धरानः नेकपा (माओवादी केन्द्र) सर्वोच्च अदालतको फागुन ११ को फैसलाबाट पुन:स्थापित प्रतिनिधिसभालाई बिजनेस नदिएर सरकारले फेरि विघटनको जालझेल गरिरहेको शंका गरेको छ ।
सरकारले फेरि संसद विघटन गर्न खोजेको भन्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बिहीबार बसेको प्रतिनिधिसभामा सरकारमाथि प्रश्न उठाएका हुन् ।
‘संसद विघटन गर्ने आफ्नो कदम सही सावित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि त्यस्तै कदम चाल्न सक्ने सम्भावना देखियो’, प्रतिनिधिसभाको विशेष समयमा उनले भने, ‘प्रतिनिधिसभा विघटन गर्न सरकारले बिजनेस नदिएर, काम कारबाही नदिएर हिजोका निर्णयलाई अहिले पुष्टि गर्न संसदको आवश्यकता छैन भनेर निस्क्रिय पार्ने कोसिस कहीँ कतैबाट नहोस् ।’
उनले समस्या भएमा राजनीतिक दलहरूसँग छलफल गर्नुपर्नेमा पनि जोड दिएका छन् । ‘संसद सक्रिय बनाउन प्रधानमन्त्रीले विशेष पहल गर्नु आवश्यक छ’, पौडेलले भने, ‘राजनीतिक दलहरूसँगको समस्या भएमा छलफल अगाडि बढाएर निकास निकालियोस् ।’