धरानः संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी थिइन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।
त्यस्तै राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ’संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यासबमोजिम संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनतासमक्ष जान मिति २०७८ वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोहीबमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकाले उक्त सिफारिसबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।’