Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हामीले गरेको विरोध क्षेत्री-बाहुनको कि बाहुनवादको ?

हाम्रो कोशी आवाज
भाद्र ६ २०७७, शनिबार
हामीले गरेको विरोध क्षेत्री-बाहुनको कि बाहुनवादको ?

खासगरी वि.सं. २०६२–०६३ को परिवर्तनपछि देशमा बाहुन–क्षेत्री गर्दा देश बिग्रेको भनी बाहुन–क्षेत्रीलाई सराप्नेहरु टन्न भेटिन्थे । अझैपनि देश बाहुन–क्षेत्रीले गर्दा बिग्रेको भनी सराप्नेहरु केही न केही मान्छेहरु भेटिन्छन् । अझ मंगोल नेसनल अर्गनाइजेसनवालाहरुको त करै छाडौं । उनीहरुका अनुसार ‘मान्छेलाई गाईको मुत र ढुंगोलाई गाई दूध चढाउने’ …हरुले गर्दा देश बर्बाद भएको हो रे ।
हुन पनि भनिन्छ, अति जातिवादी, फासीवादी विचार राख्नेहरु भित्रभित्रै ‘बाहुनलाई काँसी र, क्षेत्रीलाई फाँसी’ नपठाएसम्म आदिवासी जनजाति, मधेसी, दलित लगायत उत्पीडितहरुका पक्षमा केही हुनेवाला छैन सम्म भन्थे । तर, साँच्चै यो देश बाहुन–क्षेत्रीले मात्रै बिगारेका हुन त ?
यस कार्यमा सुवास नेम्बाङ नामक ‘लिम्बु बाहुन’, जगमान गुरुङ ‘ओली’ जस्ता गुरुङ बाहुनहरु लगायतको पनि केही न केही योगदान छ कि ? यस विषयमा पनि हामीले गहन ढंगले बहस, छलफल, विचार मन्थन गर्नुपर्ने र, सकारात्मक खालको निष्कर्ष निकाल्नका लागि ढिलाइ गर्नु हुन्न भन्ने मेरो व्यक्तिगत धारणा हो ।
त्यसो त बाहुन जातका केही अगुवाहरु यो देशको शासक त क्षेत्री हुन् ? बाहुन कहाँ हुन् र ? भन्छन् । त्यस्तै उनीहरु नेपाल एकीकरणपछि दरबारभित्रको तानातानमा त्यो बेलाको हालको प्रधानमन्त्रीसरहको चौतरिया पद पाएका रंगनाथ पौडेलबाहेक र २००७ र २०१७ को बीचमा दुई कोइराला र टंंकप्रसाद आचार्यबाहेक कुन बाहुनले शासन गरयो ? भनी प्रश्न गर्छन् । र, यसरी अनुदारवादी विचार राख्ने बाहुनहरु २०४६ को परिवर्तनपछि भने यो पार्टी वा त्यो पार्टीको नाममा देशमा बाहुनहरुकै ढलीमली रहेको स्वीकार्छन् । ती बाहुनहरु ३० वर्षे पञ्चायती व्यवस्थामा प्रधानमन्त्री भएका बाहुन न क्षेत्री, जो प्रधानमन्त्री भएतापनि त्यो बेला दरबारले नै प्रत्यक्ष शासन गरेको मान्छन् । त्यसैले उनीहरु पञ्चायतकालमा जति जना बाहुन वा क्षेत्री प्रधानमन्त्री भएका भए तापनि शासकमा गन्न नमिल्ने तर्क गर्छन् ।
उता क्षेत्री कमरेडहरु पनि कहाँ छन् र ? उनीहरु पनि हामी कहाँ शासक हौं र ? हाम्रो काँधमा बन्दुक राखेर पड्काउने त बाहुन नै हुन् नि भन्छन् । हुन पनि त्यो बेला बाहुनहरु प्रत्यक्षरुपमा प्रधानमन्त्री वा मन्त्री नै नभए तापनि राणा शासकहरु (श्री ३ महाराज) र राजदरबारमा प्रमुख पुरोहित, बडागुरु ज्यू वा पण्डितको भेषमा रहेर अप्रत्यक्ष रुपमा शासन गरेकै हुन् ।
