धरानः एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकजुट बनाएर लैजाने हो भने २०७५ जेठ २ को अवस्थामा फर्कन प्रस्ताव गरेका छन्।
नेकपा संसदीय दलको शुक्रबार बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै नेता खनालले यस्तो प्रस्ताव गरेका हुन्। उनले त्यसपछि गरिएका सबै निर्णय अवैधानिक भएको धारणा राखे।
खनालले भने, ‘हामी सबै संरचनामा २०७५ जेठ २ मा जाऊँ। यो बीचमा गरिएका सबै निर्णय अवैधानिक छन्।’
उनले पार्टी कमिटीलाई विधानअनुसार अगाडि बढाउन पनि आग्रह गरेका छन्। दलको विधान पनि नयाँ संविधानअनुसार संशाेधन गर्नुपर्ने प्रस्ताव खनालले राखेका छन्।
नेता खनाल आफ्नो भनाइ राखेर बैठकबाट बाहिरिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल सहभागी छैनन्।
नेपाल समूहबाट अर्का वरिष्ठ नेता खनालको नेतृत्वमा सांसदहरु बालुवाटार गएका हुन्।
नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा भाग लिएर आफ्ना कुरा राख्ने निर्णय गरेको थियो।
बैठकले पार्टीभित्रै बसेर पार्टीलाई शुद्ध, गतिशील तथा विधि र पद्धतिमा चलाउन दबाब दिने निर्णय गरेपछि सोहीअनुसार सांसदहरु ओलीले डाकेको बैठकमा सहभागी भएका हुन्।