानमा सुनसरीका योगी (जोगी ) जातिहरू जुटे, भवन बनाउन धरान उपमहानगरसँग जग्गा माग्ने

धरानः धरानमा सुनसरीभरका योगी (जोगी ) जातिहरू एकजुट भएका छन् ।
आफ्नो संस्कार, संस्कृति र पहिचानलाई जोगाउनका लागि उनीहरू एक भएका हुन् । बुधबार धरान–१६ स्थित लक्ष्मी मन्दिर परिसरमा आयोजित एक भव्य कार्यक्रमका बीच नयाँ कार्य समिति समेत चयन भएको छ ।
समितिको अध्यक्ष वीरनाथ जोगी (पदम), उपाध्यक्षमा राजकुमार जोगी, सचिवमा शेखरनाथ जोगी, सहसचिवमा डम्बरबहादुर जोगी, कोषाध्यक्षमा सन्तबहादुर जोगी, सहकोषाध्यक्षमा अनिता जोगी सर्वसम्मतले चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा रुद्रबहादुर जोगी, भद्रकुमारी जोगी, धनकुमारी जोगी, ध्रुवनाथ जोगी, गणेशकुमार जोगी, कल्पना जोगी, नन्दराज जोगी चयन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा योगी (जोगी) कल्याण संघ दर्ता गरेर जोगीहरू आफ्नो संस्कार, संस्कृति र पहिचान जोगाउन लागिपरेका हुन् । गोपाल जोगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
धरान उपमहानगरपालिकासँग जग्गा मागेर भवन बनाउने निर्णय
धरानमा सबैजसो जातजातिको आफ्नै कार्यालय भवन छ । तर जोगी जातिको लागि भवन अभाव छ । धरान उपमहानगरपालिकासँग जग्गा माग गर्ने र भवन निर्माण गर्ने समितिले निर्णय गरेको छ । ‘खासमा अल्पसंख्यक जोगी जातिको आफ्नै भवन छैन’, शेखरनाथ जोगीले भने, ‘त्यसको लागि योपटक नगरपालिकासँग हामीले हात फैलाउनुपर्छ र जग्गा उपलब्ध गराउन आग्रह गर्नुपर्छ ।’ भवन नहुँदा अहिले पनि मठ–मन्दिरमा पुगेर कार्यक्रम गरिरहनुपरेको उनले जानकारी दिए ।
कस्तो हो योगी (जोगी) जाति ?
समितिले फेरी लगाउने जोगी समुदायलाई अन्य माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिकस्तरमा सबल बनाउन आवश्यक रहेको र लोप हुन लागेको जोगी समुदायको फेरी लगाउने पेशालाई संरक्षण तथा प्रवद्र्धन गर्न अघि बढ्ने जनाइएको छ । ‘विशेषतः हाम्रो संस्कार, संस्कृति लोप हुने चिन्ता सबैमा छ, त्यसैले एकजुट हुँदै संस्थागतरुपमै अघि बढ्नुको विकल्प देखिएको छैन’, अगुवा दिलीप योगी भन्छन् ।
जनताको घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाउने गर्दछन् । उनीहरूले फेरी लगाएमा घरको रक्षा हुने र भूतप्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । फेरी लगाएर मन्त्र जाप गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जिल्लावासीमा जनविश्वास छ । वर्षको दुई पटक उधौली र उभौली अर्थात् कार्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शंख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ । धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेशालाई जोगी समुदायले लामो समयदेखि निरन्तरता दिँदै आएका छन् ।
फेरी लगाउने जोगीलाई फेरी लगाइएको घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यूलगायत खाद्यान्न तथा पैसासमेत भिक्षा (दान) दिने चलन छ । रातका समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी जोगी समुदायले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।
अहिले युवापुस्ताले चासो नदेखाएका कारण जोगीले फेरी बजाउने चलन लोप हुँदै गएको छ । पछिल्लो समय युवापुस्ता वैदेशिक रोजगारीमा जान थालेपछि फेरी लगाउने पेसा सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको पाइएको छ । फेरी लगाएर मात्रै यो समुदायमाथि उठ्न सक्ने अवस्था नरहेकाले पेशा नै संकटमा पर्ने सम्भावना बढेको हो ।
पृथ्वीनारायण शाहको पालादेखि जोगीहरू आफ्नो पेशा अपनाइरहेको पाइन्छ । गोरखनाथले नै नाथ सम्प्रदायमा कर्म चलेको जनाउन कान चिर्ने परम्पराको सुरुवात गरेका थिए । गुरु गोरखनाथबाट दीक्षित भनिने यो समुदाय अल्पसंख्यक समुदाय हो । राज्यले अहिलेसम्म यो समुदायको हितका लागि केही काम गर्न सकेको छैन । राष्ट्रिय तथ्याङ्क कार्यालयमा समेत अन्य जातिको थर कायम छ भने जोगी जातिको नाम निसाना समेत छैन ।
आफ्नो छुट्टै जातीय पहिचान, उत्पत्तिको इतिहास र सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको फेरीवाला जोगीलाई आवश्यक सूचना, चेतना, पहुँच र अध्ययन, अनुसन्धानको अभावमा अल्पसंख्यक वा सीमान्तकृत भन्न पनि राज्यले सकेको छैन ।
‘भैरुङ’ लाई आफ्नो वंशीय उत्पत्ति अर्थात कुल मानी भैरुङको विशेष शक्तिमा आधारित फेरी संस्कृतिको मौलिक पहिचान बोकेको जोगी समुदायका मानिसले हरेक कात्तिक र चैत महिनाको राती घरघरमा गई विशेष मन्त्रोच्चारण गर्दै फेरी (बराँठको सिङ) फुक्नाले भूत, प्रेत, पिशाचले वर्ष भरिनै दुःख नदिने, रोग व्याधि नलाग्ने, घरमा सुख, शान्ति प्राप्त हुने, बालीनाली सप्रने र सहको वास हुने धार्मिक तथा सांस्कृतिक मान्यता रही आएको छ ।
परापूर्व कालदेखि नै यो संस्कृतिलाई नेपाली समाजका सबै जात जातीका समुदायले सामाजिक, सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक रूपमा विश्वास र सम्मान गरी मान्यता दिएको पाइन्छ ।

 

प्रकाशित मिति: फाल्गुन ८ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend