Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसईईको नतिजा एक महिनाभित्र आउने, केन्द्रमै कापी जाँचिने

हाम्रो कोशी आवाज
चैत्र १८ २०८२, बुधबार
एसईईको नतिजा एक महिनाभित्र आउने, केन्द्रमै कापी जाँचिने

धरानः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए । ‘नतिजा एक महिनामा सार्वजनिक गर्न मन्त्रालयको निर्देशन छ । त्यसका लागि परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ,’ एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने ।
जुन परीक्षा केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को ठाउँबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । ‘शिक्षक नभएको र असुरक्षित ठाउँको परीक्षण केन्द्र सार्न सकिन्छ,’ परीक्षा नियन्त्रक अधिकारीले भने, ‘अरुको हकमा परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण हुन्छ ।’
अघिल्ला वर्षहरूमा गोप्यरुपमा परीक्षण केन्द्र तोक्ने गरिन्थ्यो । साथै एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्ने गरिएको थियो । यसपालि सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण हुन लागेको हो ।
यसअघि एसईईको नतिजा असार दोस्रो सातातिर सार्वजनिक हुने गरेको थियो । परीक्षा बोर्डले क्यालेन्डर बनाएर नतिजा सार्वजनिक गर्ने गरेको थियो । तर ढिलागरी नतिजा सार्वजनिक हुनेगरेको गुनासो आउने गरेको थियो । ढिला नतिजा आउँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्नुका साथै ब्रीज कोर्स जस्ता कक्षा सञ्चालन गरेर विद्यार्थीलाई अनावश्यक तनाव दिने गरेको गुनासो आउने गरेको थियो । मन्त्रालयले एसईई पछिको ब्रीज कोर्सका कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ ।
बिहीबार (भोलि) देखि एसईई परीक्षा सुरु हुँदैछ ।
यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । बोर्डका अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन् ।
एसईईलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि बोर्डले सबैलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति: चैत्र १८ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend