धरानः सत्तारुढ नेकपा एमालेकी सचेतक शान्ता चौधरीले जनतामा जाने कुरा कसरी प्रतिगमन र संविधान विपरीत हुन्छ भनेर प्रतिनिधिसभा बैठकमा प्रश्न गरेकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा चौधरीले भनिन्, ‘जनताको बीचमा जाने कुरा असंवैधानिक हुन्छ र सभामुख महोदय ? जनतामा जाने कुरा प्रतिगमन हुन्छ र महोदय ?’
प्रधानमन्त्रीले असंवैधानिक कदम नचालेको दाबी गरेकी चौधरीले चालेको भए पनि त्यसरी असंवैधानिक कदम चाल्न बाध्य पार्ने को थियो भन्ने प्रश्न उठाएकी थिइन् । ‘असंवैधानिक कदम चाल्न बाध्य बनाउनेहरूलाई जनताले, देशले देखिरहेको छ,’ उनको भनाइ थियो ।
संसद्मा सभ्य भाषा बोल्न र सरकारका राम्रा कामको प्रसंसा गर्न पनि सचेतक चौधरीले आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘सरकारले गरेका राम्रा कामका पक्षमा पनि बोल्नुपर्यो नि ! विरोध मात्रै गर्ने कि सरकारले गरेका राम्रा कामका पक्षमा पनि गर्ने ?’