धरानः देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको छ । मनसुन कमजोर हुँदा धेरै स्थानमा वर्षा हुने छैन । तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको छ ।
विभागले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेस प्रदेशको तराईको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी र वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति कोसी, गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोशीप्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।