धरानः नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबारबसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा भएको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए ।
दुवै प्रतिवेदनमाथि छलफलपश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने उनले बताए ।
संशोधित कार्यतालिकाअनुसार गाउँ, नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ, नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।
यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।