Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिराट मेडिकल कलेजमा अत्याधुनिक ‘स्कुल अफ नर्सिङ’ सञ्चालनमा

हाम्रो कोशी आवाज
असार २० २०८३, शनिबार
बिराट मेडिकल कलेजमा अत्याधुनिक ‘स्कुल अफ नर्सिङ’ सञ्चालनमा

विराटनगर: नेपालको नर्सिङ शिक्षाको इतिहासमा एक नयाँ अध्याय थपिएको छ। नर्सिङ शिक्षालाई प्रविधिमैत्री, सीपमूलक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउने लक्ष्यका साथ बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलोपटक अत्याधुनिक पूर्वाधारयुक्त ‘स्कुल अफ नर्सिङ’ सञ्चालनमा ल्याएको छ ।
हस्पिटलको पाँचौं तल्लामा करिब १९ हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको डेडिकेटेड स्कुल अफ नर्सिङको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की र संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले संयुक्त रूपमा गरिन् ।
नेपालमै पहिलोपटक डेडिकेटेड B.Sc Nursing र Nursing Program का लागि अत्याधुनिक सुविधासम्पन्न यो विभाग स्थापना भएको संस्थाका संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बताए । स्कुल पहिलादेखि नै सञ्चालनमा रहेको भए पनि हाल आधुनिक भौतिक पूर्वाधारसहित नयाँ रूपमा सञ्चालनमा आएको प्रिन्सिपल प्रा. डा. सन्तोष उपाध्याय काफ्लेले जानकारी दिए ।
कलेजका अनुसार स्कुलमा फन्डामेन्टल अफ नर्सिङ स्किल ल्याब, मिडवाइफ्री नर्सिङ स्किल ल्याब, चाइल्ड हेल्थ स्किल ल्याब, कम्युनिटी हेल्थ नर्सिङ ल्याब तथा न्युट्रिसन एन्ड डाइटेटिक्स ल्याब लगायतका विश्वस्तरीय प्रयोगशालाहरू र अत्याधुनिक प्रविधियुक्त कक्षाकोठा तथा प्रशिक्षण केन्द्रहरू निर्माण गरिएका छन् ।
विद्यार्थीहरूले वास्तविक अस्पतालको वातावरणमा आधारित सिकाइ अनुभव प्राप्त गर्न सक्ने गरी सञ्चालन शल्यक्रिया कक्ष (ओटी), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), प्रसूति कक्ष (लेबर रुम) र सघन उपचार कक्ष (आईसीयू) को वातावरणलाई अनुकरण गर्ने सिमुलेसन-आधारित शिक्षण प्रणाली विकास गरिएको कलेजले जनाएको छ । यसमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीको उपचार गर्नुअघि नै आवश्यक उपचार प्रक्रिया र क्लिनिकल सीपको पूर्ण अभ्यास तथा तयारी गर्न सक्नेछन् ।
त्यसैगरी क्लिनिकल स्किल्स ट्रेनिङ, सिमुलेसन बेस्ड प्र्याक्टिस, नर्सिङ प्रोसिजर, क्रिटिकल केयर सिमुलेसन, कम्युनिटी हेल्थ केयर तथा डिजिटल लर्निङ रिसोर्स जस्ता अन्तर्राष्ट्रियस्तरका सम्पूर्ण सुविधाले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक क्लिनिकल दक्षता हासिल गर्न सहयोग पुग्ने विश्वास कलेजको छ । स्कुल अफ नर्सिङलाई चाहिने सम्पूर्ण सुविधा रहेको यसका प्रोग्राम कोर्डिनेटर एसोसिएट प्रोफेसर इन्दु साहले बताबताए ।
कलेजका अनुसार नयाँ प्रणालीले विद्यार्थीहरूमा आवश्यक सीप, आत्मविश्वास र व्यावसायिक क्षमता विकास गर्न मद्दत पुर्‍याउनेछ । यसबाट भविष्यका नर्सिङ जनशक्ति थप दक्ष, सक्षम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार हुने तथा हस्पिटलको सेवा गुणस्तरसमेत थप अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
आगामी दिनमा स्कुल अफ नर्सिङलाई थप प्रविधिमैत्री, अनुसन्धानमुखी, उन्नत, विस्तृत र अन्तर्राष्ट्रियस्तरको शिक्षण केन्द्रका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले जनाएको छ ।

प्रकाशित मिति: असार २० २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend