. धरानः मङ्गलबारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलायमान गराउने सरकारको तयारी छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना सङ्क्रमण घटाउने रणनीति बनाएपछि जिल्ला प्रशासन कार्यालयहरुले यसैअनुसारको तयारी गरेका छन् ।
‘अबको निषेधाज्ञाको मोडल (स्वरूप) कस्तो हुने भन्ने टुंगो लागिसकेको छैन,’ सीसीएमसी प्रमुख बालानन्द शर्माले भने, ‘स्मार्ट लकडाउनबारे मलाई सरकारबाट आधिकारिक डकुमेन्ट आइसकेको छैन, तर जे होस्, अबको निषेधाज्ञा पहिलेभन्दा अरू खुकुलो हुनेछ ।’
तर सबैजसो आर्थिक क्षेत्र चलायमान हुने उनले बताए । लकडाउन, लुज लकडाउन, निषेधाज्ञा, खुकुलो पारिएको निषेधाज्ञा भनेजस्तै ‘स्मार्ट लकडाउन’ पनि एउटा मोडालिटी हो । झण्डै दुई महिना लामो निषेधाज्ञाले गरिखाने वर्ग र अर्थतन्त्रमा समेत ठूलो असर पारेकाले अहिले भइरहेको निषेधाज्ञाको मोडालिटी परिमार्जन गरी लागू गर्न लागिएको उनको भनाई छ ।
नागरिकले मेरै लागि हो भनेर अपनत्व महसुस गर्ने गरी जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्ने र आफ्नो दैनिक काम गर्न सक्ने गरी निषेधाज्ञाका प्रावधान राख्न सकिने उनले बताए ।
अब थपिने निषेधाज्ञामा आर्थिक गतिविधिलाई बिस्तारै सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउँदै लैजाने तयारी छ । तर स्वास्थ्य मापदण्डको पालनामा भने कडाइ गरिने छ ।
उदाहरणका लागि अहिले अत्यावश्यकबाहेक अरु सबैजसो क्षेत्र बन्द छन् । तर अब सबैजसो क्षेत्र खुल्नेछन् । तर ती क्षेत्रलाई दिन तोकेर वा बार अनुसार वा समय तोकेर खुलाइनेछ । जस्तै सरकारी कार्यालय हप्तामा तीन दिन खुलाउन सकिन्छ । आइतबार कार्यालय खुले अर्को दिन बिदा हुनेछ । त्यस्तै गाडीहरु एकै पटक सबै चल्ने छैनन् । थोरैथोरै संख्याका आधारमा चलाउँदै लैजानेबारे छलफल भइरहेको छ । एकैपटक जोर बिजोरमा जाँदा भएकामध्ये आधाजसो गाडी गुड्ने भएकाले अब संख्याका आधारमा खुलाउने तयारी छ ।
अहिले बिहान ११ बजेसम्म फलफूल तथा खाद्यान्न पसल खुलेका छन् । यसलाई ९ बजेसम्म या ११ बजेसम्म नै निरन्तर खुलाउने र ११ बजेपछि अरु पसलहरु खुलाइने तयारी छ । निषेधाज्ञाको अवस्थालाई मूल्याङ्कन गरी त्यसपछि अहिले ठप्प रहेका केही क्षेत्रहरु खुला हुनेछन् । ती खुल्ने क्षेत्रको पहिचान र कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफलकै क्रममा छ ।
होमडेलिभरी तथा अनलाइन सपिङलाई प्राथमिकतामा राखिएको छ । जुनसुकै क्षेत्र खुले पनि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने सर्त कायम रहनेछ । अहिले सबैले पालना गर्दै आएको मास्क लगाउने, भीडभाड नगर्ने तथा दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता न्यूनतम जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।
वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञाको दुई महिना बितेको छ । जिल्ला प्रशासन कार्यालयहरुले पछिल्लो हप्तामा चरणबद्धरुपमा निषेधका क्षेत्रहरुलाई घटाउँदै ल्याएका छन् । यस अवधिमा सङ्क्रमण दर घटे पनि जोखिम कायमै रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ ।