धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अपरेशन’लाई सर्वोच्च अदालतले अवैध ठहर गरेको छ ।
बुधबार (आज) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले अख्तियारको स्टिङ अपरेशन अवैध ठहर गर्दै त्यसलाई रोक्न माग गर्दै दायर गरेको रिट जारी हुने फैसला सुनाएको हो।
आयोगले गर्दैै आएको स्टिङ अपरेशन रोक्न माग गर्दै अधिवक्ता विष्णु्प्रसाद घिमिरेले २०७४ पुस २ गते सार्वजनिक सरोकारको रिट निवेदन दायर गरेका थिए। २०७६ कात्तिक ७ गतेदेखि यो मुद्दालाई संवैधानिक इजलाशले निरन्तर हेर्दा हेर्दै सुनुवाई गरेको थियो। सवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा छन् ।
अख्तियारले कार्यविधि बनाएर घुस लिने व्यक्तिमाथि पछिल्लो समयमा आफैं पैसा दिएर स्टिङ अपरेशन चलाउँदै आएको थियो। सोही अपरेशनका आधारमा उसले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि दायर गर्दै आएको थियो। अख्तियारले पछिल्लो समय ७० प्रतिशत मुद्दा स्टिङ अपरेशनकै भरमा विशेष अदालत लैजान थालेको छ ।