धरान: धरान-१३ स्थित जिरोप्वाइन्टमा आइतबार भएको भयानका दुर्घटनामा च्यापिएर ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
स्थानीयबासीका अनुसार ब्रेक फेल भएर आएको को १ ख ७११९ नम्बरको बस अचानक ब्रेक फेल भई अनियन्त्रित भएपछि पसलमा छिरेको थियो । धरान आउँदै गरेको यात्रुबाहक बस धरान–१३ को जिरोपोइन्टमा दुर्घटनाग्रस्त भएको हो ।
बसमा च्यापिएर ५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी चन्द्र खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा महोत्तरीको गैडादेवपुर–८ बस्ने रोहित कुमार मण्डलका १८ महिने छोरा रिसब कुमार मण्डल (बसमा सवार), सोही स्थानका ३१ वर्षीय धैरिया कुमार यादव (बसमा सवार), सुनसरी बराहक्षेत्र नगरपालिका–३ का २० वर्षीय ओमेश राई (मेडिकलमा रहेका), झापाको मेचीनगर नगरपालिका निवासी १९ वर्षीय नयन थापा मगर (मेडिकलमा रहेका) र धरान–१३ की २४ वर्षीया सुवेक्षा सुब्बा (मेडिकल सञ्चालिका) रहेका छन्।
प्रारम्भिक अनुसन्धानमा बस पश्चिमतर्फ रहेको न्यू सबा मेडिकल हलमा ठोक्किएको खड्काले जानकारी दिए। उनका अनुसार जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नामसारीका लागि आएको उक्त बस भेडेटार घुम्न जाने क्रममा डिजेल सकिएपछि फर्काउने प्रयास गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार धनुषा जनकपुर उपमहानगरपालिका–१२ की २५ वर्षीया रिना मण्डल, धनौडी गाउँपालिका–२ का ३८ वर्षीय जितेन्द्र मण्डल, महोत्तरी मठ्ठीपानी गाउँपालिका–४ का २५ वर्षीय महमत मुलाल (बस चालक), जनकपुर उपमहानगरपालिका–१ की ४० वर्षीया सुनेना देवी मण्डल र जनकपुर–५ का २० वर्षीय कृष्ण मण्डल घाइते भएका छन् ।
उनीहरूको अवस्था गम्भीर रहेको छ ।
यस्तै, जनकपुर–५ की २३ वर्षीया लक्ष्मी मण्डल, १८ वर्षीय राजा बाबु, जनकपुर–४ की ४० वर्षीया मनिता देवी मण्डल, ३० वर्षीया पुनिता मण्डल तथा धरान–१३ की ४३ वर्षीया यशोदा श्रेष्ठ (मेडिकलमा कार्यरत) को अवस्था मध्यम रहेको छ । दुर्घटनामा अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले क्षतविक्षत अवस्थामा शव संकलन गरी लगेको थियो । घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेका इलाका प्रहरी कार्यलय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । यसअघि पनि सोही स्थानदेखि केही तल दुर्घटना भएको थियो । दुर्घटनामा चारजनाको ज्यान गएको थियो ।