काठमाडौंः मानव अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगका एक दोषी ६ वर्षपछि पक्राउ परेका छन् । सो मुद्दामा १७ वर्ष कैदको सजाय सुनाइएपछि फरार भएका झापाको मेची नगरपालिका–१२ का ३८ वर्षीय नरेश मेचे पक्राउ परेका हुन् ।
प्रहरीलाई नै गोली हानेर भागेका अपहरणकारी मेचेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो ।
उनले २०७१ माघ १८ गते विर्तामोड नगरपालिका ६ का सुनिलकुमार अग्रवाललाई अपहरण गरी बन्धक बनाएका थिए । उनी र बजरंग पन्सारीले अपहरण गरी एम्बुलेन्समा लिएर गएका थिए । हतियार देखाएर अग्रवाललाई एउटा घरमा बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। माघ २३ गते अपहरणमुक्त गराउने क्रममा मेचेले प्रहरीलाइृ नै गोलि प्रहार गरेर फरार भएका थिए। उनको गोली प्रहारबाट एक प्रहरी घाइते भएका थिए ।
२०७१ माघ १८ गते झापाका अग्रवाललाई मेचे र बजरंग पन्सारीसमेतले हतियार देखाएर अपहरण गरेका थिए । उनलाई डर देखाई एम्बुलेन्समा हालेर झापाको धरमपुर–२ स्थित हर्कबहादुर कन्दको घरमा बन्धक बनाई राखिएको थियो । त्यसको तीन दिनपछि प्रहरीले सुनीलकुमारको उद्दार गरेको थियो । प्रहरीले उद्दार गर्ने बेला अपहरणकारी र प्रहरीबीच गोलीसमेत चलेको थियो । त्यसबेला एक जना प्रहरी कर्मचारी घाइतेसमेत भएका थिए ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय झापाले ज्यान मार्ने उद्योग, मानव अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलाएको थियो । झापा जिल्ला अदालतले उनलाई २०७३ असार २१ गते १७ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।