धरानः धरान-३ स्थित तरकारी पालिका बजारको दुई फलफूल पसलमा आगलागी भएको छ ।
धरान उपमहानगरपालिका वडा नं. ३ स्थित पालिका तरकारी बजारको दुईवटा फलफूल पसलमा आगलागी भएको हो । आइतबार बिहान करिब ३ बजेको समयमा भएको आगलागीमा दुई वटा फलफूल पसलमा आगलागी हुँदा ७ लाख भन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।
पालिका तरकारी बजारका दुई वटा फलफूल पसलमा आगलागी भएको हो । आगलागीबाट ओमकुमारी श्रेष्ठ र भीमबहादुर श्रेष्ठले सञ्चालन गरेको फलफूल पसल र कोठा पूर्णरुपमा क्षति भएको भानुसब्जी तथा फलफूल व्यवसायी समितिकी अध्यक्ष रमा चौहान (खतिवडा ) ले जानकारी दिइन् । त्यसैगरी आगलागी नियन्त्रण धरान उपमहानगरपालिकाको दमकललाई समयमै जानकारी गरिएअनुसार आगलागी नियन्त्रण समयमै भएकोले अन्य पसलमा थप क्षति नपुगेको अध्यक्ष चौहानले बताइन् । अध्यक्ष चौहानका अनुमान अनुसार रातभरि परेको अविरल वर्षाका कारण जीर्ण रहेको छानाबाट पानी चुहिँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको बताइन् ।
आगलागीबाट पसलमा राखिएका फलफूल पूर्ण रुपमा नष्ट भएको आगलागी पीडितहरुले बताएका छन् । यसभन्दा अगाडि पनि सोही स्थानमा एउटा कस्मेटिक पसलमा आगलागी भएको थियो । धरान उपमहानगरपालिकाले सञ्चालन गरेको बजारमा भएका टहरामा जीर्ण रहेको छाना पनि प्रमुख कारण रहेको बताइएको छ । केही समय अगाडि कस्मेटिक पसलमा आगलागी हुँदाको अवस्था पनि सोही भएपछि केही स्थानमा पनि दरिलो छाना सहितको टहरा निर्माण भएपनि २५ प्रतिशत टहरा उस्तै जीर्ण रहेका छन् ।
यस विषयमा धरान उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्यले विगतमा पनि यस्तै घटना हुँदा केही टहरा निर्माण भएको र अब फेरि यस्तो अवस्था आउन नदिन निर्माणका लागि धरान उपमहानगरपालिकालाई जानकारी गराएर अगाडि बढ्ने बताए । यसरी पटक पटक आगलागीका घटना घट्दा समेत धरान उपमहानगरपालिकाले जीर्ण टहरा निर्माणमा ध्यान दिन सकेको छैन र थप क्षति हुन नदिन समयमै जीर्ण छानाको मर्मतसँगै दीर्घकालीन सोचका साथ टहरा निर्माणको लागि बजारका व्यवसायीहरुले भानुसब्जी तथा फलफूल व्यवसायी संघ र स्थानीय सरकार धरान उपमहानगरपालिकालाई समक्ष अपिल गरेका छन् ।

