आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी आज हर्षोल्लास साथ नयाँ वर्षलाई स्वागत गरिँदैछ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन्।
‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने।
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको मानिन्छ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्।
आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।
चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ। चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।
वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन्। यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन्। षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो। अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो।
नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवसका बिदा हुने छन् ।
दशैंमा सात दिन र तिहारमा पाँच दिन समेत गरी विभिन्न पर्वहरुको बिदा २८ दिन हुने छ । यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ ।
ती बाहेक विभिन्न पालिकाहरुले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउने छन् । साथै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैंले दिन सक्ने छन् ।
वैशाख
वैशाखमा चार दिन शनिबारको बिदा छ । त्यसबाहेक नयाँ वर्षको अवसरमा वैशाख १ गते र वैशाख १८ गते विश्व मजदुर दिवसको बिदा छ । चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, राई, लिम्बू, याक्खा, सुनुवार लगायतका किराँत समुदायको उभौली पर्वको अवसरमा वैशाख २९ गते पनि सार्वजनिक बिदा छ ।
जेठ
जेठ महिनामा पाँच दिन शनिबारको सार्वजनिक बिदा छ । त्यसबाहेक जेठ १५ गते गणतन्त्र दिवसको एक दिन बिदा छ ।
असार
असारमा चार दिन सार्वजनिक बिदा छ । त्यसबाहेक असार महिनामा एक दिन पनि सार्वजनिक बिदा छैन ।
साउन
साउनमा पाँच दिन शनिबारको बिदा छ । २४ गते शनिबारकै दिन रक्षाबन्धन तथा जनैपूर्णिमा परेको छ ।
साउन २५ गते आइतबार गाईजात्रा पर्वको बिदा छ । यस दिन काठमाडौं उपत्यकामा मात्र बिदा हुने छ । ३१ गते श्रीकृष्ण जन्माष्टमी पर्व पनि शनिबार नै परेको छ ।
भदौ
भदौमा चार शनिबार परेका छन् । भदौ ७ गते शनिबारको दिन बुवाको मुख हेर्ने दिन परेको छ । १० गते हरितालिका (तीज)को दिन महिला कर्मचारीहरुलाई मात्र बिदा हुने छ ।
भदौ १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा परेका छन् । इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र बिदा हुने छ । ३० गते जितिया पर्व परेको छ । यस दिन जितिया पर्व मनाउने महिलाहरु कर्मचारीहरुलाई मात्र बिदा हुने छ ।
असोज
असोज महिनामा चार शनिबार परेका छन् । असोज ३ गते शुक्रबारको दिन संविधान दिवसको बिदा छ ।
असोज ६ गतेदेखि नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । यस दिन घटस्थापना परेको छ ।
त्यसपछि असोज १३ गते सोमबारको फूलपातीदेखि असोज १८ गते शनिबारसम्म दशैं बिदा छ । १६ गते दशैंको टीकाको दिन छ ।
कात्तिक
कात्तिक महिनामा पाँच शनिबार परेका छन् । १ गते शनिबार तिहारको धनतेरसको दिन परेको छ । २ गते आइतबार काग तिहार छ । ३ गते काग तिहारको एक दिन कार्यालयहरु खुले पनि ३ गतेदेखि ७ गतेसम्म तिहार बिदा छ । ६ गते भाइटीकाको दिन परेको छ । त्यसपछि कात्तिक १० गते छठ पर्वको बिदा हुने छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती छ । यस दिन किराँत धर्मावलम्बीका लागिमात्र बिदा हुने छ ।
मंसिर
मंसिर महिनामा चार दिन शनिबारको बिदा हुने छ । मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस परेको छ । मंसिर १८ गते ज्यापु दिवसको बिदा छ ।
पुस
पुसमा चार शनिबार परेका छन् । पुस १० गते इसाई धर्मालम्बीको पर्व क्रिसमस डेको बिदा छ । यसैगरी पुस १५ गते मंगलबार तमू ल्होछार र पुस २७ गते आइतबार पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको बिदा छ ।
माघ
माघ महिनामा चार शनिबार परेका छन् । १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको दिन सार्वजनिक बिदा हुने छ । यसैगरी माघ ५ गते सोनम ल्होछार, ९ गते सरस्वती पूजा र १६ गते शहीद दिवस परेको छ ।
फागुन
फागुन महिनामा ५ शनिबार परेका छन् । २ गते शनिबार र ३ गते महाशिवरात्रिको बिदा हुने छ ।
फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस छ । यसैगरी १८ गते हिमाली र पहाडी जिल्लामा होली पर्वको बिदा छ । १९ गते तराई मधेशका जिल्लामा होलीको बिदा हुने छ । त्यसपछि फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को सार्वजनिक बिदा हुने छ ।
चैत
चैतमा चार शनिबार परेका छन् । चार गते घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा छ । चैत १३ गते शुक्रबार रामनवमीको बिदा हुने छ ।