धरानः राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार काठमाडौंको लैनचौरस्थित आफ्नै निवासमा घिमिरेको मंगलबार साँझ निधन भएको हो । घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको हो ।
राष्ट्रकविको उपाधि पाएका घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन् । नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा स्व. घिमिरेले कलम चलाएका थिए । उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नरकिन्नरी (वि.सं. २०३३) जस्ता कवितासंग्रह छन्। ‘गौरी’ उनको चर्चित खण्डकाव्य (शोककाव्य) हो ।
चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’देखि ‘फूलको थुंगा बगेर गयो’, ‘आजै र राति के देखें सपना’ जस्ता गीतहरुको घिमिरेले रचना गरेका थिए । उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहेका थिए ।