धरानः लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपचुनावमा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।
विजयी पाण्डेयले चार हजार एक सय ४० मत ल्याउनुभयो भने चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याए । कुल तीन सय मतदाता रहेकोमा तीन मत खसेको थिएन ।
दाङको घोराहीमा मुख्य निर्वाचन अधिकृतले पाण्डेय विजयी हुनुभएको घोषणा गर्दै प्रमाणपत्र वितरण गरेका थिए । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा चुनाव भएको हो । चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो । उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन रहेको थियो ।
पाण्डे एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका थिए । खड्का एमालेका आधिकारिक उम्मेदवार थिए । खड्कालाई जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले साथ दिएको थियो भने पाण्डेलाई जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल समूह, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