बाहुनहरुको नराम्रो पक्षका बारेमा यहाँ राणाकालको अन्त्य अन्त्य हुँदा ताकाको एक प्रसंग उल्लेख गर्नु उचितै होला कि । त्यो (राणाकालमा) बेला घटेको एक घटना सम्झँदै स्वर्गीय धर्मरत्न येँमी, यमीले आफ्नो किताब ‘नेपालका कुरा’ मा लेखेअनुसार, राणा शासनविरुद्धको आन्दोलनको क्रममा काठमाण्डौका एक जना पढालेखा नेवार जोशीले गीता वाचन गर्ने, गीताको राम्रो पक्षबारे जनताबीच प्रचारप्रसार गरेर जनतालाई सुसूचित गर्ने काम गर्न थाले । त्यसपछि राणा विरोधी आन्दोलनमा लागेकाहरुलाई पक्रने क्रममा ती नेवारलाई पनि राणा शासकका जंगी लाठ, आठपहरियाहरुले पक्रेर ल्याए । विचरा ती नेवारलाई राणाहरुले अरु केही आरोप नलगाई खालि ‘कत्राकत्रा विद्धान, पण्डित (बाहुन) हरुले गर्न नसकेको गीताको व्याख्या तँ नाथे ज्यापुले गर्ने ? तँ ज्यापु को होस् ?’ भन्दै पिटेका थिए रे । यो घटनाले के को संकेत गर्छ ? निश्चय नै बाहुन, पण्डितहरुको इष्र्यालुपनको नै संकेत गर्ने हो ।
राणा र दरवारिया पण्डितहरुकै झोसपोलका कारण ती नेवार पनि राणाहरुको घानमा परेको प्रस्टैसँग देखिन्छ । त्यसो त नेपालका असली शासक को हो त ? भन्ने सन्दर्भमा क्षेत्रीका अगुवाहरु त के सम्म भन्छन् भने, बाहुनले क्षेत्रीको धार्मिक–सांस्कृतिक र कर्मकाण्डीय अधिकारसमेत खोसेका छन् । यस सन्दर्भमा क्षेत्री कमरेडहरु भन्छन्, ‘नेपालका अन्य जातजातिले कम्तिमा आफ्नो धर्म, संस्कार, संस्कृतिहरु जस्तै कर्मकाण्ड गर्न, सांस्कृतिक कार्यहरु गर्न, चाडबाडहरु मनाउँदा आफ्नै समुदाय वा जातका प्रमुख वा रीति थिति जानेको मान्छेलाई लगाउन सक्छन् भने क्षेत्रीले अनिवार्य रुपमा बाहुन नै लगाउनु पर्ने नियम बसाले । यसरी हेर्दा अन्य जाति वा समुदायले ‘कम्तिमा जन्म, विवाह, मृत्यू, आफ्नो जातीय संस्कार, संस्कृतिमा आफैभित्रका धर्म गुरुहरुले काम गर्न पाएका छन् । हाम्रो त त्यो अधिकार पनि बाहुनले खोसेका छन् ।’
जे भए तापनि विगत लामो समयदेखि समग्र नेपालका आदिवासी जनजाति, महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएका (जस्तैः आँखा नदेख्ने, कान नसुन्ने, तेस्रो लिंगी) आदिलाई राज्यको पहँुच भन्दा टाढा राख्यौं, राख्ने प्रयास गरयौं अब त्यस्तो गर्नु हुँर्दैन । यो देशमा लामो समयसम्म राज्यको हरेक अंगमा एकलौटी रजगज गरेका एलाइटहरुले खासगरी बाहुन, क्षेत्री, ठकुरी र शाह, सन्यासी (बाक्षेठशास) का अगुवाहरुले नेपालका आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएकालाई विगतमा जे जस्तो अन्याय र अत्याचारहरु गरेको, भएको भए