धरानः राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गीकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।
छठ पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उनले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा आह्वान गरेकी छन् ।
छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्दै सबै नेपालीमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।
छठ पर्व सेतुका रुपमा विकसितः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रूपमा विकसित हुँदै आएको बताएका छन् ।
छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहाद्र्रपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पर्वहरूले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।
‘उदाउँदो सूर्यको आराधना गर्दै सम्पन्न गरिने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन् ।
छठ पर्वको यस उल्लासका बीच विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीलाई हामी सामना गरिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यस वर्षको छठ पर्व मनाउन आह्वान गरेका छन् ।
‘यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुरयाएको छ । यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ । यस महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेका छौं,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
देउवाको शुभकामना
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
छठलाई नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्त्वपूर्ण र पवित्र पर्व भन्दै सभापति देउवाले सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना प्रकट गरेका हुन् ।
उनले नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजले सम्पन्न मुलुक भएको बताए । यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने सद्रुभावयुक्त परम्परा रहेको पनि उनको भनाइ छ ।