तापनि समग्रमा राज्यको पहँुचभन्दा बाहिर रहेका आदिवासी जनजाति, महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएकालाई पनि राज्यको पहँुचमा पुरयाउन पर्छ भन्ने सोच विकास गर्नुपर्ने देखिन्छ । तर यस कुरामा अरु त अरु हाम्रो जातीय र कर्मकाण्डीय काम गर्ने अधिकारसमेत बाहुनले खोसेको छ भन्ने क्षेत्री, ठकुरी र सन्यासी, राणा, शाह (क्षेठसराश) का अगुवाहरु नै जानी नजानी त्यही कामचोर वर्गलाई सजिलो हुने काम गरिरहेका छन् भन्न सकिन्छ । त्यसैले राज्य हरेक अंग पहुँचमा पुग्नबाट वञ्चित समग्र आदिवासी जनजाति, महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएकालाई े राज्यको अंग लगायत राजनैतिक पार्टीहरु र तिनका नेताहरुले गम्भीर भएर सोच्नै पर्ने देखिन्छ ।
जेहोस्, अब राज्य र राज्यपक्षका मान्छेहरुले खासगरी २०६८ को जनगणनाअनुसार सम्पूर्ण जनसंख्याको केवल १२.२ प्रतिशत जनसंख्या ओगटेको तर राजनैतिक दल, कर्मचारीतन्त्र, न्याय सेवा लगायत हरेक क्षेत्रमा आफ्नो जातीय जनसंख्याभन्दा चार पाँच गुणासम्म बढी हिस्सा ओगटेका बाहुन जातका अगुवा कमरेडहरुले आफैप्रति निर्मम भएर विगत लामो समयदेखि विभिन्न कारणवस अन्यायमा परेका वा पारिएका आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, पिछडा वर्ग, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएकालाई कसरी समेट्न सकिन्छ ? भन्नेतर्फ अग्रसर हुन ढिला गर्नु हुँदैन ।
त्यस्तै, आदिवासी जनजाति लगायत उत्पीडित पक्षका मान्छेहरुले पनि एकलकाँटे तरिकाले बाहुनलाई मात्रै सराप्दै र, तामझामका साथ विदेशी पैसा (अहिले आदिवासी जनजातिहरुलाई मात्रै नभएर सबैलाई विदेशी पैसा आउन रोकिएको छ) मा स्वशासन, आत्मनिर्णयको अधिकार, संघीय शासन लगायतका फूलबुट्टे शब्दावलीयुक्त, भाषण गर्दै र कार्यपत्र पेश गर्दैमा केही लछारपाटो लाग्दैन भन्नेमा सहमत हुनै पर्ने दिन आउँछ । साथै राज्यपक्षका अनुदारवादी बाहुन कमरेडहरुले पनि विगतमा राज्यले यिनीहरुलाई अन्याय, अत्याचार गरेकै हो । राज्यको हरेक क्षेत्रबाट पहँुचबाहिर पारेकै हो, अब त्यसो गरिनु हुँदैन भनेर उदारताका साथ प्रस्तुत हुने बेला भएको छ । यस विषयमा ढिला गर्नु हुँदैन । यसैमा सबैको हित देखिन्छ । किनभने अबको जुग भनेको सहअस्तित्व, सहकार्यको र समानुपातिक समावेशीताको हो । अहिलेको मन्त्रीमण्डल र तयारी गर्दै गरेको अवस्थाको मन्त्रीमण्डल हेरे पुग्छ । त्यहाँ सबैलाई चेतना भया ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com

प्रकाशित मिति: भाद्र ६ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend